Thursday, October 29

ट्रम्पले मास्क लगाउँदा विश्वभर समाचार !

July 12, 2020 155

काठमाडौं। कोरोनाभाइरसको महामारी फैलिएसँगै संसारभर मास्क अनिवार्यजस्तै भयो । सबैजसो मानिसहरु घरबाहिर निस्किँदा मास्क लगाएरै निस्किन थाले । कैयौं देशहरुले त घरबाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने नियम बनाए । केही खाडी देशहरुले त यतिसम्म कडा नियम बनाए कि मासक नलगाइ घरबाहिर निस्किनेले भारी रकम जरिवाना र जेल सजाय समेत भोग्नुपर्ने नियम लागू गरियो ।

विश्वभर मास्क अनिवार्य भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने अटेरी बनेरै बसे । उनले मास्क लगाउन मान्दै मानेनन् । आफ्नै देशमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू भइसक्दा समेत उनी मास्क नलगाइ सार्वजनिक कार्यक्रममा देखिन्थे । उनी मासक नलगाइ बाहिर निस्किएको देखेपछि केही पत्रकारले यसबारे प्रश्न उठाउँदा ट्रम्पले मास्क लगाउनुपर्ने नियम आफ्नो लागि नभएको भनेर समेत आफ्नो बचाउ गरे ।

उनै अटेरी ट्रम्प शनिबार एक सार्वजनिक कार्यक्रममा मास्क लगाएर पुगेपछि यो विश्वभरका मिडियाका लागि समाचार बन्यो । अहिलेको महामारीको समयमा मास्क लगाएको कुरा समाचार नबन्नुपर्ने हो । तर, महिनौंसम्म अटेरी गरेर बसेका विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तिले अन्ततः मास्क लगाएपछि यो विषय समाचार बन्न पुग्यो । विश्वकै शक्तिशाली मानिने व्यक्ति पनि स्वास्थ्यको जोखिमसँग डराउने रहेछन् र उनलाई पनि ज्यानको माया रहेछ भन्ने कुराको सन्देश दिनको लागि पनि समाचार बनाउनु जरुरी बन्यो ।

शनिबार वाशिङटननजिकै वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरको अवलोकनका लागि मास्क लगाएर गएका ट्रम्पले त्यहाँ रहेका घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेटेका थिए । शनिबार ह्वाइट हाउसबाट निस्किँदा मास्क लगाएर निस्किएका ट्रम्पले धेरै मानिसहरुसँग भेट हुने अस्पतालजस्तो ठाउँमा जानेले मास्क लगाओस् भन्ने अपेक्षा हुने भएकोले आफूले मास्क लगाएको बताए । उनले भने ‘म कहिल्यै पनि मास्क लगाउनु विरुद्ध थिइन । तर मलाई लाग्छ हरेक कुराको एउटा समय र ठाउँ हुन्छ ।’

यसअघि ट्रम्पले सार्वजनिक रुपमै मास्क लगाउन अस्वकिार गरिसकेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो विपक्षमा उठेका उम्मेदवार जो बिडेनले मास्क लगाएको विषयमा समेत ट्रम्पले कटाक्ष गरिसकेका छन् । अमेरिकामा कोरोना महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाएको देखिएको यो पहिलो पटक हो ।
source:DCnepal

प्रतिकृया दिनुहोस्