Thursday, September 24

नहुनु भइसक्यो, अब यसो गरौँ

May 16, 2020 293

विचार
कोरोनाको प्रकोपले सम्पूर्ण मानव जाति आफ्नै सानो चौघेरामा बन्द छ। अहिलेको समयमा पनि सारा विश्वलाई नै यति धेरै त्रस्त बनाउने गरी महामारी फैलिएला भन्ने कुरा धेरैले कल्पना नगरेको कुरा थियो। चल्दै गरेको बस टक्क रोकिए जसरी समय रोकिएको प्रतीत हुन्छ।

एकान्तबासको फुर्सदमा केही मानिसले आफ्नो जीवनशैली र खानपानको समीक्षा गर्न थालेको पनि पढ्न र सुन्न पाइन्छ। संक्रमणको भयले मान्छेको जीवनशैली एकाएक बेग्लै भएको त छ नै, सोचाइ र अभिव्यक्ति पनि कोरा भौतिकवादी धारबाट अलि भावना र संवेदनाप्रधान हुँदै गएको जस्तो अनुभूत हुन्छ। अहिलेको कोरोना भाइरसको विपत्तिलाई मानव जातिले प्रकृति विनाश गरेको बदला हो भनेर धेरै मानिसले व्याख्या गरेको देखिन्छ। केही मानिसले प्रकृति ईश्वर हुन् र आफ्ना विनाशकको नाश गरेर प्रकृतिले आफूलाई शुद्धीकरण गर्दै छ भनेर व्याख्या गर्छन्। दोस्रो प्रकारका मानिसले डार्विनको प्राकृतिक छनौटको भौतिकवादी सिद्धान्तलाई अघि सारेर प्रकृतिले मानिसको छनौट गर्न सुुरु गर्‍यो भन्छन्।

डार्विनको सिद्धान्तको अन्तर्वस्तुलाई यो व्याख्याले समात्न नसकेको जस्तो लाग्छ। दोस्रो मतको बाहिरी स्वरूप भौतिकवादी देखिए पनि अन्तर्य पहिलो मतको भन्दा खासै भिन्न देखिन्न। प्रकृतिले बाँच्न सबैभन्दा योग्यहरूको छनौट सुुरु गर्‍यो भनेर यो मतले पहिलो मतले जस्तै प्रकृति कुनै कर्म हुन दिन वा नदिनका निमित्त उद्यत छ र कुनै अदृश्य अभौतिक शक्तिको इच्छाअनुरूप यसको सञ्चालन हुन्छ भन्ने कुरालाई नै अनुमोदन गरेझैँ लाग्छ।

कोरोना भाइरस चमेराबाट सुरु भएर सालक वा अन्य कुनै माध्यमबाट जनावरमा संक्रमित भएपछि मानिसमा सरेको हो भनेर धेरै वैज्ञानिक विश्वास गर्छन्। अहिलेको विश्वव्यापीकरणले यसको फैलावटलाई झन् सघायो। संक्रमण हुनेमध्ये रोग प्रतिरोधी क्षमता बढी हुनेहरू बाँचे र कमजोर रोग प्रतिरोधी क्षमता भएकाहरूले आफ्नो जीवन गुमाए। यो क्रम जारी नै छ। बदलिएको परिवेशसँग भिड्न आफ्नो शारीरिक अवस्था अनुकूल हुने प्राणी मात्र बाँच्छन्, बाँकी प्राणीहरू सकिन्छन् भन्ने डार्विनको प्राकृतिक छनौटको सिद्धान्त यो महामारीमा पनि लागू भएकै देखिन्छ। अनुकूल शारीरिक अवस्था भन्नाले मान्छेमा रहेको कोरोना प्रतिरोधी क्षमता भन्ने बुझ्नुपर्छ। प्रकृतिलाई सचेत तत्वका रूपमा वर्णन गर्दा भने फरक अर्थ लाग्छ।

यस्तो लाग्छ मानौँ, चीनको वुहानमा मान्छेको छनौट गर्न सालकलाई ठीक्क पारेर प्रकृति बसेकी थिइन्। तिनले सालकमार्फत मान्छेलाई त्यो भाइरस सारिदिइन् र एकपछि अर्को मान्छे हुँदै अहिले संसारको कुनाकुनामा भाइरस पुर्‍याइदिइन्। र अहिले तिनको चित्त नबुझुन्जेलसम्म त्यो भाइरस सार्न तिनले संकल्प गरेर बसेकी छन्। कति संख्या वा प्रतिशतले चित्त बुझेपछि मात्र यिनले विश्राम लिन्छिन्।

सतर्कताले संक्रमणबाट जोगाउँछ भने सकरात्मकताले एकान्तबासको यो समय थप सृजनशील बनाउँछ। एकान्तवासको समयमा हामी थप सकारात्मक र सृजनशील बन्न सकौँ।

यो व्याख्या विश्लेषण सँगै ओखतिमुलो र खानपान अझ प्राकृतिक बन्नुपर्ने कुरा पनि छ। बेसार, लसुन, अनेकौँ मरमसला हामीले खाइरहेका कारण हामीले विकास गर्न सकेको उच्च कोटिको रोग प्रतिरोधी क्षमताले गर्दा कोरोना संक्रमणले हामीलाई उस्तो असर गर्न नसकेको कुरा सुन्न पाइन्छ। हुन त लसुन, बेसार, अदुवा आदिमा एन्टी भाइरल पदार्थ भएको कुरा प्रयोगशालामा गरिएका अध्ययनले देखाएका पनि छन्। यी पदार्थलाई सामान्य रुघाखोकी लाग्दा प्रयोग गर्ने चलन पनि छ। तर कोरोना भाइरस (सार्स-कोभ-२) नयाँ प्रकारको भएकाले यी पदार्थ सामान्य रुघाखोकीमा झँै प्रभावकारी छन् भन्ने कुरामा ग्यारेन्टी छैन।

खानेकुरा होस् या ओखतिमुलो, प्राकृतिक जति सबै राम्रो र हानिरहित हुने अनि प्रशोधन गरेपछि त्यसमा विकारसमेत थपिन्छन् र ती खानेकुराले शरीरलाई हानि गर्छ भन्ने कुरा वास्तविक होइन। खानेकुराको प्रशोधनको मूल ध्येय भनेकै सुरक्षित रूपमा लामो समय राख्ने, शरीरमा रोगव्याधि लगाउन सक्ने सूक्ष्म जीवाणुहरू नष्ट गरेर त्यसलाई थप सुरक्षित बनाउने, खानेकुरामा भएका प्रतिपोषक तत्व नष्ट गरेर त्यसलाई थप पौष्टिक बनाउने र पाच्य तथा स्वादिलो बनाउने हो। विचारणीय कुरा त के भने अहिले हामी सबै त्राहिमाम भएको कोरोना आफैँमा प्रशोधन नगरिएको प्राकृतिक उत्पादन हो।

कोरोना भाइरसलाई कुनै औषधिले काम पो गर्न थालिहाल्यो कि ? भ्याक्सिन बन्ने काममा कुनै प्रगति पो भयो कि ? भनेर इन्टरनेटमा हेर्दै फेरि विज्ञानले केही गर्न सकेन, विज्ञान प्रकृतिसँग हार्‍यो, विज्ञान छक्क पर्‍यो, विज्ञानले घुँडा टेक्यो भनेर निराश हुनु अहिलेको हाम्रो दैनिकी नै हो। औषधि विज्ञान तथा चिकित्साशास्त्र लगायतका विज्ञानका विधाहरू र प्रविधिले दिएका चामत्कारिक उपलब्धिले घेरिएर बस्दा पनि विज्ञानसँगको यो निराशाजनक अपेक्षाको स्रोत के हो ? भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। खासमा यो निराशासँग धर्म जोडिन्छ। विज्ञानले आफ्नो शिशु कदम चाल्ने प्रयास गरेदेखि नै विज्ञानको मुख्य काम प्रकृतिसँग प्रतिस्पर्धा गर्नु हो भन्ने भाष्य स्थापित गराउने काम मुख्यतः धर्मले गरिरहेकै हो। यसका केही कारण पनि छन्।

धर्महरूले ब्रह्माण्डको उत्पत्ति, जीवहरूको उत्पत्ति जस्ता संसारका मूल रहस्यको उत्तर आफूहरूसँग भएको दाबी गरिरहेका बेला विज्ञानले प्रमाण र तर्कका आधारमा यी दाबीमाथि हस्तक्षेप गरिरह्यो। धर्मले स्थापित गराएका सत्यमाथि स्वाभाविक प्रश्न उठे। रहस्यहरूको उत्तरमाथिको एकल प्रभुत्व सकिँदै गए पनि धर्मले आफूलाई प्रकृतिको एकल संरक्षक र विज्ञान प्रकृतिको प्रतिस्पर्धीका रूपमा चित्रित गरेको आभास हुन्छ। के हाम्रो निराशाजनक अभिव्यक्तिको स्रोत त्यही धर्मले स्थापना गरेको भाष्य त होइन ?

वास्तवमा चाहिँ वैज्ञानिकहरू पृथ्वीको तापमान वृद्धि र यसले मौसम, पर्यावरण र प्राकृतिक वातावरणमा पारेको असर कसरी कम गर्ने भन्नेतिर लागेको देखिन्छ। वातावरणविज्ञान र अनुसन्धानमा सक्रिय भएर शोधपत्रहरू छपाउने वैज्ञानिकहरूमध्ये कम्तीमा ९७ प्रतिशतले अहिले पृथ्वीको तापक्रम वृद्धि मानव सिर्जित हो भन्ने मान्छन् भनेर नासाले आफ्नो वेबसाइटमा लेखेको छ।

ऊर्जाको दीगो स्रोत प्रयोग गर्ने र हरित गृह ग्यास उत्सर्जन कम गर्ने विश्वव्यापी नीति ल्याउन दबाब सिर्जना गर्न वैज्ञानिकहरू सफल भएको पनि देखिन्छ। पृथ्वीको वार्षिक औसत तापक्रमको तथ्यांक, वायुमण्डलमा कार्बनडाइअक्साइडको वर्षौंदेखि भइरहेको बढोत्तरी र यसले मौसमलाई असर गर्ने कुराको प्रमाण, अन्टार्कटिका र ऊष्णीय क्षेत्रका हिमालमा भएको बरफको क्षेत्रफलमा आएको गिरावट आदि कयौँ प्रमाण पेस गरेर वैज्ञानिकहरूले यसलाई सम्भव बनाएका हुन्। प्रकृति र प्राकृतिक वातावरणमा गिरावटको मूल कारण सुविधामुखी जीवनशैलीको चाहना र नाफाखोर व्यावसायिक क्षेत्र हुन्। राजनैतिक नेतृत्व र नीति निर्माताहरूले इमानदार संकल्प गरे मात्र यसमा सुधार ल्याउन सम्भव छ।

सघन पशुपालन तथा कृषिले वातावरणमा पारेको प्रभाव, पारवहनमा पेट्रोलियम इन्जिन भएका सवारीले गर्ने प्रदूषण, औद्योगिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जनजन्य अन्य कार्य र तिनले पृथ्वीको तापमान वृद्धिमा पारेको प्रभाव आदि अनेकौँ क्षेत्रमा वैज्ञानिकहरू अहिले पार्दै गरेको प्रभाव मापन गर्न र भविष्यमा यी कार्यले ल्याउने दुष्परिणाम आकलन गर्न सक्षम छन्। साथै यिनको विकल्पको अवधारणा दिन र तिनलाई चाहिने प्रविधि दिन सक्षम छन्। तर तिनको प्रयोग गर्न चाहिने नीति निर्माण गर्न, नाफाखोर सीमित वर्गले जकड्याएको राजनैतिक तहलाई त्यहाँबाट निकाल्न चाहिँ विशुद्ध विज्ञान पर्याप्त हुँदैन।

अहिलेको अवस्थाबाट औषधि वा भ्याक्सिन बनाएर हामीलाई त्राण दिन वैज्ञानिकहरू अनुसन्धान र प्रयोगमा रातदिन खटिरहेका छन्। तिनै अनुसन्धान र प्रयोगले नै अहिलेको संकटको दीगो समाधान दिनेछन्। हाम्रा जडिबुटीहरू र रैथाने खानपानले कोभिड-१९ ले रोगविरुद्ध लड्ने क्षमता बढाउँछ नै भन्ने वैज्ञानिक प्रत्याभूति छैन।

त्यसैले परम्परागत ज्ञानलाई यो रोगविरुद्ध पालन गर्नुपर्ने आधारभूत निर्देशन, जस्तैः भौतिक दूरी कायम राख्ने, लकडाउन नीति भएको ठाउँमा घरबाट ननिस्कने, साबुन पानीले हात धुने, पन्जा तथा मास्कको प्रयोग गर्ने आदि गर्नुपर्छ नै। सतर्कताले संक्रमणबाट जोगाउँछ भने सकरात्मकताले एकान्तबासको यो समय थप सृजनशील बनाउँछ। एकान्तवासको समयमा हामी थप सकारात्मक र सृजनशील बन्न सकौँ।

प्रतिकृया दिनुहोस्