Sunday, October 25

भारतीय मिडियाबारे नेपालको चासो : ‘राजनीतिक र कानूनी उपचार खोजिनेछ’

July 9, 2020 131

काठमाडौँ : भारतीय सञ्चारमाध्यमले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे पछिल्ला दिनमा सम्प्रेषण गरेका समाचार तथा टिप्पणीबारे नेपाल सरकारले पनि चासो देखाएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेख्दै भारतीय मिडियाबारे खेद प्रकट गरेका छन् । थापाले भारतीय मिडियाले पत्रकारिता नगरेर ‘अरु थोक मात्र’ गरिरहेको टिप्पणी गरेका छन् । साथै गलत, भ्रामक र मर्यादाहीन सम्प्रेषण गरेको भन्दै थापाले भारतीय मिडियाको विरोध जनाएका छन् ।

उनले लेखेका छन्, ‘कतिपय भारतीय संचार माध्यमहरुले केही दिनयता गरिरहेको गलत, भ्रामक र मर्यादानि सम्प्रेषणको अभिष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिता वाहेक अरुथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैनन् । बरु जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ ।’

बिहीबार थापाले यस्तो टिप्पणी गरेका हुन् । सञ्चार मन्त्रालय सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले पनि भारतीय मिडियाको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानूनी र राजनीतिक उपचार खोजिने प्रतिक्रिया दिएका छन् । उनले भारतीय मिडियाको अभ्यासप्रति सरकारले भत्र्सना गर्ने पनि बताएका थिए ।

बिहीबार मन्त्री खतिवडाले सरकारका निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा भारतीय मिडिया विरद्ध कानूनी उपचार खोजिने बताएका हुन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि नै भारतका मूलधारका मिडियाले समेत केपी ओली नेतृत्वको सरकारमाथि टिप्पणी गर्न थालेका छन् ।

पछिल्लो समय चिनियाँ राजदूतले नेपालका प्रधानमन्त्री लगायत नेताहरुसँगको भेटको प्रसंगलाई पनि भारतका केही मिडियाले अतिरञ्जित तरिकाले समाचार सम्प्रेषण गरिरहेका छन् । काठमाडौँमा भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भारतका त्यस्ता मिडियाको गतिविधिप्रति व्यंग्य र रोष प्रकट गर्न थालेका छन् ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्