Tuesday, September 22

राम जन्मभूमि प्रसंग : ठोरीको सीता गुफास्थित नेपाल भारत सीमाको ३६ नं. पिलर एकाएक ढालियो

July 18, 2020 112

वीरगञ्ज, ३ साउन । पर्साको ठोरीस्थित सुमेरु पर्वतमाथि रहेको नेपाल भारत सीमा पिलर ढालिएको छ ।

ठोरी गाउँपालिका वडा नं. २ ठोरी भन्सार नजिकै रहेको सुमेरु पर्वतमाथिको नेपाल भारत सीमामा गाडिएको ३६ नम्बर पिलर ढालेर ५ मिटर मुनि झारिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि भारतको अयोध्यामा नभई पर्सा जिल्लाको पश्चिमी ठोरीस्थित रहेको भनेपछि सुमेरु पर्वतको बीच भागमा रहेको सीता गुफा अहिले चर्चामा आएको थियो ।

चट्टानै चट्टानयुक्त बनेको सुमेरु पर्वतको बीच भागमा रहेको सीता गुफाको माथिल्लो टुप्पामा रहेको नेपाल भारत सीमा ३६ नम्बर पिलर रहेको थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको स्वागत गर्दै स्थानीयवासी पूजाको तयारीमा

स्थलगत अनुगमनको क्रममा उक्त स्थानमा भगवान राम तथा सीतासँग जोडिएका शिवलिंग, कुण्ड, घडा लगायत विभिन्न प्राचीन सामानहरु सुरक्षित रहेको समाचारहरु बाहिर आएपछि शनिबार (आज) दिउँसोको समयमा पिलर एकाएक ढालिएको स्थानीयहरुले बताएका छन् ।

स्थानीयहरुको अनुसार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको स्वागत गर्दै ठोरीबासीले शनिबार धुमधामका साथ पूजाआजा गर्ने कार्यक्रम रहेकोमा विहानसम्म पिलर त्यही स्थानमा रहेको तर साँझ हेर्दा पिलर ढालिसकिएको अवस्थामा पाइएको थियो ।

भारतीय पक्षले गुफा आफ्नो सीमानामा पार्न ढालेको आशंका

पूजाआजाको क्रममा सर्वसाधारणहरु सीता गुफाभन्दा मुनि झरेको मौका छोपेर पिलर ढालिएको स्थानीय रामसरण लामिछानेले बताए ।

उनीका अनुसार भारतीय पक्षले गुफालाई आफ्नो सीमामा पार्ने षडयन्त्र गर्नका लागि भारतीय एसएसबीको कुनै प्रतिनिधिले ढालेको हुन सक्ने बताए ।

सर्वसाधारण व्यक्तिलाई सीमासँग के मतलब छ ? र बेलाबखत रातारात एसएसबीले सीमामा रहेको पिलरलाई गायब गर्नुका साथै नेपालको भूमिभित्र ल्याएर राख्ने गरेको कुनै नौलो काम नरहेकोले यो पिलरलाई पनि उनीहरुले नै ढालेको हुन सक्ने बताए ।

शसस्त्र प्रहरीले थाल्यो अनुसन्धान

घटना सार्वजनिक भएपछि तत्काल सशस्त्र प्रहरी निरीक्षक दीपक दाहाल तथा नेपाल प्रहरी निरीक्षक अशोककुमार साहसहितको टोली घटना स्थल पुगेको थियो ।

पिलर ढालिएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा स्थानीयहरुको आवत जावतमा रोक लगाइएको छ भने भारतीय सीमा सुरक्षा बलका अधिकारी सहित सशस्त्र प्रहरी, नेपाल प्रहरीको अधिकारीहरु पुगेर अनुसन्धान गरि रहेको सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले बताउनुभयो ।

उनका अनुसार सीता गुफामाथि रहेको ३५ नम्बर पिलर ढालेर ५ मिटर मुनि झरेको छ, तर कसले पिलर ढालेको हो भन्ने अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान कार्य भइरहेको प्रनि दाहालले बताउनुभयो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्