Thursday, October 29

पुल नबनेपछि सास्ती

July 19, 2020 150

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकास्थित टाकुल्ला खोलाले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार टाकुल्ला खोलाले राजमार्ग नै बगाएपछि दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

वर्षायाम सुरुभएसँगै वर्षेनी टाकुल्ला खोलामा पानीको बहाव बढ्ने र सुरुमा मानिसको सहयाताले गाडी तार्ने र पछि डोजरको सहायताले गाडी तारिन्थ्यो। तर यस पटक अविरल वर्षाका कारण पानीको बहाव निकै बढेर सडक नै बगाएपछि राजमार्ग नै दुई दिनदेखी ठप्प छ। खोलामा पुल बनाउने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुल निर्माणको काम १० वर्षदेखि अलपत्र छ। जसका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।

डिभिजन सडक कार्यालयका इन्जिनियर भण्डारीका अनुसार टाकुल्ला खोलामा बन्ने १५ मिटर लम्बाइको पक्की पुलका लागि २०६८ सालमा पहिलो पटक ठेक्का भयो। नयाँ बानेश्वर काठमाडौंको तुल्सी दुर्गा जिबीले ठेक्का पायो। २०६९ भदौ २१ गते ठेक्का सम्झौता गरियो।

सम्झौता मितिले २०७० साल मंसिर २१ गतेसम्म निर्माण सम्पन्न गर्नु पर्ने थियो। तर त्यस अवधिमा कामै भएन्। विभिन्न बाहाना देखाएर निर्माण व्यवसायीले काम गरेनन्।

२०७० जेठ २१ गते हर्जना नलाग्ने गरी ठेक्का म्याद थप भयो। त्यस अवधिमा पुलको दुवै तिरका पिल्लर हालियो। तर फेरी काम रोकियो। २०७३ असार २१ गते हर्जना लाग्ने गरी पुन ठेक्काको म्याद थप भयो। फेरी पनि काम भएन्। हर्जना पनि तिरिएन्।

डिभिजन सडक कार्यालयले २०७४ सालमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्यो। निर्माण व्यवसायी गोकर्ण शाहले उच्च अदालत पाटनमा मध्यस्त नियुक्ति गरिपाउँ भनी निवेदन दिए। त्यो निवेदन उपर उच्च अदालत पाटनले २०७६६ जेठ १४ गते उक्त निवेदन खारेज हुने अन्तिम फैसला गरिदियो। उनी अहिले सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन्। यता उनले २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनि ठेक्का लिएको पुल १० वर्ष भइसक्दा पनि निर्माणको काम अलपत्र बनेको छ।

कुल लागत एक करोड १७ लाख २७ हजार ४ सय ६५ रुपैयाँ ८१ पैसा रहेको उक्त पुल निर्माणको सुरुवातका बेला गरेको कामको करिब २० लाख रुपैयाँ मजदुरले पाएका छैनन्।

पुल नबन्दा वर्षेनी यात्रुले पाएको सास्तीको त हिसाब किताब नै छैन्। यात्रु पूर्णसिंह बमले भने, ‘टाकुल्ला खोलामा मान्छे बगाउने पानी बगिरहेको छ। सडक पुरै भाँसिएको छ। डोजरले गाडी र मान्छेले मोटरसाइकल तार्दै आएका थिए। अहिले त्यो पनि बन्द भएको छ। जुम्लाबाट कालिकोट आउँदा गाडी फेरेर मान्म पुगियो।’

डिभिजन सडक कार्यालयका इन्जिनियर भण्डारीले कानुनी बाधा नपरे नयाँ ठेक्का खुलाएर पुल निर्माणको काम सुरु गर्ने तयारी गरेको बताए। उनले यसका लागि स्थानीय सरोकारवालासँग छलफल गरी अगाडी बढ्ने बताए।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले टाकुल्लामा अवरुद्ध राजमार्ग बनाउने सडक डिभिजनको डोजर समेत बिग्रिएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको बताए। कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत जुम्ला सडकखण्डमा पर्ने दैलेख खण्डको घट्टेखोलादेखि खुलालु, टाकुल्ला लगायतका धेरै पुलको निर्माणको काम अलपत्र छ। जसका कारण यो राजमार्गमा वर्षायाम सुरु भएपछि सवारी साधन तथा यात्रुले हैरानी खेप्नु परेको छ। पुल नबन्दा सडक दुर्घटनाको जोखिम पनि बढेको छ। साँघुरो सडक र त्यो पनि ठाउँठाउँमा बिग्रिएकाले कर्णाली राजमार्गमा यात्रा निकै कष्टपूर्ण बन्दै गएको छ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्