Wednesday, December 2

भ्रम र यथार्थ : वनस्पतिबाट कोभिडको भ्याक्सिन बनाउन सम्भव छ ?

July 11, 2020 150

भ्रम र यथार्थ
विश्व कोभिड-१९ महामारीबाट आक्रान्त छ। यो विश्वव्यापी महामारीसँगै केही शब्द लोकप्रिय बनेका छन्। जस्तै- भाइरस, एन-९५ मास्क, पीसीआर, आरडीटी, सामाजिक दूरी, क्वारेन्टिन, सेल्फ आइसोलेसन, भ्याक्सिन आदि। तर सम्बन्धित विषयको वास्तविक ज्ञान नहुँदा यी शब्दको गलत प्रयोग पनि भइरहेको छ। त्यसमध्ये एक हो, भ्याक्सिन।
केही समयअघि एक नेपाली प्राध्यापकले जडीबुटीजन्य बिरुवामा पाइने प्राकृतिक तत्वहरूको मिश्रणबाट कोभिड-१९ को भ्याक्सिन (खोप) बनाउन सफल भएको खबर सामाजिक सञ्जाल र नेपालका दैनिक समाचारपत्रहरूमा प्रकाशन भयो। तर त्यो उत्साह पानीको फोकासरि विलीन भयो किनभने उक्त दाबीमा खोपसम्बन्धी आधारभूत ज्ञान र विज्ञानसम्मत अनुसन्धानको अभाव थियो।
त्यसो भए के हो त भ्याक्सिन ? यसले हाम्रो शरीरमा कसरी काम गर्छ ? भ्याक्सिन बनाउने वैज्ञानिक तरिका के हो ? के वनस्पतिबाट भ्याक्सिन बन्न सक्छ ? यो लेखमा म यिनै विषयबारे चर्चा गर्नेछु।

के हो भ्याक्सिन ?

शरीरमा प्रवेश गरेको रोगजन्य भाइरस वा ब्याक्टेरिया पहिचान गरी सम्भावित रोगबाट बचाउन हाम्रो शरीररको प्रतिरक्षा प्रणालीलाई प्रेरित गर्न सक्ने क्षमता भएको पदार्थ नै भ्याक्सिन हो। कुनै निश्चित रोगको भ्याक्सिन त्यसको कारक ब्याक्टेरिया वा भाइरस परिमार्जन गरेर बनाइएको हुन्छ। त्यसरी परिमार्जन गर्दा ती रोगका कारकमा शरीरको प्रतिरक्षा प्रणालीलाई रोगविरुद्ध लड्न उत्प्रेरित गर्ने गुण कायम नै हुन्छ तर रोग निम्त्याउने क्षमता हुँदैन।

वास्तवमा भ्याक्सिन रोगको उपचारभन्दा पनि रोग लाग्न नदिने उत्तम र प्रभावकारी उपाय हो। भ्याक्सिनको प्रयोगले मानव जातिलाई दादुरा, पोलियो, क्षयरोग, टिटानस, इन्फ्लुएन्जा, बिफरजस्ता २५ भन्दा बढी जटिल, संक्रामक र प्राणघातक रोगहरूबाट जोगाएको छ।

भ्याक्सिनले रोगबाट कसरी जोगाउँछ ?

भ्याक्सिनले रोगबाट बचाउन कसरी काम गर्छ भन्ने बुझ्न मानव शरीरको प्रतिरक्षा प्रणालीको आधारभूत ज्ञान आवश्यक हुन्छ। कुनै पनि रोगजन्य कीटाणु (भाइरस वा ब्याक्टेरिया) हाम्रो शरीररमा प्रवेश गर्नासाथ हाम्रो शरीरका तन्तुहरूमा आक्रमण गर्छ। उसले आफ्नो संख्यामा गुणात्मक वृद्धि गरी तन्तुलाई क्षति पुर्‍याउँछ। यस्तो अवस्थालाई संक्रमण भनिन्छ।
यस्तो संक्रमणसँग लड्न हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आफ्ना विभिन्न संयन्त्र प्रयोग गर्छ। हाम्रो रगतमा पाइने सेतो रक्तकोषमा संक्रमणविरुद्ध लड्न सक्ने मुख्य तीन पदार्थ हुन्छन्। ती हुन्- म्याक्रोफेज, बिटा लिम्फोसाइट्स र टी लिम्फोसाइट्स। त्यसैले सेतो रक्तकोषलाई प्रतिरक्षा कोष पनि भनिन्छ।

म्याक्रोफेजले शरीरभित्र प्रवेश गरेका कीटाणुका साथै मरिसकेका र मर्न लागेका कोषहरूलाई खाइदिन्छ वा नष्ट गर्छ। तर कीटाणुका केही अंश भने बाँकी छोड्छ जसलाई एन्टी जेन भनिन्छ। शरीरले त्यस्ता एन्टी जेनलाई खतराको संकेतका रूपमा लिन्छ। बिटा लिम्फोसाइट्सले ती एन्टी जेनलाई आक्रमण गरी नष्ट गर्न एन्टी बडी उत्पादन गर्छ। टी लिम्फोसाइट्सले चाहिँ पहिल्यै संक्रमित भइसकेका कोषहरू नष्ट गरी रोग निको पार्छ।

पहिलो पटक कीटाणुले शरीरमा संक्रमण गर्दा त्यसविरुद्ध प्रतिरक्षा प्रणालीका संयन्त्रहरू प्रयोग गरी एन्टी बडी उत्पादन हुन लामो समय लाग्ने गर्छ। तर एकपटक संक्रमण भइसकेपछि त्यस रोगविरुद्ध लड्ने प्रक्रियाको स्मृति शरीरको प्रतिरक्षा प्रणालीले राख्ने गर्छ। र, फेरि कुनै बेला त्यही ब्याक्टेरिया वा भाइरसले आक्रमण गर्दा स्मृति कोषको रूपमा रहेको टी-सेलले निकै चाँडो एन्टी बडी उत्पादन गर्छ र संक्रमणबाट जोगाउँछ।

कुनै पनि रोगविरुद्ध भ्याक्सिन तयार गर्दा प्रतिरक्षा प्रणालीको यही सम्झिने गुणलाई उपयोग गरिन्छ। कुनै पनि कीटाणुले आक्रमण गर्दा गरिएको अभ्यास प्रतिरक्षा प्रणालीले सम्झिने भएकाले त्यही कीटाणुको कृत्रिम आक्रमण गरेर प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने काम भ्याक्सिनले गर्छ। भ्याक्सिन बनाउँदा त्यस कीटाणु पूरै वा त्यसको अंश वा त्यसले उत्पादन गर्ने आनुवंशिक तत्व प्रयोग गरिन्छ। जसरी वास्तविक कीटाणुले आक्रमण गर्दा शरीरको प्रतिरक्षा प्रणालीले एन्टी बडी उत्पादन गर्छ, त्यसैगरी भ्याक्सिन लगाएपछि त्यसमा रहेका कीटाणुको अंश शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टी बडी उत्पादन गर्छ। टी-लिम्फोसाइट्स र बिटा-लिम्फोसाइट्सले रोगविरुद्ध कसरी लड्ने भन्ने स्मृति जोगाइराख्ने भएकाले ती कीटाणुले वास्तविक आक्रमण गर्दा शरीरले तुरुन्तै एन्टी बडी उत्पादन गरी रोगबाट बचाउँछ।

त्यसैले भ्याक्सिन लगाउनु भनेको कृत्रिम रूपमा स्वैच्छिक र सीमित संक्रमण गराउनु हो। भ्याक्सिन लगाइसकेपछि पनि शरीरमा एन्टी बडी उत्पादन हुन समय लाग्छ। त्यसकारण खोप लगाएपछि एन्टी बडी उत्पादन हुनुअघि नै प्राकृतिक कीटाणुको आक्रमणमा परियो भने रोग लाग्नसक्छ। भ्याक्सिन लगाउनुअघि नै कीटाणु शरीरमा प्रवेश गरिसकेको छ भने पनि खोपले रोगबाट बचाउन सक्दैन।

सजिलो भाषामा भन्दा भ्याक्सिन भनेको युद्धको तयारीका लागि गरिने कृत्रिम लडाइँ हो। जसरी सेनाहरू आफँैभित्र नक्कली दुस्मन बनाई युद्ध अभ्यास गर्छन् र वास्तविक युद्धमा त्यो अभ्यासको स्मृतिले सघाउँछ। त्यसैगरी भ्याक्सिन लगाउनु पनि कृत्रिम लडाइँ हो। भ्याक्सिनले कृत्रिम संक्रमण गरेर प्रतिरक्षा प्रणालीलाई आवश्यक एन्टी बडी उत्पादन गर्न उत्प्रेरित गर्छ। एन्टी बडी कीटाणुसँग जुध्ने हतियार हो। जब कीटाणुको वास्तविक आक्रमण हुन्छ, शरीरमा त्यससँग लड्नका लागि आवश्यक उपयुक्त हतियार कस्तो हुनुपर्छ भन्ने स्मृति रहिसकेको हुन्छ। रोग प्रतिरोधात्मक प्रणालीले त्यही स्मृति उपयोग गर्दै उपयुक्त एन्टी बडी उत्पादन गर्छ।

कीटाणुको प्राकृतिक संक्रमण र भ्याक्सिनमा मुख्य भिन्नता नै संक्रमणको असर हो। प्राकृतिक संक्रमणले बिरामी बनाउँछ र शरीरलाई अनियन्त्रित क्षति पुर्‍याउँछ। तर भ्याक्सिनले बिरामी बनाउँदैन, बनाइहाले पनि निकै सीमित संक्रमणका कारण रोगका सीमित लक्षण मात्र देखा पर्छन् जसले स्वास्थ्यमा ठूलो हानि पुर्‍याउँदैन। जस्तै- साना नानीहरूलाई भ्याक्सिन लगाइसकेपछि सामान्य ज्वरो आउँछ।

भ्याक्सिन तयार गर्दा कीटाणुका पूर्ण अंश प्रयोग गरिएको छ भने रोग लगाउन अक्षम हुने गरी पूर्ण रूपमा निष्क्रिय पारिएको वा परिमार्जित गरिएको हुन्छ। कीटाणुको अंश प्रयोग गर्दा शरीरको प्रतिरक्षा प्रणालीलाई एन्टी बडी उत्पादन गर्न प्रेरित गर्ने तत्व मात्र समावेश गरिएको हुन्छ।

बिफरको भ्याक्सिन लगाएकाहरूको पाखुरामा दाग त हामी सबैले देखेकै छौँ। विश्वमा पहिलोपटक विकास गरिएको यो भ्याक्सिनमा जीवित भ्याक्सिनिया भाइरस प्रयोग गरिएको हुन्छ जसले गर्दा भ्याक्सिन लगाएपछि सीमित रोगको लक्षणका रूपमा भ्याक्सिन लगाएको ठाउँमा दाग देखिन्छ। भ्याक्सिनमा कीटाणुको आंशिक अंश प्रयोग गरेको अवस्थामा रोगका लक्षण देखिने सम्भावना निकै कम हुन्छ। जस्तै- हेपाटाइटिस ‘बी’को भ्याक्सिन लगाएपछि रोगका कुनै पनि लक्षण देखा पर्दैन।

भ्याक्सिन लगाउन किन आवश्यक छ ?

प्राकृतिक रूपमै शरीरमा बाह्य आक्रमणबाट बचाउने प्रतिरक्षात्मक प्रणाली विद्यमान रहे पनि हाम्रो शरीरलाई सबै खालका संक्रमणबाट तत्काल बचाउन मुस्किल पर्छ। शरीरले संक्रमणविरुद्ध लड्ने एन्टी बडी प्रचुर मात्रामा उत्पादन गर्न सापेक्षिक रूपमा लामो समय लिन्छ। त्यति बेलासम्म शरीरभित्र संक्रामक कीटाणुको संख्या अत्यधिक वृद्धि भई शरीरलाई हानि पुर्‍याइसकेको हुन्छ। यसले गर्दा बिरामीको निधन हुने सम्भावना पनि हुन्छ।

आक्रमण गर्ने कीटाणु र रोगको प्रकृति हेरी स्वस्थ व्यक्तिको शरीरले एन्टी बडी उत्पादन गर्ने बेलासम्म रोगसँग सामना गर्दै स्वस्थ हुने सम्भावना हुन्छ। तर पहिला नै अरू कारणले स्वास्थ्यस्थिति कमजोर भएका मानिसमा संक्रमण पेचिलो हुन्छ र संक्रमितको मृत्यु हुने सम्भावना बढी हुन्छ। कडा रोगको सन्दर्भमा शरीरको प्रतिरक्षा प्रणालीले प्राकृतिक रूपमा मृत्युबाट बचाउन सके पनि दीर्घकालीन घातक असरहरू छोड्नसक्छ। उदाहरणका लागि भ्याक्सिनको विकास हुनुअघि बिफरको संक्रमणबाट कतिपय मानिसको मृत्यु भए पनि प्राकृतिक प्रतिरक्षा प्रणालीका कारण रोग प्रतिरोधात्मक शक्ति बलियो भएका धेरै मानिस ज्यान बचाउन सफल भए तर अनुहारमा स्थायी रूपमा खाल्डो परेको दाग बाँकी नै रह्यो।
त्यसैले कीटाणुको आक्रमणपश्चात् शरीरले स्वाभाविक रूपमा एन्टी बडी बनाउनुअघि नै संक्रमणले शरीरमा पुर्‍याउन सक्ने क्षति रोक्न र आक्रमण गर्नुअघि नै त्यस कीटाणुविरुद्ध लड्नसक्ने एन्टी बडी तयार गरिराख्न भ्याक्सिन आवश्यक पर्छ।

भ्याक्सिनका प्रकार

आधारभूत रूपमा अहिले प्रचलित भ्याक्सिन पाँच प्रकारका छन्-

१. जीवित कमजोर भ्याक्सिन : यस प्रकारको भ्याक्सिन तयार गर्दा रोग लगाउने जीवित भाइरस वा ब्याक्टेरियालाई प्रयोगशालामा रोग लगाउन नसक्ने गरी कमजोर बनाइन्छ। यसले गर्दा स्वस्थ व्यक्तिमा त्यो भ्याक्सिन लगाउँदा कुनै गम्भीर स्वास्थ्य समस्या देखिँदैन। यस प्रकारको भ्याक्सिनमा प्राकृतिक रूपमै संक्रमण गराउने जीवाणु नै हुने भएकाले प्रतिरोधात्मक प्रणालीलाई एन्टी बडी उत्पादनका लागि पर्याप्त रूपमा प्रेरित गर्छ। त्यसैले जीवित कमजोर भ्याक्सिन सबैभन्दा प्रभावकारी र परिणाममुखी मानिन्छ। प्रचलित भ्याक्सिनमध्ये बीसीजी (क्षयरोगविरुद्धको खोप), खुवाउने पोलियो, दादुरा, रोटाभाइरस, पहेँलो ज्वरो यसअन्तर्गत पर्छन्। यस प्रकारका भ्याक्सिन प्रतिरोधात्मक शक्ति कमजोर भएका बच्चाहरूलाई भने लगाउन मिल्दैन।

२. निष्क्रिय भ्याक्सिन : यस प्रकारको भ्याक्सिन बनाउँदा प्रयोग गरिने कीटाणुलाई मारिएको हुन्छ वा निष्क्रिय बनाइएको हुन्छ। त्यसैले जीवित भ्याक्सिनभन्दा यसको प्रभावकारिता तुलनात्मक रूपमा कम हुन्छ र एकभन्दा बढीपटक लगाउनुपर्ने हुन्छ। यसअन्तर्गत सुईद्वारा लगाउने पोलियो र पर्टुसिसको पूर्ण कोष भ्याक्सिन पर्छन्।
३. परिमार्जित विषयुक्त भ्याक्सिन : यस प्रकारको भ्याक्सिनले विशेष गरी ब्याक्टेरियाबाट निस्कने विषका कारण हुने रोगबाट बचाउँछ। यसअन्तर्गत टिटानसको सुई र भ्यागुते रोगको भ्याक्सिन पर्छन्। यस भ्याक्सिनमा प्रयोग गरिने प्रोटिनमा आधारित विष हानिकारकरहित हुन्छ तर एन्टी बडी उत्पादन गर्ने एन्टी जेनको काम गर्न सक्षम हुन्छ। त्यसैले यो बढी सुरक्षित खालको हुन्छ।

४. उप-एकाइ भ्याक्सिन : यस प्रकारको भ्याक्सिनमा कीटाणुको सम्पूर्ण अंश प्रयोग नगरी कुनै अंशको मात्र प्रयोग गरिएको हुन्छ। त्यो निश्चित विशिष्ट अंशले शरीरमा एन्टी बडी उत्पादन गराउन एन्टी जेनको काम गर्न सक्ने क्षमता राख्छ। कीटाणुको एन्टी जेन भाग मात्र प्रयोग गरिने भएकाले यो पनि सुरक्षित भ्याक्सिनभित्र पर्छ। यसअन्तर्गत हेपाटाइटिस ‘बी’ भ्याक्सिन र लहरे खोकीको गैरकोषीय भ्याक्सिन पर्छ।

५. सम्मिलित खोप : केही ब्याक्टेरियाको एन्टी जेन भागको बाहिरी चिनीजस्तो तत्व (पोलिस्याकराइड्स)ले बनेको हुन्छ जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले ठीक तरिकाले पहिचान गर्न सक्दैन र एन्टी बडी उत्पादन गर्ने क्षमता कमजोर हुन्छ। नवजात शिशुहरूको शरीरले यस्ता ब्याक्टेरियाविरुद्ध एन्टी बडी उत्पादन गर्नै सक्दैन। यस्ता ब्याक्टेरिया विरुद्धको भ्याक्सिन तयार पार्दा उक्त कमजोर एन्टी जेनलाई बलियो प्रभावकारी एन्टी जेनसँग जोडिन्छ जसले एन्टी बडी उत्पादन गर्ने प्रक्रियामा माध्यमको काम गर्छ। र आवश्यक एन्टी बडी उत्पादनमा सहयोग पुर्‍याउँछ। मेनिन्जाइटिस विरुद्धको हिव भ्याक्सिन र निमोनिया विरुद्धको भ्याक्सिन यसअन्तर्गत पर्छन्।

कसरी तयार पारिन्छ भ्याक्सिन ?

भ्याक्सिन उत्पादन चुनौतीपूर्ण र जटिल कार्य हो। बिरामीलाई दिइने अरू औषधिको तुलनामा स्वस्थ ज्यक्तिलाई दिइने भ्याक्सिन तयार गर्दा सुरक्षामा अझ बढी ध्यान दिनुपर्ने हुन्छ। सामान्यतया भ्याक्सिन उत्पादन गर्ने प्रविधिलाई तीन प्रकारमा बाँड्न सकिन्छ-

१. अण्डामा आधारित प्रविधि : ७० वर्षदेखि प्रयोगमा रहेको यो प्रविधिलाई भ्याक्सिन उत्पादन गर्ने परम्परागत प्रविधिको रूपमा लिइन्छ। यसमा रोगजन्य भाइरस वा ब्याक्टेरियालाई निषेचित अण्डामा सुईद्वारा प्रवेश गराई कीटाणुको संख्या वृद्धि गराइन्छ। अण्डाभित्र हुर्केको कीटाणु संकलन गरिन्छ र निष्क्रिय भ्याक्सिनका लागि ताप वा फर्मालिनजस्ता रसायन प्रयोग गरिन्छ।
तत्पश्चात् कीटाणुलाई अत्याधुनिक र सुरक्षित प्रविधि अपनाई प्रशोधन गरिन्छ। हरेक चरणमा निरन्तर रूपमा गुणस्तर परीक्षण गरी बजारमा वितरण गरिन्छ। भ्याक्सिन तयार गर्न लाग्ने लामो समय यस प्रविधिको कमजोर पक्ष हो। लगभग ६ देखि आठ महिनामा मात्र यस्तो प्रक्रियाबाट भ्याक्सिन तयार गर्न सकिन्छ। साथै एउटा अण्डाबाट एक वा दुई मात्राको मात्र भ्याक्सिन उत्पादन गर्न सकिने भएकाले अण्डाको खपत बढी हुन्छ। अण्डाको एलर्जी हुने व्यक्तिमा यस प्रविधिबाट तयार गरिएको भ्याक्सिन लगाउँदा एलर्जी हुने सम्भावना हुन्छ। एमएमआर, रेविज, पहेँलो ज्वरोका भ्याक्सिनहरू यस प्रविधिबाट तयार पारिएका हुन्।

२. कोषमा आधारित प्रविधि : यो प्रविधि तुलनात्मक रूपमा नयाँ हो। यस प्रविधिमा भाइरस वा ब्याक्टेरियालाई स्तनधारी कोषमा वृद्धि र विकास गराइन्छ। पछिल्लो समयमा कीराहरूको कोष पनि प्रयोग गरी भ्याक्सिन बनाउन थलिएको छ। जापानले बनाएको इन्फ्लुएन्जा विरुद्धको भ्याक्सिन यसको उदाहरण हो।
यस प्रविधिबाट तुलनात्मक रूपमा छोटो समयमा भ्याक्सिन तयार गर्न सकिन्छ। तर ठूलो परिमाणमा कोषहरू हुर्काउने प्रविधि निकै महँगो पर्छ र अन्य कीटाणुबाट प्रदूषित हुने सम्भावना बढी हुन्छ। रोटा भाइरस, दादुरा, बिफर, पोलियो, रेबिज खोपहरू यस प्रविधिको आधारमा बनाइएका हुन्छन।

३. पुनर्संयोजित डीएनएमा आधारित प्रविधि : यस प्रविधिमा कुनै रोगविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई एन्टी बडी उत्पादन गर्न प्रेरित गर्न सक्ने भाइरस वा ब्याक्टेरियाको आनुवंशिक तत्व डीएनएलाई जेनेटिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी भेक्टरमा समाहित गरिन्छ। त्यस डीएनएलाई अन्य यिस्ट (मर्चा), स्तनपायी, ब्याक्टेरिया वा बिरुवाको कोषभित्र एन्टी जेनमा रूपान्तरण गराइन्छ। उत्पादन भएको एन्टी जेनलाई तुलनात्मक रूपमा सरल तरिकाबाट प्रशोधन गर्न सकिन्छ। यो प्रविधिमा अण्डामा आधारित प्रविधि र कोषमा आधारित प्रविधिमा जस्तो पूर्ण जीवित भाइरस वा ब्याक्टेरिया प्रयोग नगरिने भएकाले उत्पादन प्रक्रिया निकै सुरक्षित हुन्छ। पछिल्लो समय विकास भएको प्रविधि भए पनि यसको प्रयोगबाट उत्पादित हेपाटाइटिस ‘बी’ भ्याक्सिन बजारमा उपलब्ध भइसकेको छ। यो प्रविधिको सबल पक्ष भनेको छोटो समयमा ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्न सकिने हो। तर कुनै पनि भाइरस वा ब्याक्टेरियाको पूर्ण अणुवंशिक तत्वहरूबाट प्रतिरक्षा प्रणालीलाई प्रेरित गर्नसक्ने क्षमता भएको तत्वको चयन गर्नु निकै चुनौतीपूर्ण हुन्छ।

भ्याक्सिनको विकास र स्वीकृति

भ्याक्सिनको अनुसन्धान र विकास गरिसकेपछि रोगको रोकथाममा त्यसको प्रभावकारिता अध्ययन गरिन्छ। सामान्यत : खोपको अनुसन्धानदेखि बजार विकाससम्म पुग्न यी चरण पार गर्नुपर्ने हुन्छ- १. अन्वेषण चरण, २. पूर्वचिकित्सकीय चरण, ३. चिकित्सकीय परीक्षण चरण, ४. नियामक समीक्षा र अनुमोदन, ५. बृहत् परिमाणमा उत्पादन र ६. गुणस्तर नियन्त्रण।
खोप विकासका लागि पहिलो अन्वेषण चरणमै एकदेखि पाँच वर्ष लाग्छ भने पूर्वचिकित्सकीय र चिकित्सकीय परीक्षणका लागि १५ देखि २० वर्षसम्म लाग्ने गर्छ। तर अहिलेको जस्तो महामारीको समयमा अनुसन्धानकर्ताहरूको लगावका कारण अन्वेषण चरण निकै छोटो समय एकदेखि चार महिनाको बन्न सफल भएको छ। साथै पूर्वचिकित्सकीय चरणलाई पनि छोट्याउन सकिएको छ। पूर्वचिकित्सकीय परीक्षणको पहिलो प्रयासमै अपेक्षित सकारात्मक नतिजा आएमा द्रुतमार्ग प्रक्रियाअन्तर्गत क्लिनिकल परीक्षणको चरण १ र २ समानान्तर रूपमा सञ्चालन गर्न सकिन्छ। यसैगरी चिकित्सकीय परीक्षणको दोस्रो र तेस्रो चरण पनि समानान्तर रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। यति गर्दा पनि यउटा नयाँ भ्याक्सिन बनाउन कम्तीमा पनि एक डेढ वर्ष लाग्छ।

अन्वेषण चरणमा रोग र रोगको कारक तत्व भाइरस वा ब्याक्टेरियाको विषयमा ज्ञान र जानकारीका आधारमा सम्भावित भ्याक्सिनको अध्ययनपश्चात् परियोजना तयार गरिन्छ र प्रयोगशालामा परीक्षण गरिन्छ। भ्याक्सिनमा आवश्यक पदार्थबाहेक अन्य तत्वहरूको मिसावट नभएको प्रमाणित गर्ने आधारहरू तयार गर्न विभिन्न परीक्षण गरिन्छ। यो सबै क्षेत्रमा सन्तोषजनक नतिजा देखिएपछि मात्र अर्को चरणमा जानयोग्य हुन्छ।

कुनै पनि प्रयोगशालामा विकास गरिएको भ्याक्सिनलाई मानिसमा प्रयोगमा ल्याउनुपूर्व चिकित्सकीय अध्ययन अत्यावश्यक पूर्वसर्तको रूपमा लिइन्छ। यस चरणमा प्रयोगशालामा प्रयोग गरिने मुसा र बाँदरजस्ता जनावरमा भ्याक्सिनको प्रभावकारिता र सुरक्षित क्षमता अध्ययन गरिन्छ। मुसाको प्रतिरक्षात्मक प्रणालीले दिइएको भ्याक्सिन पहिचान गरी एन्टी बडी निर्माण गर्न सक्यो भने चिकित्सकीय चरणको पहिलो उपचरण पूरा भएको मानिन्छ।

भ्याक्सिन सफल हुन त्यो भ्याक्सिनको एन्टी जेन एक पटक शरीरमा प्रवेश गरेपछि प्रतिरक्षात्माक प्रणालीले स्मृतिमा राखी भविष्यमा त्यस्तै एन्टी जेन भएको कीटाणुबाट संक्रमण गर्दा द्रुत गतिमा एन्टी बडी उत्पादन गरी शरीरलाई रोगबाट बचाउन सक्नुपर्ने हुन्छ। परीक्षणमा रहेको भ्याक्सिनले शरीरमा त्यस्तो गुण उत्पन्न गर्न सकेको वा नसकेको परीक्षण गर्न भ्याक्सिन लगाएको मुसालाई सम्बधित रोगको भाइरस वा ब्याक्टेरियाबाट संक्रमित गराइन्छ। संक्रमणपश्चात् पनि मुसा स्वस्थ रह्यो र रोगको लक्षण देखिएन भने परीक्षणमा रहेको भ्याक्सिनमा प्रतिरोधात्मक गुण छ भन्ने प्रमाणित हुन्छ। त्यसपछि मात्रै उक्त भ्याक्सिन चिकित्सकीय परीक्षणका लागि योग्य ठहरिन्छ। धेरैजसो अनुसन्धानमा रहेका भ्याक्सिनले शरीरमा एन्टी बडी उत्पादन गर्न सके पनि पुन : संक्रमणको बेलामा सुरक्षा प्रदान गरी रोगबाट बचाउन नसक्दा अनुसन्धान बीचमै टुंगिएका छन्।

पूर्वचिकित्सकीय चरणको सफलतापछि चिकित्सकीय परीक्षण चरणमा जान आवश्यक पर्ने भ्याक्सिन उत्पादन प्रक्रियाको गुणस्तर नियन्त्रण निश्चित गरिन्छ। भ्याक्सिन सुरक्षित बनाउने प्रमाणहरू जुटाइन्छ। विषाक्तताको अध्ययनका आधारमा मानिसका लागि सुरक्षित भ्याक्सिनको मात्रा निर्धारण गरिन्छ।

चिकित्सकीय परीक्षणको पहिलो चरणमा भ्याक्सिनको सुरक्षितपन र प्रभावकारिता परीक्षण स्वस्थ र वयस्क व्यक्तिको थोरै जनसंख्यामा गरिन्छ। लगभग १० व्यक्ति सम्मिलित दुई वा तीनवटा समूहमा परीक्षण सुरु गरी भ्याक्सिन लगाएका मानिसहरूमा एन्टी बडी उत्पादन भएको र अन्य नकारात्मक असारहरू देखिएमा त्यसको पनि अभिलेख राखिन्छ। बिस्तारै मात्रा बढाएर भ्याक्सिनको प्रभावकारिता र सुरक्षितपन तथ्यांकीय रूपमा उल्लेखनीय छ कि छैन भन्ने निक्र्योल गरिन्छ।

चिकित्सकीय परीक्षणको दोस्रो चरणले भ्याक्सिनको सुरक्षितपन, प्रभावकारिता, भ्याक्सिनको मात्रा र तालिकाबारे थप जानकारी प्राप्त गर्ने लक्ष्य राख्छ। यो चरणमा ठूलो जनसंख्या- सयदेखि तीन सय जनामा भ्याक्सिन परीक्षण गरिन्छ। भ्याक्सिनलाई प्रभावकारी बनाउन सहयोगी माध्यम, एड्जुभेन्ट आवश्यक पर्ने वा नपर्ने, पर्ने भएमा कुन एड्जुभेन्ट प्रयोग गर्ने, भ्याक्सिन दोहोर्‍याएर लगाउनुपर्ने वा नपर्ने, भ्याक्सिनलाई शरीरमा प्रवेश गराउने तरिका (खुवाउने वा मांसपेशीमा वा छालाको मुनि वा छालाको तहमा सुई लगाउने वा नाकमा छर्किने) आदि निर्धारण गरिन्छ।
तेस्रो चरणको परीक्षण हजारौँ जनामा गरिन्छ। अघिल्ला चरणमा जस्तै यसमा पनि भ्याक्सिनको सुरक्षितपन र प्रभावकारिताको निर्णय खोप नलगाएको मानिसको अनुपातमा खोप लगाएका मानिसमध्ये कति प्रतिशत रोगबाट सुरक्षित भए भन्ने आधारमा गरिन्छ।

भ्याक्सिन बजारीकरणका लागि दर्ता र अनुमोदन गर्ने प्रक्रियालाई महत्वपूर्ण र अन्तिम निर्णायक चरणको रूपमा लिइन्छ। नियामक निकाय जस्तै- संयुक्त राज्य खाद्य तथा औषधि प्रशासनले भ्याक्सिनको सुरक्षितपन, प्रभावकारिताका साथै भ्याक्सिन उत्पादन गर्ने कारखानाको सुरक्षितपन र गुणस्तर मूल्यांकन र समीक्षाका लागि प्रशासनिक कार्यहरू सम्पादन गर्छ। सुरक्षितपन, प्रभावकारिता र गुणस्तरीयताको सबै मापदण्ड पूरा भयो भने भ्याक्सिन बजारीकरणका लागि अनुमोदन गरिन्छ। यसपछि मात्र ठूलो परिमाणमा भ्याक्सिन उत्पादन सुरु गरिन्छ।
भ्याक्सिनको बजारीकरणपश्चात् पनि यसको प्रयोग र यसले पारेको प्रतिकूल प्रभावहरू र दीर्घकालीन प्रतिरक्षाको निरन्तर निगरानी गरी सूचना र जानकारीहरू संकलन गर्ने कार्य गरिन्छ। यसलाई चिकित्सकीय परीक्षणको चौथो चरणका रूपमा लिइन्छ। भ्याक्सिनको सुरक्षितपन, प्रभावकारिता र गुणस्तर कायम नभएको र प्रयोगकर्तामा नकरात्मक असर देखिएमा भ्याक्सिनमा प्रतिबन्ध लगाउन सकिने प्रावधान छ।

भ्याक्सिन र वनस्पति

प्राचीन समयदेखि मानिसले वनस्पतिलाई स्वस्थ जीवनयापनका लागि प्रयोग गर्दै आएको पाइन्छ। कहिले खानाका रूपमा त कहिले औषधिका रूपमा वनस्पतिको निरन्तर प्रयोग हुँदै आएको छ। पूर्वीय सभ्यताजस्तै नेपाल, भारत, कोरिया, चीनमा विभिन्न रोगको रोकथाम र उपचारका लागि परम्परागत औषधिमा जडीबुटीजन्य वनस्पति प्रयोग गरेको पाइन्छ।
वनस्पतिको जीवनकालमा अनगन्ती जैविक प्रक्रियाबाट विभिन्न किसिमका अणुहरूको निर्माण र विच्छेदन पक्रिया निरन्तर रूपमा चलिरहन्छ। यसरी निर्माण हुने अनगन्ती अणुहरूमध्ये केही अणुले रोग लगाउने भाइरस, ब्याक्टेरिया, ढुसी इत्यादिलाई कमजोर वा निष्क्रिय बनाउन सक्ने, नष्टसमेत गर्न सक्ने, रोगबाट उत्पन्न भएको कठिनाइ र जटिलतालाई सहज बनाउन सक्ने र रोग निको पार्न सक्ने क्षमता राख्छन्। त्यस्ता अणुलाई जैविक सक्रिय अणु भनिन्छ। उदाहरणका लागि, विश्वव्यापी रूपमा क्यान्सर रोगको उपचारका लागि प्रयोग गरिने ट्याक्सोल नेपालको हिमाली क्षेत्रमा पाइने लौठसल्ला जातका वनस्पतिबाट प्रशोधन गरिएको हो। २१औँ शताब्दीको सुरुसम्म पनि विश्व स्वास्थ्य संगठनद्वारा आधारभूत र अत्यावश्यक मानिएका दुई सय ५२ औषधिमध्ये एक सय १५ औषधिका स्रोत फूल फुल्ने बिरुवाहरू थिए।

वनस्पति औषधिको प्रचुर सम्भावना बोकेको स्रोत भए पनि अहिले नेपालका सञ्चारमाध्यममा चर्चा गरिएजस्तो प्राकृतिक रूपमा वनस्पति आफैँले भ्याक्सिन भने बनाउन सक्दैन। भ्याक्सिनमा हुने आधारभूत तत्व एन्टी जेन रोग लाग्ने भाइरस वा ब्याक्टेरियाको आणुवंशिक तत्वबाट निर्माण भएको हुनैपर्ने भएकाले प्राकृतिक रूपमा वनस्पतिले त्यस्तो तत्व निर्माण गर्न सक्छ भन्ने आधार वर्तमान विज्ञानमा स्थापित नभइसकेकाले वनस्पतिबाट प्राकृतिक रूपमा खोप उत्पादन गर्न असम्भव छ। तर माथि उल्लेख गरिएजस्तै जेनेटिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी पुनर्संयोजित भ्याक्सिन उत्पादन गर्न बिरुवाको कोष वा जीवित पूर्ण वनस्पति प्रयोग गर्न सकिन्छ। यसका लागि प्रयोग गरिने वनस्पतिमा औषधिको गुण हुन आवश्यक हुँदैन।
जसरी फलाम प्रयोग गरी मोटरको पार्टपुर्जा बनाउने कारखाना केवल कारखाना मात्रै हो, फलामखानी होइन। त्यसरी नै पुनर्संयोजित डीएनए प्रविधि प्रयोग गरी वनस्पतिमा भ्याक्सिन बनाउन सकिने भए पनि बिरुवा भ्याक्सिनको स्रोत भने होइन। यसकारण वनस्पति भ्याक्सिनको कारखाना मात्र हुन सक्छ। स्मरण रहोस्, वनस्पतिजन्य पदार्थले भ्याक्सिनको प्रभावकारिता बढाउने माध्यमको काम गर्न सक्ने तथ्य भने अनुसन्धानबाट पत्ता लागिसकेको छ।

अनुसन्धान र विकासको क्रममा रहेको यो प्रविधिबाट उत्पादन भएका भ्याक्सिन बजारमा उपलब्ध भइनसके पनि विभिन्न रोगका भ्याक्सिनहरू चिकित्सकीय परीक्षणको विभिन्न चरणमा छन्। त्यसैले निकट भविष्यमा मानिसमा प्रयोग हुने विश्वास गर्न सकिन्छ। तर यो प्रविधि प्रयोग गरी उत्पादित गौचर रोगको औषधि ‘टेलिग्लुसेरेज अल्फा’ बजारमा उपलब्ध छ।

(जीवविज्ञानमा विद्यावारिधि गरेकी पुनमाया महर्जन ‘जी फ्ल्यास लाइफ साइन्सेज’मा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत छिन्। अहिले उनी दक्षिण कोरियामा भइरहेको ‘कोभिड-१९’ भ्याक्सिनको अनुसन्धान र विकासमा संलग्न छिन्।)
source:Annapurna Post

प्रतिकृया दिनुहोस्