Thursday, December 3

मेरो थोत्रो ज्याकेट देखेर प्रचण्ड र बाबुरामलाई लज्जा वोध भएछ, आफैलाई बेस्सरी सरापे : पूर्व मन्त्री विष्टमगर

July 14, 2020 233

काठमाडाैं, ३० असार । पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष बाबुराम भट्टराईले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै हेपेको बताउनुभएकाे हाे ।

‘मेरो आदर्श स्खलित भएको दिन !’ शीर्षक राखेर उहाँ फेसबुकमा लेख्नु हुन्छ- ‘एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क.बाबुरामसँग थिए म,भीआइपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे ! मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहे ! म अलि पर थिए । सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो । मैले नसुने झैं गरेर सुनिरहे कान थापेर । मलाई नमीठो लाग्यो !’

उहाँले आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको पनि बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …” हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भन न न न….चक्कर आयो ! तर, समालिएर बसे र अडिए ! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो ! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ ! म उल्लु रहेछु, धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो !

राजनीति छाडेर कृषि व्यवसायमा लाग्नुभएकाे पूर्व मन्त्री विष्टमगरले अहिले दाङको तुलसीपुर उपमहानगरपालिका-१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गामा ‘ड्रागन’खेती गर्दै आउनु भएको छ । माओवादी युद्ध हुँदै मन्त्रीसमेत बन्नुभएका उहाँ केही वर्षयता पूर्णकालीन राजनीति छाडेर कृषि कर्ममा होमिनुभएकाे छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्