Saturday, September 26

वीरगन्जमा चिकित्सकसहितको विशेष टोली पठाउन माग

July 30, 2020 102

वीरगन्ज : केही दिनयता दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थिति भयावह भएको भन्दै वीरगन्जमा तत्कालै विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाइदिन सरकारसँग आग्रह गरिएको छ ।

बिहीबार बसेको सर्वपक्षीय बैठकले वीरगन्जमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको निष्कर्ष निकाल्दै तत्काल विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाइ दिन संघीय सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको हो ।

सर्वपक्षीय बैठकले कोभिड संक्रमित नियन्त्रण गर्न विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली तत्काल वीरगन्ज पठाइ सम्पूर्ण व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले बताए ।

यस्तै वीरगन्जमा दिनहुँ झण्डै सयौंको संख्यामा कोभिड संक्रमित फेला परिरहेका छन्। कोभिड अस्पतालको व्यवस्थापनका लागि पहल गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ ।

त्यसका लागि वीरगन्जमै रहेका नेसनल मेडिकल तथा शिक्षण अस्पताल , वयोधा अस्पताल , वीरगन्ज हेल्थ केयर अस्पताल मध्ये कुनै १/२ वटा निजी अस्पताल आफ्नो मातहतमा लिएर अबिलम्ब कोभिड अस्पतालको व्यवस्थापन र संचालन गर्न सरकारसँग माग गरिएको छ ।

एकमात्र सरकारी अस्पताल नारायणी अहिले बन्द छ।नारायणी अस्पताल स्वास्थ्य सुरक्षा अपनाएर सुचारु गर्न पनि स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता रामनरेश यादवले जानकारी दिए ।

सर्वपक्षीय बैठकले वीरगन्जमा विधुतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी युवा अभियन्ता ओम प्रकाश सर्राफले जानकारी दिए ।यसैगरी बैठकले कोरोनाले ज्यान गुमाएकाको शव अन्त्येष्टि र दाहसंस्कारमा अवरोध नगरिदिन पनि सार्वजनिक अपिल गरेको छ ।

बैठकमा नेकपाका प्रतिधिनि महेश दास , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, युवा अभियन्ता ओमप्रकाश सरार्फ, समाजिक अभियन्ता वृजेश्वर चौधरीलगायतको सहभागिता थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा बिहीबार दिउँसोसम्म संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।यस्तै कोरोनाका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ।

वीरगन्जको कोभिड अस्पतालमा ५० बेड मात्रको आइसोलेसन रहेका कारण त्यहाँ अहिले ६० संक्रमितको उपचार भइरहेको छ । कोभिड अस्पतालमा बेड खाली नहुँदा झण्डै सयजना संक्रमित घरकै होम आइसोलेसनमा राखिएको छ ।

वीरगन्जमा शनिबारदेखि निषेधाज्ञा जारी छ। आइतबारदेखि समुदायस्तरमै कोरोना परीक्षण थालिएको छ । समुदायमै पुगेर परीक्षण गर्न थालिएपछि दिनहुँ संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।बु्धबार मात्रै पर्साका ८४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्