Wednesday, September 23

हिल्दुम विद्युत वितरण केन्द्रको डीसी सप्लाईले काम नगर्दा सिमकोट अन्धकार

July 13, 2020 109

हुम्ला, २९ असार । हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत उत्पादन गर्ने मेसिनमा समस्या आएपछि आइतबारदेखि हुम्लाको सदरमुकाम सिमकोट अन्धकारमय बनेको छ ।

सदरमुकाम सिमकोटलगायत खार्पूृनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलो वाट क्षमताको हिल्दुम विद्युत वितरण केन्द्रको डीसी पावर सप्लाईमा समस्या आएपछि विगत २ दिनदेखि विद्युत बन्द भएको हो ।

वितरण केन्द्रको पावर हाउसमा रहेका २५० वाटका दुई वटा मेसिनको डीसी पावर सप्लाईमा समस्या आएपछि विद्युत उत्पादन नहुँदा सिमकोटलगायतका गाउँहरु अन्धकारमय बनेको हिल्दुम विद्युत वितरण केन्द्रले जनाएको छ ।

आइतबारदेखि सिमकोटमा विद्युत आपूर्र्ति नहुँदा असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्ला सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ ।

अनलाइन मार्फत् भुक्तानीको व्यस्था भएकाले बत्ति नहुँदा सरकारी कामकाजमा समस्या भएको सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए ।

अहिले सबै गाउपालिकामा विभिन्न बैंकका शाखा स्थापना गरिएका छन्, तर उक्त शाखाहरुमा ईन्टरनेट सेवा र रकमको अभाव हुदा भुक्तानीका लागि सदरमुकाम सिमकोटमा धाउनुपर्ने बाध्यता रहेको अधिकृत शाहीले बताए ।

विद्युत अवरुद्ध भएपछि सरकारी कार्यालयको काम मात्रै रोकिएको छैन्, सदरमुकाम सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक्स व्यवसाय र स्थानीय सञ्चारमाध्यम बढी प्रभावित भएका छन् ।

विद्युत अवरुद्ध भएपछि जिल्लामा रहेका २ वटा रेडिया मध्ये रेडियो कणार्लीले आफ्नो प्रशारण बन्द गरेको छ । त्यस्तै, रेडियो कैलाशले भने प्रशारण समयावधि घटाएको छ ।

विद्युत मर्मतका लागि पावर हाउस पुगेको वितरण केन्द्रको प्राविधिक टोलीले मेसिनमा आएको समस्या पत्ता लगाए पनि विद्युत सूचारु गर्न नसकिएको हिल्दुम विद्युत वितरण केन्द्र हुम्लाका निमित्त प्रमुख मीनबहादुर कार्कीले बताए ।

पावर हाउसमा रहेको विद्युत उत्पादन गर्ने मुख्य जेनेटरको डीसी पावर सप्लाईले काम नगर्दा आइतबार विहान ११ बजेबाट विदुत अवरुद्ध भएको हो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्