Wednesday, October 28

बारेकोट पहिरो : थप एकको शव भेटियो , मृतकको संख्या १० पुग्यो

July 12, 2020 116

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी बेपत्ता थप एकजनाको शव फेला परेको छ ।योसहित मृतकको संख्या १० पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएकासहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता ११ वर्षीय कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको हो । कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन् ।

३८ वर्षीया कलु सार्की, उनकी १३ वर्षीय छोरी तिर्सा सार्की र उनका ६ वर्यीय छोरा सुभास सार्कीको मृत्यु भएको छ । घटनामा परी पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीया डिल्ली सार्की तथा १८ वर्षीय विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनीहरु दिदीको घरमा पाहुन आएका थिए । पहिरोमा परी बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।

गोपालकी श्रीमती ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की पहिरोमा बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । भीरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्