Wednesday, September 30

कोरोनाको ‘हटस्पट’ बन्यो विराटनगर

August 9, 2020 217

२५ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस .कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार रातिसम्म विराटनगर महानगरपालिकामा २७८ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।

६ साउनसम्म विराटनगरमा ३० जना मात्र संक्रमित थिए । उनीहरु भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु थिए । तर पछिल्लो १९ दिनमा विराटनगर महानगरपालिकाभित्र २४८ जना कोरोना संक्रमित थपिएका छन् ।
अधिकांश संक्रमित ट्राभल हिस्ट्री छैन । कोरोनाका कारण ज्यान गुमाएका विराटनगर–९ का दुई जना वडा नम्बर ५ का एक जनाको पनि ट्राभल हिस्टी भेटिएको छैन । ट्राभल हिस्ट्री नभएका धेरै संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छर शनिबारदेखि विराटनगरमा लकडाउन गरेको छ । परीक्षणको दायरा पनि बढाएको छ ।

शनिबारसम्म विराटनगरमा ३ हजार ५४५ जनाको पीसीआर जाँच भएको छ । दैनिक दुईसय जनासम्मको पीसीआर जाँचका लागि स्वाब संकलन गरिरहेको छ । प्रदेशमा परीक्षण गर्ने क्षमता सिमित भएकाले स्वाब संकलन धेरै गर्न नसकिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

दुई अस्पताल सिल, दुईमा आकस्मिक सेवा सञ्चालन

विराटनगरमा संक्रमित हुनेमा स्वास्थ्यकर्मीहरु पनि छन् । महानगरभित्र संक्रमित स्वास्थ्यकर्मीको संख्या ४८ भन्दा बढी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल गरिएको थियो ।

विराटनगरको न्यूरो अस्पताल, गोल्डेन अस्पताल, विराट नर्सिङहोम र मोरङ सहकारी अस्पताल सिल भएका थिए । त्यसमध्ये न्यूरो र विराट नर्सिङहोमले आकस्मिक सेवा सञ्चालन गरेका छन् ।

कुन अस्पतालमा कति संक्रमित ?

विराटनगरको कोशी अस्पतालमा हालसम्म १७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना डाक्टर, ७ जना नर्स, ३ जना सफाई कर्मचारी, दुई जना प्राविधिक र अन्य प्रशासनका कर्मचारी छन् ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालमा आउने सेवाग्राहीको संख्या घटेको छ । सेवाग्राहीको संख्या घटेपछि चिकित्सकले आवश्यकता अनुसारमात्र बिरामीसँग भेट गरिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्