Thursday, December 3

तस्करी गर्न नपाएको भन्दै प्रहरीलाई धम्की

July 11, 2020 120

विराटनगर ः सामान तस्करी गर्न नपाउँदा नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीलाई अनेक खाले धाकधम्की आउने गरेको पाइएको छ । तस्करी गर्ने समूहले तस्करीको लाइन खुलाउन दबाब दिँदै विभिन्न तवरबाट प्रहरीलाई धम्की दिने गरेको हो । नेपालबाट भारत र भारतबाट नेपालतर्फ अवैध रुपमा भइरहेको चोरी तस्करी नियन्त्रणमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का सक्रिय भएर लागेका छन् । उनको सक्रियतासँगै ठप्प बनेको तस्करीको लाइन खुलाउन सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीलाई तस्कर समूहले दबाब दिइरहेको पाइएको छ।

प्रहरीलाई धम्की दिने तस्करीमा संलग्न विराटनगर महानगरपालिका–१५ का ३९ वर्षीय रामजी मण्डललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भनेर गत असार १४ गतेदेखि निरन्तर दबाब र धम्की दिइरहेको पाइएपछि एसपी खड्काकै निर्देशनमा मण्डल पक्राउ परेका हुन्।

तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने, हाकिमलाई भनेर कारबाही गर्न लगाउने र जागिरसमेत खाइदिने धम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध केही दिनअघि अभद्र व्यवहार मुद्दा दर्ता गरिसकेको थियो । मुद्दा दर्ता भएको थाहा पाएर फरार बनेका मण्डललाई शुक्रबार राति रानी एरियाबाटै पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए।

मण्डल नेपालबाट भारततर्फ मरिच, मटर समेतको तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पाइएको खड्काले बताए । उनका अनुसार मण्डल सीमा क्षेत्रमा बसेर दुई देशबीच भन्सार छली गर्दै लामो समयदेखि तस्करीको लाइन चलाउने गिरोहका नाइके रहेको पाइएको छ । ‘अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर कारबाही अघि बढाउनका लागि थप बाँकी अघि बढाइएको छ ।’ एसपी खड्काले भने।

प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा असार १४ गतेराति विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो । त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको दुई हजार चार सय २५ किलो मटर र मटर लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मटर तस्करीको नेत्रृत्व पक्राउ परेका मण्डलले नै गरेको प्रहरीको दाबी छ।

त्यही रात मटर बरामद गरेको स्थाननजिकै सडकबाट प्रहरीले को १४ प ६८७४ नम्बरको मोटरसाइकल बेबारिसे र शंकास्पद अवस्थामा फेला पारेको थियो । मोटरसाइकल मण्डलकै रहेको खुलेको छ । मटर नियन्त्रणमा लिइएपछि मोटरसाइकल बाटैमा छाडेर उनी फरार बनेका प्रहरीको दाबी छ । अनुसन्धानका लागि ल्याएको मोटरसाइकल मण्डलले असार १८ गते साँझ जवरजस्ती इलाका प्रहरी कार्यालय रानीबाट निकालेर लैजान पनि खोजेका थिए।

मोटरसाइकल लैजान रोक्ने क्रममा उनले ड्युटीमा रहेकी प्रहरी जवान कविता राउतमाथि अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै हातपातसमेत गरेको प्रनि थापाले बताए । महिला प्रहरीलाई उनले हत्या गर्नेसम्मको धम्की दिएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । अश्लील गाली गलौज, दुर्व्यवहार र हातपात गर्दै प्रहरीलाई ड्युटीमा बाधा अवरोध गरेको भनेर राउतले किटानी जाहेरीसमेत दिएकी छन्।

नेपाल–भारत सीमा क्षेत्र रानीमा रहेको चाइना मार्केटमा मण्डलको किराना पसल छ । त्यही पसलको आडमा उनले तस्करी धन्दा चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘विभिन्न सामान पसलका लागि भन्दै ल्याएर स्टक गर्ने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो,‘ सुरक्षाकर्मीको आँखा छल्न साथ भारततिर कटाउने गरेको खुलेको छ ।’
एसपी खड्काले सीमा क्षेत्रबाट हुने अवैध धन्दा निमिट्यान्न पार्ने हिसाबमा प्रहरी काम कारबाही अघि बढाइएको जानकारी दिए।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्