Tuesday, September 29

गृहमन्त्री र गृहसचिवद्वारा मासिक ६-६ लाख मनमौजी खर्च, गृहमन्त्रीलाई हेलिकोप्टर भाडा

July 16, 2020 102

काठमाडौं । सुराकी खर्चका नाममा गृह मन्त्रालयमा रहेको बेथिति बढ्दै गएको छ ।

गत आर्थिक वर्षमा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा मासिक ६–६ लाख रुपैयाँ खर्च गरेका छन् ।

गृहमन्त्रीभन्दा गृहसचिवले धेरै सुराकीका नाममा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ७२ लाख तथा तत्कालीन गृहसचिव प्रेमकुमार राईले एक वर्षमा ७३ लाख नौ हजार रुपैयाँ सुराकीका नाममा खर्च गरेका छन् ।

गृहमन्त्रीले एकपटकमा ५० हजार तथा गृहसचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान छ ।

तर, एक वर्षमा कतिपटक त्यसरी खर्च गर्न पाउने भन्ने नतोकिएकाले सुराकी खर्च देखाएर बजेट हिनामिना हुने गरेको हो ।

यसरी गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा खर्च गर्न पाउने कानुनी व्यवस्था छैन ।

१३ जेठ ०५० मा भएको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुराकीका नाममा यसरी खर्च हुने गरेको छ । तर, यस्तो रकम दुरुपयोग हुने गरेको स्रोत बताउँछ ।

गृह मन्त्रालयले विपत्को कोषबाट गृहमन्त्रीको हेलिकोप्टर भाडा तिरेको खुलेको छ ।

गोष्ठीमा विभिन्न जिल्ला जाँदा कोषबाट हेलिकोप्टर भाडा तिरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

हेलिकोप्टर भाडामार्फत एक वर्षमा एक करोड ८० लाख ९८ हजार रुपैयाँ खर्च भएकोमा १४ लाख ३६ हजार रुपैयाँ विपत्सँग असम्बन्धित काममा जाँदा भुक्तानी भएको छ । नयाँ पत्रिका दैनिकबाट
source:ImageKhabar.com

प्रतिकृया दिनुहोस्