Tuesday, September 29

प्रधानमन्त्रीले ‘पोलिसी सिफ्ट’ गरेपछि सबै कुरा बिग्रियो

August 6, 2020 109

देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरु कोही चाहँदैनन् कि कम्युनिस्ट पार्टी एकतावद्ध रहिरहोस् । उनीहरुले यो छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन् । उनीहरुले गठबन्धन गर्दाका दिनदेखि यो गठबन्धन असफल पार्नका निम्ति कोसिस गरे । हामीले त्यसको प्रतिवाद गरी नै राख्यौं ।

चुनावपछि दुईवटा पार्टीको एकताचैं नहोस् भनेर प्रयत्न गरे । हामीले त्यसको प्रतिवाद गर्‍यौं र एकता गर्न सफल पनि भयौं । एकता गरेको दिनदेखि यो पार्टी विभाजित होस्, यसका नेताहरुका बीचमा विवाद चर्किएर जाओस्, फाटो परोस् भन्ने कसरतमा छन् । यो बुझ्न सकिने कुरा हो ।
साम्राज्यवादी शक्तिहरु, प्रतिक्रियावादी शक्तिहरु, सबैखाले प्रतिगमनकारी शक्तिहरु यो कम्युनिस्ट पार्टी कमजोर पार्न चाहन्छन् । कमजोर पार्नका लागि उनीहरुले जहिले पनि गलत विचार, गलत सिद्धान्त, गलत कार्यशैली र गलत संस्कार अपनाउने तत्वहरुलाई उनीहरुले उपयोग गर्न चाहन्छन् । उनीहरुमार्फत उल्ट्याउन चाहन्छन् । कम्युनिस्टहरुको एकतालाई भत्काउन चाहन्छन् ।

हामीले अहिले पनि पार्टी एकता अक्षुण रहनुपर्छ र सुदृढ हुँदै जानुपर्छ, हामीभित्रका कमीकमजोरीहरु सच्याउनुपर्छ, सच्याउन तयार हुनुपर्छ, आलोचना गर्नुपर्‍यो, आत्मालोचना गर्नुपर्‍यो र रुपान्तरणका निम्ति प्रतिवद्धता हुनुपर्‍यो भन्नेमा जोड दिएका छौं । हामीले यति भनेको अर्कोलाई निशेष गर्नका लागि भनिराखेको होइन ।

हामी मार्क्सवादी, लेनिनवादी हुनपर्‍यो । हामी पार्टी एकताको पक्षमा हुनुपर्‍यो, फुटको पक्षमा होइन । हामी अग्रगमनको पक्षमा हुनुपर्‍यो, पश्चगमनको पक्षमा होइन । हामी सामूहिक निर्णयको पक्षमा हुनुपर्‍यो, व्यक्तिगत निर्णयको पक्षमा होइन । हामी समूहको अधीनस्त हुनुपर्‍यो, व्यक्तिको अधीनस्त समूह होइन । यसलाई केपीजीको विरोध वा निषेध गर्न खोजेको अर्थमा बुझिनु हुँदैन । यो समग्र पार्टीलाई रुपान्तरण गर्ने, सच्याउने र राम्रो दिशातिर लैजाने उद्देश्यद्वारा प्रेरित हो भनेर बुझिदिन जरुरी छ । कसैलाई निषेध गर्न होइन, सबैलाई रुपान्तरण गरेर पार्टी एकताको आधार बलियो होस् भनेर बहस भएको हो भन्ने बुझिदिन जरुरी छ ।

अहिले हामीले जे लडेका छौं, राजनीति भनेको रक्तपातहीन युद्ध हो र युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो भन्ने परिभाषा वैज्ञानिकै परिभाषा हो । हामी अहिले पनि संघर्षमै छौं ।

यो संघर्षको केका लागि ?

अहिले देशमा चलिरहेको राजनीतिक असहजता र हाम्रो पार्टीभित्र चलेको बहस र संकटको स्थितिको सैद्धान्तिक, वैचारिक र राजनीतिक कारण के हो ?

म यसमा अलि जोड दिएर के भन्न चाहन्छु भने यो अहिले चलेको छलफल हामीले यो कम्युनिस्ट पार्टीलाई मार्क्सवाद, लेनिनवादका आधारमा निर्देशित पार्टी बनाउने कि वा बुर्जुवा मान्यताहरुलाई पक्डेर अगाडि जाने भन्ने बहस हो । त्यसकारण यसभित्र गम्भीर दार्शनिक र सैद्धान्तिक बहस अन्तरनिहित छ ।

मार्क्सवादलाई नै सैद्धान्तिक आर्दश मानेर त्यसको निर्देशनमा चल्ने र समाजलाई त्यहीअनुसार रुपान्तरण गर्न प्रयास गर्ने कि यथास्थितिमा बुर्जुवाहरुको जुन बर्चस्व देखिएको छ, त्योसँग तालमेल गरेर जाने भन्ने बहस हो यो ।

अर्को, कम्युनिस्ट पार्टीलाई निश्चित राजनीतिक मान्यता अन्तर्गत संगठित गरेर जाने कि यसलाई एउटा अराजक भिडका रुपमा लिने मुद्दा पनि यसभित्र अन्तरनिहीत छ ।

र, लामो वर्गसंघर्ष र बिचार संघर्षका रुपमा विकसित संगनात्मक सिद्धान्त (लेनिनवादी संगठानात्मक सिद्धान्त र जनवादी केन्द्रीयता ) लाई अवलम्वन गरेर जाने कि व्यक्तिलाई केन्द्रविन्दुमा राखेर अरु सबै सिद्धान्तहरुलाई अवमूल्यन/अपमान गरेर जाने भन्ने बहस यसभित्र अन्तरनिहीत छ ।

अनि, पार्टीको अधिनमा व्यक्ति हुने हो कि, व्यक्तिको अधिनमा पार्टी हुने हो भन्ने ठूलो सिद्धान्तको बहस पनि यसभित्र अन्तरनिहीत छ ।

प्रतिकृया दिनुहोस्