Wednesday, September 30

धर्म भनेको अरुको उपकार गर्नु हो । कसैको भलाई गर्नु हो । धर्म भनेको सद्भाव पनि हो । सत्विचार पनि हो । सकारात्मक हुनुपनि हो । कृतज्ञ हुनुपनि हो

May 15, 2020 205

हामीलाई पापको डर छ । त्यही कारण धर्मात्मा हुन मन लाग्छ । धर्मात्मा कसरी हुने त ? मन्दिर धाउने, पूजापाठ गर्ने, धूपबात्ती बाल्ने, प्रसाद ग्रहण गर्ने, भजन किर्तन गर्ने, ध्यान गर्ने । बिहान-साँझ नित्य मन्त्रोच्चाहरण गर्ने, जल अर्पण गर्ने, पूजाआजा गर्ने, आरती गर्ने । बेलाबखत जप, यज्ञ गराउने । बेलाबखत पुराण लगाउने ।

मन्दिर मात्र होइन, मस्जिद/गुम्बा वा अन्य कुनै धार्मिक थलो वा पवित्र स्थानमा धाउने । हामीलाई लाग्छ यत्ति गरेपछि हामी धर्मात्मा हुन्छौं । हामीले गरेका सारा पापहरु पखालिन्छन् । मृत्युपछि हाम्रो लागि स्वर्गको ढोका खुल्छ ।
तर, यी केही पनि धर्म होइनन् । सदियौं देखि हामी धार्मिक बन्ने नाममा यस्तै गरिरहेका छौं । हामीलाई धर्म भनेकै मन्दिर धाउनु, पूजापाठ गर्नु, मन्त्र जप गर्नु भन्ने लाग्छ ।

जबकी कहिल्यै मन्दिर नदेखेका, कहिल्यै भगवानका नाम नसुनेका, कहिल्यै पूजापाठ नगरेका, कहिल्यै धुपबात्ती नबालेका, कहिल्यै मन्त्र जप नगरेका व्यक्ति पनि धर्मात्मा हुनसक्छन् । त्यसो भए धर्म के हो त ?

धर्म के हो ?

धर्म भनेको अरुको उपकार गर्नु हो । कसैको भलाई गर्नु हो । कसैको उद्वार गर्नु हो । कसैको रक्षा गर्नु हो । कसैको संरक्षण गर्नु हो ।

जस्तो एक अनाथ बालक भोक, तिर्खाले ब्याकुल छन्, उनलाई भरपेट खाना दिनु धर्म हो । कुनै निर्दोष व्यक्तिमाथि अनावश्यक दोषारोपण गर्दै कुटपिट गरिदैछ, उनको रक्षार्थ उभिनु धर्म हो । कोही व्यक्ति जीवनको कठिन मोडमा छन्, उनलाई सहयोग गर्नु र उत्साह दिनु धर्म हो ।

धर्म भनेको सद्भाव पनि हो । सत्विचार पनि हो । सकारात्मक हुनुपनि हो । कृतज्ञ हुनुपनि हो । अर्थात मन शुद्ध हुनु पनि हो ।

कसैप्रति आग्रह/पूर्वाग्रह नराख्नु धर्म हो । कसैलाई हेला, हेय दृष्टिले हेर्ने, होच्याउने, जिल्याउने नगर्नु पनि धर्म हो । कसैको भावनामा चोट नपुर्‍याउनु पनि धर्म हो । सधै सन्तुलित, सकारात्मक र सही हुनु पनि धर्म हो ।

हामी बाँचेका छौं । बाँच्न पएकोमा सृष्टिकर्तासँग कृतज्ञ हुनु धर्म हो । हामीले खानेकुरा खान पाएका छौं, धर्तीसँग कृतज्ञ हुनु धर्म हो । हावा, पानी, बन-जंगल, प्राणी, चराचर जगतसँग एकाकार भएर नै हाम्रो अस्तित्व जोगिएको छ, सबैप्रति कृतज्ञ हुनु धर्म हो ।

हामीलाई बाँच्नका लागि रुख-बिरुवाले अक्सिजन दिएर मात्र पुग्दैन, पर्यावरणमा फैलिएका विषाक्त तत्वलाई आफुमा समाहित गरेर राख्ने सर्प, भ्यागुतो पनि चाहिन्छ । यी सबैप्रति कृतज्ञ हुनु धर्म हो ।

विनयी, विनम्रता पनि त्यही गुण हो, जसले हामीलाई धर्मात्मा बनाउँछ ।

हामीले गर्ने सद्व्यवहार, हामीले चिन्तन गर्ने सत्विचार, हामीले धारण गर्ने सत्चरित्र, हामीले ग्रहण गर्ने सदिक्षा । यी सबैले हामीलाई धार्मिक बनाउँछ ।

एउटा निरिह, कमजोर व्यक्तिलाई निस्वार्थ भावले सहयोग गर्नु धर्म हो । मन्दिर धाउनु, पूजापाठ गर्नु धर्म होइन ।

त्यसो भए, किन मन्दिर धाइन्छ ? किन पूजापाठ गरिन्छ ? किन भगवानको नाम पुकारिन्छ ? किन मन्त्र जप गरिन्छ ? किन यज्ञ गरिन्छ ? के यी धार्मिक कार्य होइन ?

किन पूजापाठ गर्ने ? मन्दिर धाउने ?

पूजापाठ गर्नु, मन्दिर धाउनु, जप गर्नु, तप गर्नु धर्म होइन । तर, धार्मिक प्रवृत्ति विकास गर्ने बाटा एवं माध्याम हुन् ।

किनभने धर्म भनेको हाम्रो प्रवृत्ति, व्यवहार र चिन्तनसँग जोडिएका कुरा हुन् । मन्दिर धाउँछौं, त्यो धर्म होइन । तर, धार्मिक बन्ने बाटा हुन् । पूजापाठ गर्छौं, त्यो धर्म होइन । धार्मिक बन्ने माध्याम हुन् । जब हामी मन्दिर धाउँछौं, पूजापाठ गर्छौं, जप, तप गर्छौं, तब हामी आफैलाई शुद्धिकरण गरिरहेका हुन्छौं । आफ्नो मनमा आउने नकारात्मक भावहरु पखाल्दै हुन्छौं । हाम्रो मनमा सद्विचारको विजारोपण गरिरहेका हुन्छौ ।

कृतज्ञ, विनयी, विनम्र हुन प्रेरित भइरहेका हुन्छौं । हामी कसैलाई दान दिन्छौं । प्रसाद बाढ्छौ । यसले हामीमा त्यागको भावना विकास गर्छ । अहंकार, दम्भ, इष्र्या नष्ट गर्छ ।

मन्दिर धाइरहँदा एवं पूजापाठ गरिरहँदा हामीले धर्म कमाउँदैनौ । यद्यपी त्यसले हामीलाई धर्मको मार्गमा जाने बाटो पहिल्याइदिन्छ ।

जब हामी मन्दिर पुग्छौं, हामी यस्तो सोचिरहेका हुन्छौ कि ‘पापबाट मुक्त भइयोस्’ । जब हामी पूजापाठ गरिरहेका हुन्छौं, हामी यस्तो सोचिरहेका हुन्छौ, ‘पुण्य कमाइयोस् ।’ साथसाथै हामी मन्दिर परिसरमा पुगेपछि सर्तक हुन्छौं । सचेत हुन्छौं । अनुशासित हुन्छौं । विनयी हुन्छौं । विनम्र हुन्छौं । यी मनको शुद्धिकरणका कुरा भए ।

जप-तप, मन्त्रोच्चारणले हाम्रो तन र मन दुबैलाई प्रभाव पार्छ । हामीले धर्मका लागि भनेर गरिदै आएका कतिपय विधीहरुले हामीलाई स्वस्थ्य, निरोगी, तन्दुरुस्त, सफा, सन्तुलित बनाउँछ । जब शरीर स्वस्थ्य र तन्दुरुस्त हुन्छ, हाम्रो मनमा विकार पैदा हुँदैन ।

मन र शरीरको विकारलाई हटाउने विधी हुन्, हामीले गर्ने पूजाआजा । यद्यपी यी देखावटी गर्नु भनेको समयको बर्वादी मात्र होइन । यस किसिमको कुनैपनि कार्य विधीपूर्वक गर्दा नै त्यसबाट हामीलाई लाभ मिल्ने हो ।

तीर्थयात्रा एवं मठ मन्दिर

तीर्थयात्रा गर्नु भनेको कुनै मठ-मन्दिर वा धार्मिक थलोसम्मको यात्रा गर्नु हो । यात्रा गर्नु भनेको गाडी वा कुनै सवारी साधनमा होइन । पैदल गर्नु हो ।

यसको आफ्नै वैज्ञानिक महत्व र अर्थ छ ।

तीर्थयात्रालाई वास्तवमा सर्मपणको यात्रा भनिन्छ । त्यसैले त भौगोलिक रुपले अलि कठिन र विकट ठाउँमा यस्ता तीर्थस्थल हुन्छ, जहाँ हामी पैदल हिँडेर पुग्नुपर्छ । ति स्थलमा पैदल हिँड्ने सोंच बनाउनु, पैदल हिँड्नु भनेको हामीमा समर्पण भाव पैदा गर्नु हो ।

अक्सर यस्ता तीर्थस्थल वा मठमन्दिर त्यही हुन्छ, जहाँ पृथ्वीको चुम्बकिय अर्थात गुरुत्वआकर्षण बढी हुन्छ । यस किसिमको ठाउँमा हामीले फरक किसिमको उर्जा अनुभव गर्छौं ।

त्यसैले मन्दिर धाउनु, पूजापाठ गर्नु नराम्रो होइन । तर, पाप पखालिने स्वार्थ बोकेर पूजापाठ गर्नुको अर्थ छैन । धर्म कमाउने लोभमा मठ मन्दिर धाउनुको तुक छैन । यसको वैज्ञानिक महत्व र अर्थलाई बुझेर विधीपूर्वक त्यस्ता कार्य सम्पन्न गर्नु लाभदायक छ ।

प्रतिकृया दिनुहोस्