Wednesday, October 28

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा दोस्रो पटक लकडाउन लागू

July 9, 2020 101

एजेन्सी, २५ असार । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा कोरोना संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै दोस्रो पटक लकडाउन गरिएको छ।

नयाँ आदेश अन्तर्गत करिव ५० लाख मेलबर्न बासिन्दाहरूलाई घरबाट बाहिर निस्कन नदिइने भएको छ । तर उनीहरूलाई आवश्यक सेवाका लागि भने घर बाहिर आउने अनुमति दिइने जनाइएको छ ।

स्थानीय प्रहरीका अनुसार शहरको वरिपरि घेरा लगाईएको छ, जसमा विभिन्न चौकीहरू पनि बनाइएको छ। अन्य राज्यहरूसँग भिक्टोरियाको सीमा मंगलबार बन्द गरिएको छ।

मेलबर्न भिक्टोरियाको राजधानी हो। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिशनले बुधवार मेलबोर्नवासीहरूलाई भने, ‘तपाईहरु अहिले कस्तो चीज सहन गर्दै हुनुहुन्छ त्यसको मूल्य सम्पूर्ण देशलाई थाहा छ , तपाईं यो आफैंमा र तपाईंको परिवारको लागि मात्र होइन तर सम्पूर्ण अष्ट्रेलिया समुदायको लागि लकडाउन सहनु पर्ने भएको छ । ’

भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयूजले मंगलबार मेलबर्नमा लकबन्दीको घोषणा गरेका थिए । शहरमा मंगलबार कोरोना संक्रमणको रेकर्ड १ सय ९१ थियो । बुधवार, मेलबर्नमा कोरोना संक्रमणको १ सय ३४ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ।

अष्ट्रेलियाका अन्य शहरहरूको तुलनामा यो धेरै हो। अस्ट्रेलियामा हालसम्म ९ हजार भन्दा बढी कोरोना संक्रमणको रिपोर्ट भइसकेको छ भने संक्रमणको कारण १ सय ६ जना मानिसले ज्यान गुमाएका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्