Sunday, September 27

नेपालको नयाँ नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट

July 9, 2020 206

ग्रिक दार्शनिक एरिस्टोटलले मानिस सामाजिक प्राणी हो र समाजदेखि पर रहन सक्ने व्यक्ति ईश्वर अथवा पशु हुनुपर्छ भनेका छन् ।

हाम्रो समाजमा जान्नेको कमी छैन । समाजमा सुन्नेको पनि छैन । र, समाजमा बुझ्नेको पनि कमी छैन । हरेक व्यक्ति आफू र आफ्ना लागि प्रचुर र पर्याप्त छ । कसैले कसैलाई जान्दैन र कसैले कसैलाई मान्दैन । जाने पनि नजाने पनि जान्ने बन्नु परेको छ । ठूलो देखिनु परेको छ । जानेकालाई होच्याएर, खसाएर र गिराएर वा पछारेर किन नहोस आफू माथि देखिनु परेको छ । आफूले कति जानेको छ त्यो कुरा त आफैलाई थाहा होला, तर अर्काको दोहोलो काड्नु परेको छ ।

ज्ञान लिँदा लाज हुने, ज्ञान दिँदा अर्ति नपुग्ने । त्यसपछि के गर्ने ? कसैलाई आफूभन्दा महान भन्न र गन्न मन पर्दैन । अनि के गर्ने ? आज यसैको कारण राम्रो कुरा सबैलाई नपच्ने भयो । नराम्रो कुरा त त्यो कानुनसम्मत र आधिकारिक नै भएन ।

हामी समाज सभ्य र भव्य हुनुपर्छ भन्छौं । कसैले कसैलाई नटेरेर, कसैले कसैलाई सम्मान नगरेर आफुमात्र सर्वेसर्वा मानेर समाज सभ्य र भव्य बन्छ त ? समाजमा हरेकलाई आफ्ना कुरा सुनाउन हतार छ । तर, अर्काको कुरा सुन्न फुर्सद नै छैन । हरेकलाई आफ्नो पोल्टामा बाजी मार्न हतार छ । मानिस माया त्यागेर घृणित बन्दैछ । दया त्यागेर निर्दयी बन्दैछ ।

मानिस करुणा त्यागेर पाषण बन्दैछ । मानिस अहिंसा त्यागेर हिंस्रक बन्दैछ । मानिसहरु आ–आफ्नो व्याक्तिगत स्वार्थ, झगडा, लोभ, क्रोध, असहिष्णुता, साम्प्रदायीकता, भाषागत विभेद, वर्ग विभेद जस्ता सांगुरो सोचबाट गुज्रिरहेको छ । यस्तो सोचबाट ग्रसित हाम्रो समाजलाई सकारात्मक रुपान्तरण गर्नु एउटा चुनौतीपुर्ण बिषय बनेको छ ।

अर्कोतर्फ शिक्षा अत्यन्तै महंगो छ । शिक्षामा गरेको लगानी उठाउन सबैजना पैसाको पछाडि दौडिएका छन । जोसँग पैसा छ उसँग मात्र सबथोक छ, उसलेमात्र आफ्ना आवश्यक्ताहरु पूरा गर्ने सामथ्र्य राख्छ । परिश्रम गर्ने, उत्पादन गर्नेले भन्दा बिचौलियाले धेरै पैसा कमाउँछ ।

हिजो सबथोक अभाव हुँदा मानिस स्वस्थ, खुशी, सुखी, शान्त र दिर्घायु हुने तर आज सर्वसम्पन्न हुँदाहुँदै पनि दुखी, चिन्तित, आक्रान्त, अशान्त, भयभित, अस्वस्थ, अल्पायु किन हुने ?

हिजो मानिस अभावमा पनि सोच, चिन्तन, मनन, र विचारमा निकै धैर्यवान र सकारात्मक थियो । जसले गर्दा अप्ठ्यारालाई सरलतामा परिवर्तन गर्ने शक्ति प्राप्त हुन्थ्यो । तर, आज त्यो छैन । सबै कुरा हुँदाहुँदै पनि मानिसमा धैर्यता छैन । संयमता छैन । शान्त र चित्त एकाग्र छैन, सन्तुष्टि छैन । अर्थात कुनै पक्षमा सकारात्मक भाव र सकारात्मक उर्जा नै छैन । जसको कारण आज निकै भयावहको स्थितिमा छ मान्छे । सम्पन्नताका अगाडि मानिस दुखित हुनु भनेको डरलाग्दो अवस्था हो ।

मानिस सुखी भएर पनि खुसी हुन कठिन मान्दैछ । समृद्धिले पनि शान्ति र आनन्द लिन सकेको छैन । यसका साथै आजको मान्छे दीनहीन, रुग्ण, फोहोरी र अश्लील बन्दै गएको छ । उसमा व्यक्तिवादी चरीत्र र भोगवादी प्रवृति निकै बढेको छ । पारिवारिक बिखण्डन बढेको छ । दया, प्रेम, क्षमा, सेवाजस्ता भावनामा ठूलो ह्रास आएको छ । समाज समाज जस्तो छैन । मानव दानव हुँदैछ । यसबाट आउने नतिजा भयावह हुन सक्छ । तसर्थ, हरेकले मानवीय भावनालाई मनन गर्न जरुरी छ । राज्य सञ्चालनको जिम्मेवार निकायको भुमिका यसमा प्रभावकारी बन्नु जरुरी छ ।

आज हामी त्यही समाजको एक अंगका रुपमा बाँचिरहँदा समाज कता जाँदैछ भन्ने चिन्तामा छौं । हाम्रो समाज कस्तो अवस्थामा छ ? समाजको मनोविज्ञान के छ ? यावत कुरामा मानिस कतै न कतैबाट जोडिएकै छ । चाहे त्यो एक अभिभावकलाई आफ्ना सन्ततीको भविष्यको चिन्ताले सताएको विषय होस् वा कुनै नवदम्पतीको सम्बन्धविच्छेदको घटना होस् ।

जन्म दिने बाबुआमालाई वृद्धाआश्रममा छोडेर जाने सन्तानले समयको महत्वको अतिरञ्जना गराएका विषय हाम्रो समाजमा अब नौला रहेनन् । सुकरातले भनेझैं शिक्षाबाट ज्ञानको मार्ग त खुल्छ, तर समाज निश्चित सर्वव्यापी मूल्य र सिद्धान्तबाट निर्देशित हुन्छ । त्यतिमात्रै नभएर त्यहाँं समाजिक तथा सांस्कृतिक प्रथाहरुले भुमिका खेलिरहेका हुन्छन् ।

यहाँनेर एउटा प्रश्न खडा हुन्छ, के वृद्धाश्रममा आमाबाबु छाड्ने सन्तानले शिक्षा पाएका थिएनन् त ? यसको जवाफ हामी हाम्रै समाजमा भेट्न सक्छौं ।

हामी हाम्रो दैनिक जीवनलाई कति सहज र व्यवस्थितरुपमा बिताउँदै छौं भन्ने विषयले मानिसको जीवनचर्यामा फरक ल्याउने गर्छ ।

सामान्यतया आफ्नो कमाइको तुलनामा बढी खर्च गर्ने अनुपात हाम्रो समाजमा बढ्दै गएको छ । हामीले हाम्रो समाज कता जाँदैछ भनेर ध्यान दियौं भने हाम्रो समाजमा आपसी सम्बन्धमा दरार पैदा गर्ने घटना बढेका समाचार सुन्छौं । सुन्ने मात्र होइन, प्रत्यक्ष ती घटनाको साक्षी हुन्छांै, शिकार बन्छौं । अझ कतिपय अवस्थामा पीडक र पीडितको भुमिकामा आफंैलाई पाउँछौं ।

छिट्टै धन आर्जन गर्न र उपलब्ध सुख सुविधा भोग गर्न सबैजना लालायित हुन्छन् । हामीले आफ्नो आर्थिक अवस्थामा चित्त बुझाउन नसक्दा समाजमा आफूलाई अलग पाउँछांै अनि आफूले पाएको शिक्षा, संस्कारलाई भत्काउँदै सफलताका नाममा जे गर्न पनि उद्दत्त हुन्छौं । तर, सफलता केलाई मान्ने भन्ने विषय हाम्रो मष्तिस्क भन्दा बाहिर जान्छ ।

आज सबै वर्गसँग एकखाले भोक प्यास र शक्तिमोहले संकट चुलिँदै छ । आज हामी २१ औं शताव्दीमा हाम्रो समाजको अवस्थालाई सहजरुपमा चित्रण गर्न सकिरहेका छैनौं । हामी हाम्रो समाज, संस्कृति, चिन्तन र व्यवहारमा भएको असमान्जस्यताबीच बाँचिरहेका छौं । अझै भनौं, समाजमा एक आपसको विरोधी वर्गका बीच द्वन्द्वात्मक अवस्थाबाट गुज्रिरहेका छौं ।

दिनहुँ पारिवारिक हिंसा र हत्याका घटनाले आफ्नो अर्को छुट्टाउन नसकिने अवस्था सिर्जना भएको छ । अहिले मानिसलाई जंगली जनावरबाट भन्दा आफ्नैबाट बच्न मुश्किल परेको छ । मानवता हराएको आभास हुन थालेको छ ।

हाम्रो समाज आवश्यकताभन्दा अधीक सिको र हरेक विषयको नकारात्मक मानसिकताले विकृत बन्दै गइरहेको छ । समाजमा एक व्याक्तिबाट अर्कोलाई, एक परिवारबाट अर्को परिवारलाई गरिने सरसहयोग हराउँदै गएको छ । समाज दिनानुदिन स्वार्थ बन्दै गइरहेको छ । समाजमा परोपकारी भावनाको अभाव खड्किन थालेको छ ।

अविकसित समाजले देश बिगार्छ । त्यसैले कुनै पनि व्यक्ति बन्न, समाज बन्न, वा सिंगो मुलुक बन्न राम्रो र सकारात्मक कुरालाई स्वीकार्नु पर्छ र ग्रहण गर्नुपर्छ । सकारात्मक उर्जाविना कुनै पनि कुरा सफल हुन सक्दैन । सकारात्मक सोच, विचार र उर्जामा शक्ति हुन्छ भन्ने कुराको पनि नितान्त ज्ञान हुनु जरुरी छ ।

समाजमा बौद्धिक विकासको आवश्यकता छ । बौद्धिक विकास भनेको शिक्षा मात्र होइन, मानवता सद्भाव र मन–मष्तिस्कको विकास पनि हो ।

समाज कस्तो हुनुपर्छ ?

समाज मानिसले सहज जीवनयापन गर्न सकोस् भन्ने हेतुले निर्माण भएको हो । मानिसले आफ्नै ईच्छा वा चाहनाले समाजलाई परिवर्तन गर्न सक्छ । यसरी हेर्दा समाज मानवीय सम्बन्धहरुको त्यो संगठन हो, जुन मानवद्वारा निर्मित, सञ्चालित तथा सदा परिवर्तित गर्न सकिने हुन्छ ।

यहाँको विद्यमान समस्या हरेक कुरामा राजनीतिकरण अनि त्यसमा मिसिएको अपराधीकरण हो । सामाजिक द्वन्द्वका सुचकांक हाम्रा लागि हानीकारक हुन् । लामो मानव इतिहासले सिद्ध गरेको वास्तविकता के हो भने विकास र विनास एकनासले अगाडि बढेको हुन्छ । केही सिर्जनाका छालहरुसँगै केही विनासका धब्बाहरु देखिन्छन् नै । आधुनिकताका नाममा हुने गरेको सामाजिक विकृति र विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ ।

मानिस सामाजिक प्राणी हो । उसका लागि समाज चाहिन्छ । तर, समाज कस्तो छ र समाज कतातिर जाँदैछ भन्ने थाहा नै छैन । समाज बनाउने व्यक्तिले हो । तर, यही व्यक्तिलाई थाहा छैन कि समाज कसरी बनाउने ? समाज बनाउने खास तरिका भए पनि उसले त्यो तरिका समाजमा प्रस्तुत गर्न सक्दैन । प्रस्तुत गर्ने हिम्मत गरिहाल्यो भने पनि उसको आदर्श सुन्ने चासो र फुर्सद कसैलाई हुँदैन ।

हामीले सभ्य समाजको परिकल्पना गर्नुपर्छ । समाजलाई परिवर्तनको बाटोमा डोर्‍याउन सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।

अब हामीले राम्रोसँग मनन गर्नुपर्ने कुरा के छ भने अहिलेसम्म हामीले सामाजिक परिस्थितिलाई बदलेर समाज परिवर्तन गर्न खोज्यौं । तर, अब व्यक्तिगत मनस्थितिलाई बदलेर सामाजिक बनावटको परिवर्तनतिर लाग्नुपर्छ ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्