Friday, October 30

गोल्डस्टारद्वारा नेपालमै पीपीई र मास्क उत्पादन, ६ हजार पिस मास्क सहयोग

July 9, 2020 127

काठमाडौं : नेपालको चर्चित जुत्ता गोल्डस्टार उत्पादन कम्पनीले नेपालमै पीपीई र मास्कको उत्पादन सुरू गरेको छ । गोल्डस्टारले विश्वव्यापि महामारी कोभिड १९ नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको पीपीई र मास्क उत्पादन सुरु गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार पीपीई र मास्क उत्पादन भइरहेको कम्पनीका बजार प्रवन्धक इरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार चिकित्सकका लागि सर्जिकल मास्कका साथै एन ९५ मास्क कम्पनीले उत्पादन गरिरहेको छ । मल्टिगार्ड टेक कम्पनी अन्तर्गत विक्री भइरहेको गोल्डस्टारले जानकारी दिएको छ ।

मल्टिगार्डले पीपीई उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)बाट प्रमाणीकरण गरी उत्पादन सुचारू गरेको छ । “विश्वस्तरीय पीपीई निर्माणका लागि थुप्रै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । उत्पादनमा प्रयोग हुने सामग्रीमा नाक, मुखबाट निस्किने सानासाना कणसम्मलाई रोक्न सक्ने क्षमता हुनैपर्छ । हामीले ती सम्पूर्ण मापदण्डहरूलाई आत्मसात गरेका छौँ,’ कम्पनी प्रमुख विदुषी राणाले भनिन्, ‘कोरोना रोकथामका लागि अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीईको अभाव नहोस् भनेर हामीले प्रतिकुल परिस्थितिमा पनि गुणस्तरीय उत्पादन सुरु गरेका हौं ।’

उनले नेपालमै गुणस्तरीय पीपीई र मास्क उत्पादन भएपछि बजारमा हुने अभावलाई पूर्ती गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । कारखाना भित्र पनि सामाजिक दूरी र सुरक्षाको मापदण्ड पूरा गरी उत्पादन गरिएका यी सामग्रीहरूको निर्माणमा ५० जना महिला कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

यसैबीच कम्पनीले देशभरका विभिन्न अस्पतालालाई पीपीईसहित ६ हजार मास्क वितरण गरेको छ । बिहीबार कम्पनीले ललितपुरको लगनखेलस्थित पाटन अस्पताललाई ४०० पिस मास्क उपलब्ध गराएको छ । यसअघि कम्पनीले पाँच हजार पिस मेरो मास्क चिकित्सक भगवान कोइरालामार्फत् देशका विभिन्न अस्पतालमा सहयोग गरेको छ । त्यस्तै १०० पिस मास्क नेसनल क्यान्सर अस्पताल र १०२ पिस नेपाल एम्बुलेन्स सेवालाई उपलब्ध गराइएको कम्पनीका बजार प्रवन्धक श्रेष्ठले जानकारी दिए ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्