Monday, November 30

भक्तपुरमा कर्फ्यू लगाउन माग

May 14, 2020 358

भक्तपुर : भक्तपुरमा दुईजनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलन नदिन यहाँ कफ्र्यु लगाउन माग गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठक यहाँको सुरक्षा निकायका प्रमुख तथा केही नगरपालिका प्रमुखले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन कफ्र्यु लगाउनुपर्ने माग गरेका हुन्।

पछिल्लो समय उपत्यका बाहिरबाट आउनेहरुको संख्या बढेसँगै भक्तपुर कोरोना भाइरस संक्रमणको जोखिममा परेको छ। त्यसमाथि उपत्यका बाहिरबाटै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सुरक्षा निकाय र स्थानीय तहका प्रमुखहरु सचेत भएका हुन्।

बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काठमाडौं उपत्यकाका तीन जिल्लामा कफ्र्यु लगाउनेबारे अधिकारी प्रमुख जिल्ला अधिकारीलाई नभएको जवाफ दिएकी थिइन्। उनले कफ्र्यु लगाउने विषयमा बैठकले गृह मन्त्रालयमा लेखिपठाउनुपर्ने प्रतिक्रिया दिएपछि सुरक्षा निकाय र नगरपालिकाका प्रमुखहरु पछि हटेका थिए।

कफ्र्युबारे कुरा उठे पनि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयमा भने उक्त कुरा उल्लेख गरिएन। बैठकले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका सिल गरी अत्यावश्यकबाहेक अरुलाई प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो। त्यस्तै जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुरमा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

‘भक्तपुरमा कफ्र्यु लगाउनुपर्नेबारे बैठकमा छलफलमात्रै भयो’, प्रजिअ पाण्डेले भनिन्, ‘त्यस्तै गृह मन्त्रालयमा लेखिपठाउनेबारे पनि कुरा भयो।’ उक्त छलफलको आधारमा बिहीबार गृह मन्त्रालयमा भएको बैठकमा आफूले भक्तपुर कफ्र्यु लगाउनुपर्ने मागबारे कुरा राखेको उनले जानकारी दिइन्।

गृह मन्त्रालयसँग पनि कफ्र्युलगाउने अधिकार नभएकाले मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लेखिपठाउने सहमति भएको उनको भनाइ थियो।
‘गृह मन्त्रालयको बैठकमा पनि कफ्र्यु लगाउनेबारे छलफल भयो’, प्रजिअ पाण्डेले भनिन्, ‘गृहसँग पनि त्यसबारे निर्णय गर्ने अधिकार नभएकाले मन्त्रिपरिषद्मा लेखिपठाउने सहमति भएको छ।’

गृहले उपत्यका छिर्ने सम्पूर्ण नाका सिल गरी अत्यावश्यकबाहेकलाई प्रवेश नदिने निर्णय गरेको उनले जानकारी दिइन्। भक्तपुरमा दुईजनाका कोरोना भाइरस पुष्टि भएपछि दुईजना बसेको ठाउँमा बुधबार नै सिल गरिसकिएको छ। त्यस्तै संक्रमितहरुसँगको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने कार्यसमेत पूरा भइसकेको प्रजिअ पाण्डेले जानकारी दिइन्।

कोरोना भाइरस संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी जवान बस्ने भक्तपुरको चाँगुनारायण नपा १ स्थित सरस्वतीखेलमा सशस्त्र प्रहरी बलले नै सिल गरेको छ। त्यस्तै सशस्त्र प्रहरीले नै संक्रमितको परिवार तथा उनको सम्पर्कमा आएका अन्यको पहिचान गरी उनीहरुको कोरोना भाइरस परीक्षण गराएको छ।

संक्रमितहरुसँग सम्पर्कमा आएका सबैको पीसीआर प्रविधिबाटै कोरोना भाइरस परीक्षण गरिएको प्रजिअ पाण्डेले स्पष्ट पारिन्। जसमध्ये निदान अस्पतालमा कार्यरत संक्रमित महिलाको सम्पर्कमा आएकी भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी स्टाफ नर्सको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको छ। उनी भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा रहेकी छिन्।

उनी बैशाख २६ गतेसम्म केन्द्रमा गएकी थिइन्। त्यसपछि बिदामा बसेको हुनाले उनी प्रत्यारोपण केन्द्र पुगिनन्। संक्रमित महिलालाई वैशाख १९ गते सुनसरीको झुम्कादेखि बर्दिबास-सिन्धुली-धुलिखेल हुँदै भक्तपुरसम्म मोटरसाइकलमा पुर्‍याएर फर्कने चालक, सुनसरीस्थित उनको परिवार र खाना खाएको सिन्धुलीको भिमानस्थित माइतीका गरी २० जनाको ट्रेसिङपछि पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ। उनी सुनसरीबाट भक्तपुर पुगेर मध्यपुर थिमि नपा ४ शंखधर चोकमा डेरा गरी बस्ने आफ्नो साथी नर्ससँग बसेकी थिइन्। शंखधर चोकबाटै उनलाई निदान अस्पतालको एम्बुलेन्सले अस्पताल र अस्पतालबाट फेरि त्यहीं एम्बुलेन्समा राखेर टेकु पुर्‍याइएको थियो। टेकुमा कोरोना भाइरस परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो।

प्रतिकृया दिनुहोस्