Wednesday, October 21

नेपालको कालापानीमा भारतले बढायो सुरक्षाकर्मी, नेपाली सुरक्षाकर्मीलाई अवरोध

July 16, 2020 145

काठमाडौं, ३१ असार । भारतले अतिक्रमण गरेको कालापानी लगायतका नेपाली भूभागमा आफ्नो सुरक्षा उपस्थिति बलियो बनाएको छ ।

भारतले सो क्षेत्रमा सेना, सीमा सुरक्षा बल (एसएसबी) ठूलो संख्यामा परिचालन मात्र गरेको छैन, कालापानी वरसमेत नेपाली सुरक्षाकर्मीलाई नै जान दिएको छैन ।

भारतले जवरजस्ती नियन्त्रणमा लिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई नेपालले आफ्नो नक्सामा समावेश गरेपनि भूमि फिर्ता ल्याउन खासै पहल गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ति भूभाग हाम्रो भएको वक्तव्यवाजी गर्ने गरेपनि तिनै भूमिभन्दा वर नेपालले भोगचलन गर्दै आएको दार्चुलाका विभिन्न क्षेत्रमा समेत भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीलाई प्रवेशमै रोक लगाउने गरेका छन् ।

आफ्नो मिचिएको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलेको भन्दा एक किलोमिटर वर नै भारतले छेकबार लगाएको छ ।

काली मन्दिर र महाकाली नदीको मुहान जान खोजेका व्यासको गागामा रहेका सशस्त्र र नेपाल प्रहरीलाई भारतीय सुरक्षाकर्मीले रोकेको छ । स्थानीय समेत यी क्षेत्रमा जान पाउँदैनन् । बरु गाडीका गाडी भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ ओसारिएको स्थानीय जनप्रतिनिधिहरु नै बताउँछन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली कौवा क्षेत्रमा जानेवित्तिकै भारततर्फबाट त्यहाँका सुरक्षाकर्मीले रेकी गर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीलाई कालापानी सहित कौवाको माथिपट्टी प्रवेश गर्न नदिन माथिकै आदेश आएको बताउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् ।

गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे ।

कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म गत वर्षसम्म छाङ्गरुका स्थानीय जाने गरेका थिए । अहिले सो क्षेत्रमा समेत नेपाली र नेपाली सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइने गरेको छैन ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्