Thursday, November 26

इलाममा क्वारेन्टाइनको सुरक्षामा खटिएका नेपाली सेनाका जवानसहित ६ जनामा कोरोना संक्रमण

July 16, 2020 126

इलाम, १ साउन । इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका जवानसहित ६ जनामा आज एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कुवेत, कतार, ग्रिसबाट आएका १ – १ जना , भारतबाट आएका दुई जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका एक जना नेपाली सेनाका जवान छन् । जसमध्ये पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् ।

सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरुको गत २८ गते स्वाब परीक्षणको लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।

इलाममा आज थपिएका ६ जना सहित कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ भने ११ जना उपचार पछि घर फर्किएका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्