Sunday, September 27

गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल

July 10, 2020 217

काठमाडौं, २६ असार । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए ।

शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताउनुभयो । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भन्नुभयो, ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’

त्यस्तै, उहाँले आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसकिने बताउनुभयो । अधिकारीले सरकारलाई सार्वजनिक यातायातको राष्ट्रियकरण गर्न भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् ।’ राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मूल्य पाउनुपर्ने बताउनुभयो ।

सरकारले आफूहरुलाई कर्जा एक वर्षपछि तिर्न मिल्ने बनाउनभन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उहाँको आरोप थियो । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको बताउनुभयो ।

निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताउनुभयो ।

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताउनुभयो । यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गर्नुभयो ।

कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीय निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ती जनाउनुभयो । उहाँले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराउनुभयो ।

महासंघका महासचिव नेपालले पाँच बुँदे मागबारे जानकारी गराउनुभएको थियो । जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार याताया मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले यातायात व्यवसायी ठूलो मारमा परेको बताउनुभयो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्