Tuesday, September 29

भोलि साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिने गरिन्छ ।

July 15, 2020 131

भोलि साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिन्छ ।

साउने संक्रान्ति सबैतिर मनाइने भएपनि यसका विधी एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिय वनस्पतिलाई घरमा सजाउने गरिन्छ । कण्डारक नामक रात्रिचर (राती हिँड्ने)को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ ।

फलफूल, नैवेध चढाएर कण्डारकको पूजा गरेपछि दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । यस दिन नुहाएर तिउरी लगाउने गरिन्छ ।

ज्योषित विज्ञान अनुसार

ज्योषित विज्ञान अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

धार्मिक अस्थाको हिसाबले

धार्मिक आस्था राख्नेहरुले यस महिनालाई पवित्र मान्ने गर्छन् । यस अवधिम स्नान, होम, श्रद्धा, दान जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र वस्त्र पहिरिने गरिन्छ । भगवान शिवको पूजा आराधना गरिन्छ । उपवास एवं ब्रत बसिन्छ । मासुजन्य एवं तामासी भोजन त्याग गरिन्छ । शरीरलाई शुद्ध गरेर मनलाई भक्ति–भजनमा लगाइन्छ ।

प्रकृतिप्रति कृतज्ञता

साउने संक्रान्तिको दिन आफ्नो खेतबारीमा उत्पादन भएको फलफूल चढाउने गरिन्छ । यसैगरी अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनी कामना गरिन्छ । अन्नदाता एवं प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ ।

शारीरिक सरसफाई र शृंगार

असार वा मध्य वर्षायाममा किसानहरु खेतीपातीमा लाग्छन् । यसबेला ‘मानो खाएर मुरी उब्जाउने’ भन्दै खेतीपातीमा तल्लिन भएर लाग्ने गरिन्छ । यस क्रममा हातमा चोटपटक लाग्ने, हिलो–मैलाको कारण छालामा संक्रमण भएको हुनसक्छ । अतः खेती–किसानीको काम पुरा भएसँगै सरसफाई गर्ने, लुतो जस्ता छालामा लाग्ने रोग, चोटपटकको उपचार गरिन्छ । हात एवं नङमा मेहेन्दी लगाइन्छ ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्