Wednesday, September 30

दुखद खबर ‘कोरोना लागेकी’ महिलाको मृत्युले राजधानीमा खैलाबैला, टिचिङ अस्पतालसँग ‘कनेक्सन’

May 16, 2020 2452

काठमाडौं – कोरोना भाइरस संक्रमण देखिएकी महिलाको काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचारका लागि मृत्यु भएपछि राजधानी काठमाडौंमा खैलाबैला मच्चिएको छ ।

धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको छ । टेकुले कोरोना संक्रमण भएको पुष्टि गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेबाट बिहीवार धुलिखेल अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रवार साँझ उपचारका क्रममा निधन भएको छ ।

अस्पतालले परीक्षण गर्दा महिलामा कोरोना संक्रमण देखिएको थियो । ती महिला श्वास फेर्न अप्ठ्यारो भएको भन्दै धुलिखेल अस्पताल आएकी थिइन् ।

मृत्यु हुनुभन्दा ८ दिनअघि त्रिवि शिक्षण (टिचिङ) अस्पताल काठमाडौंमा सुत्केरी भएर घर गएपछि ती महिलालाई श्वास फेर्न अप्ठ्यारो भएको थियो । सुत्केरी हुने क्रममा टिचिङ अस्पतालमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमानका कारण काठमाडौं क्षेत्रमा खैलाबैला मच्चिएको छ । शिक्षण अस्पतालमा यसअघि समेत कोरोना संक्रमित देखिएका छन् ।

मृतक महिलामा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पताल सील गरिएको छ । अस्पतालको आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्