Tuesday, December 1

भ्रष्टाचार नरोकिए राजीनामा दिने भनेको हुँ : उपमेयर चौधरी

July 24, 2020 183

उदयपुर, ८ साउन । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले भ्रष्टाचार नरोकिएमा राजीनामा दिने घोषणा गरेकी छन् । नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण उपप्रमुख चौधरीले राजीनामा दिने तयारी गरेको बताएकी हुन् ।

नगरपालिकाभित्र भ्रष्टाचार बढेको भन्दै उनले हिजो साँझ सामाजिक सञ्जाल फेसबुकमा ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्वयन हुदैन । धिक्कार छ दुई तिहाई सरकार’ भन्दै पोस्ट गरेकी थिइन् ।

उनले नगरपालिकाका कम्युटर सहायक अपरेटर सन्तोष पौडेलबाट भ्रष्टचार भएको र डेढ वर्षदेखि आफूले उठाउँदै आएका कतिपय विषय मेयर दूर्गाकुमार थापाले सुनुवाई नगरेको बताइन् ।

उपप्रमुख चौधरीले भनिन्, ‘कम्युटर साहेक अपरेटर सन्तोष पौडेलले भ्रष्टाचार गरेका छन् । उनलाई कारबाही गरौं, भन्दा मेयर थापाले अपरेटर पौडेल नभएमा नगरपालिका नै चल्दैन भन्नुभयो ।’

उपमेयर चौधरीले कम्प्युटर सहायक अपरेटर पौडेलले पंखादेखि स्काभेटर खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोप लगाएकी छन् । आफुले कार्यपालिकाको बैठकमा भ्रष्टाचारको विषयका डेढ वर्षदेखि पटक–पटक कुरा उठाउदा समेत मेयरले चासो नदेखाएको आरोप लगाइन् ।

सोही कारण आफूले काम गर्न सक्ने अवस्था भएकाले जनतासँग माफी मागेको बताइन् । भ्रष्टाचारका विषयमा आफूले पार्टीमा पनि कुरा राखिसकेको बताइन् ।

उनले भनिन्, ‘नगरपालिकामा के–के भयो र भइरहेको छ, प्रमाण मसँग छ ।’ यस बिषयमा नगरप्रमुख थापालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्