Monday, October 26

‘दिल’ मात्र होइन दिमाग पनि ‘बेचारा’

July 27, 2020 160

काठमाडौं : समय निरन्तर आफ्नै गतिमा बगिरहन्छ। तर समयको यो गतिमा घट्ने केही घटनाक्रमले भने एकोहोरो बगिरहेको परम्परालाई उथलपुथल पार्ने रहेछ। अनि तरंगित पार्ने रहेछ। एकाएक विश्वले बेहोरेको कोरोना- १९ को महामारीबीच बलिउडमा भएको एउटा घटनाले विश्व मनोरञ्जन उद्योगलाई उथलपुथल गराउने बहस सिर्जना गरायो।

सानादेखि ठूला सबै देशका मनोरञ्जन उद्योगमा हैसियतअनुसारको ज्वालामुखी ल्यायो। घटना थियो, बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या। यसअघि पनि बलिउडमा आत्महत्याका घटना नभएका होइनन् तर ती घटना सामान्य पेरिफेरिमा ‘परिणाम’ निकाल्दै सेलाए। तर सुशान्तको आत्महत्याले मनोरञ्जन उद्योगभित्रको ‘नेपोटिज्म’, गुटबन्दी, परिवारवाद, यौन हिंसा र त्यसले उत्पन्न गराउने डिप्रेसन अनि त्यसले उत्पन्न गराउने परिणामको भागीदार को बन्ने भन्ने विषयको फराकिलो बहस सिर्जना गर्‍यो, त्यो पनि बलिउडमा मात्र नभएर, विश्वभर।

थेरै फिल्म खेलेर दर्शकको मन जितेका उनै अभिनेता सुशान्तसिंह राजपुत अभिनीत अन्तिम फिल्म ‘दिल बेचारा’ यतिबेला दर्शकमाझ आइपुगेको छ। यसअघिको आफ्नो फिल्म ‘छिचोरे’ मा आत्महत्याको विरोधमा उभिएर जीवनको लडाइँ लड्नुपर्छ भन्ने सन्देश दिएका सुशान्तले फिल्म रिलिज भएको केही समयमा नै आफैं जीवनसँग हारेर गरेको आत्महत्याले यी सबै विषयमा बहस सिर्जना गराएको हो।

फिल्म धोनीबाट उदाएका उनी अभिनीत अन्तिम फिल्म भएका पनि धेरैले सुशान्तको यो फिल्मको प्रतीक्षा गरेका थिए। तर कोरोना महामारीका कारण धेरै पटक रिलिज डेट सरेर यो फिल्म हलबाट नभएर डिजिटल प्लेटफर्मबाट दर्शकमाझ आएको छ। र, फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मको कथालाई धेरैले सुशान्तको जीवनसँग जोड्न पनि खोजेका छन् प्रतीकात्मक रूपमा। फिल्म जुन स्तरको छ त्योभन्दा पनि सुशान्तको ‘आत्महत्या सेन्टिमेन्ट’ले दर्शकले फिल्म हेर्न खोजिरहेका छन्।

फिल्म ‘दिल बेचारा’ क्लासिक फिल्मको रिमेक हो। जसले पहिले नै मुख्य फिल्म हेरिसकेका हुन्छन् उनीहरू फिल्म हेर्नुभन्दा पहिले नै तुलनात्मक ‘मुड’ मा हुन्छन्। जसले हेरेका छैनन् उनीहरूको अपेक्षा आकाश छुने हुन्छ। यो फिल्म ‘द फल्ट इन् आवर स्टार’ को रिमेक हो। जोन ग्रिनको उपन्यासमा आधारित यो अमेरिकन फिल्म दुई यस्ता प्रेमीको ‘इमोसनल जर्नी’ हो जो आफ्नै जीवनसँग लडिरहेका छन्। कास्टिङ निर्देशक मुकेश छाबडले निर्देशक रूपमा डेब्यु गरेको यो फिल्ममा रोमान्स र इमोसन देखाइएको छ।

फिल्म रिलिज हुनुभन्दा ४० दिन पहिले दुनियाँ छोडेका सुशान्तप्रतिको सेन्टिमेन्ट हुँदाहुँदै पनि पर्दामा यो प्रभाव छोड्न निर्देशक छाबड असफल देखिएका छन्। दर्शकले यो फिल्म हेरेर सुशान्तलाई श्रद्धाञ्जली दिन खोजेकाले फिल्मप्रति भावनात्मक लगाव छ। तर यसलाई पर राखेर फिल्म हेर्ने हो भने यसलाई ‘दिल बेचारा’ एउटा औसत फिल्म मात्रै बनेको छ। सायद सुशान्तले पनि यो फिल्म हेर्न पाएका भए यसै भन्थे होलान्।

फिल्म क्यान्सरपीडित युवा जोडीको प्रेमकथा हो। धर्तीमा उनीहरूको समय थोरै बाँकी छ। एक युवाले जीवनसँग हारिरहेकी युवतीको जीवनमा उमंग ल्याइदिन्छिन्। कथामा रोमान्स र इमोसन धेरै छ। तर निर्देशकको सपाट निर्देशन यो सबैमा ज्यान भर्न चुकेको छ। पत्रलाई सही रूपमा स्थापित गर्न उनी असफल देखिएका छन्। फिल्मकी नायिकाले आफ्नो जीवनमा बदलाव ल्यएको अनुभव गरे पनि दर्शकले भने अनुभूति नै गर्दैनन्। मुकेशको ध्यान फ्रेम राम्रो बनाउनेतर्फ मात्रै केन्द्रित देखिन्छ। यसमा उनलाई सफलता त प्राप्त भएको छ तर तर यो ‘पोस्टकार्ड ब्युटी’ जस्तै भएको छ जसलाई तपाईं हेर्न सक्नुहुन्छ तर महसुस गर्न सक्नुहुन्न।

सुशान्तको ऊर्जा फिल्ममा महसुस हुँदैन। उनले फिल्ममा जति दिन खोजेका छन् त्यति निकाल्न सकिएको छैन। निर्देशकले मागेको उनले दिएका छन्, स्क्रिप्टभन्दा माथि उठेर अभिनय गरेका छन् तर लेखन र निर्देशनको कमजोरीले उनलाई बाँधेको छ।

नायिका सञ्जना सांघी मायलु लाग्छिन्। उनको अभिनय राम्रो छ। सुशान्त र सञ्जनाको जोडी कोमल लाग्छ। छोटो भूमिकामा सैफ अलि खान छन्। एआर रहमानको संगीत उनको नामअनुसारकै छ। सुशान्तको नाममा दिल बेचारा चले पनि दिल बेचारको नामले सुशान्तलाई के चलाउँला र ? उनी आफैंले जीवनसँग हरेस खाइसके।

प्रतिकृया दिनुहोस्