Thursday, September 24

म्याग्दी पहिरो : ३ वटा शव भेटियाे, अझै ३४ जना बेपत्ता (अपडेट)

July 10, 2020 115

म्याग्दी, २६ असार । म्याग्दीमा आएको पहिरोमा परि तीनको मृत्यु भएको छ भने ३४ जना वेपत्ता भएका छन् । करिब २ सय ६० जनालाई पहिरो आसपासबाट हटाउँदै लगातार सुरक्षित स्थानमा सारिएको छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–वनावटका कारण दुई दिनको अविरल वर्षाले म्याग्दीमा पहिरोले ठूलो क्षति गरेको हो ।

शुक्रबार बिहान सुतिरहेको अवस्थामा बस्ती माथिबाट ढिस्को खसेपछि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा बस्ती माथिबाट खसेको पहिरोले २१ जना र छिमेकी मालिका गापा–७ बिमका गरी जम्मा ३४ जना बेपत्ता भएका हुन् ।

विगतमा सामान्य पहिरोको जोखिम समेत नभएको स्थानम एक्कासी पहिरोले वितण्डा मच्चाउँदा ठूलो जनधनको क्षती भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । पहिरोमा परेका मध्ये मराङ कल्लेनी र आसपासका क्षेत्रमा एकजनाको शब भेटिएपनि पहिचान हुन नसकेको छैन् । पहिरोस्थलमा पुग्ने सबै पदैलमार्गहरू खोलाले बगाएकाले आसपासका क्षेत्रबाट समेत उद्धारमा खटिने सम्भावना छैन् ।

बाढीपहिरोले पश्चिम म्याग्दीमा मात्रै करिब २ सय ६० जनालाई सुरक्षित स्थानमा लैजानुपर्ने देखिएको उहाँले बताउनुभयो । पहिरोस्थल आसपासको जमिन समेत चर्किएको अवस्थामा थप मानवीय क्षतीको जोखिमलाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तर गर्ने तयारी भइरहेको छ ।

पहिरोमा ७ जना घाईते भएका छन् । प्रतिकुल मौसमका कारण पोखरा र काठमाडौंबाट हेलिकप्टरबाट उद्धारको प्रयास गरिएपनि दिउँसोमात्रै घटनास्थलमा पुगेको थियो । पहिरोमा पुरिएका अधिकांस एकै घरका छन् । बेपत्ता मध्ये मराङको कल्लेनीमा दुई शव भेटिएपनि पहिचानमा समस्या भएको छ । कल्लेनीमा एकै परिवारका आमा जालिमा केसी्र र छोरा प्रकाश सहित सविन पुन बेपत्ता भएका थिए । पश्चिम म्याग्दीमा ठाडो खोलाले सधै बितण्डा मच्चाउने गरेको छ ।

यसैबीच उत्तरी म्याग्दी ँहुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्ड अन्तरगत बेनपा–९ र रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने बेलिब्रिज समेत राहुघाट नदीको कटानले क्षती पुगेको छ । पुल भत्किएपछि बेनी–जोमसोम सिधा सम्पर्क विच्छेद भएको छ । जिल्लाको विभिन्न स्थानमा ठाडोखोलामा फसेका चारजनाई उद्धार गरिएको छ भने एक महिला बेपत्ता र एक पुरुषको ज्यान गएको छ ।

रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठ जादै गरेका ५० बर्षीय ललिमान पुराने छन्त्याललाई विहान खोलाले बगाएर मृत्यु भएको छ भने मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको दुखु खोला तर्ने क्रममा स्थानीय ४१ बर्षिया गिता रोकालाई खोलामा बेपत्ता भएको स्थानीयले बताएका छन् ।

बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा एक्कासी पानीको बाहब बढेपछि खोलामा फसेका मंगला गाउँपालिका–३ पखेरका २४ बर्षिय दल बहादुर घर्ती र ४८ बर्षका सुर्य थापा खोलामा फसेपछि नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

प्रारम्भीक तथ्याङ्क मात्रै भएकाले जिल्लाभर करिब ५० भन्दा धेरै घरधुरीमा असर गरेको अनुमान गरिएको छ । यसैबीच सदरमुकमा बेनी आसपासका क्षेत्रमा वितरण गरिने पानीको पाइपमा पहिरोले असर गरेपछि आपूर्ती बन्द भएको छ ।
source:news24 Nepal

प्रतिकृया दिनुहोस्