Tuesday, October 20

परम्परागत राडीपाखी र अल्लो उद्याेग संकटमा

July 9, 2020 125

भोजपुर, २५ असार । भोजपुरमा बुनिने राडीपाखी तथा अल्लो उद्याेग संकटमा परेका छन् । पछिल्लो समय व्यवसायप्रतिको चासो घट्दै जानु, कच्चा पदार्थ तथा उत्पादित वस्तुको बजारीकरण हुन नसक्नुले घरेलु उद्याेगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

कच्चा पदार्थको अभाव तथा उत्पादित वस्तुको बजारीकरण नहुँदा भेडाको ऊन तथा अल्लोबाट बुनिने वस्तुहरूको उत्पादन बन्द हुन थालेका हुन् । गाउँमै ऊनबाट उत्पादित राडी, लुकुनि तथा अल्लोका कपडाले बजार नपाउँदा व्यवसायप्रति स्थानीयको चासो समेत घट्दै गएको छ ।

जिल्लाको उत्तरी साल्पाशिलिछो गाउँपालिका- ५ दोभानेकी जलवती राईका अनुसार भेडाको ऊन तथा अल्लोबाट बुनिने सामानहरू पुरानो तरीकाबाट बनाइने र बुनिएका वस्तुहरुको बजारको समस्यालाई स्थानीय निकायले विकसित प्रविधि र बजारको व्यवस्थापन गरेमा महिलाहरु यस व्यवसाय बाट आत्मानिर्भर बन्न सहज हुनेछ । उनी भन्छिन्, ‘ऊन र गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरु निर्माण गर्ने गर्थ्यौ । तर गाउँमा बजार नभएपछि थन्काएर राख्नुपर्ने बाध्यताले यसप्रति चासो घट्दै गएको छ ।’

यस्ता ऊन तथा अल्लोका घरेलु उद्योगहरु बन्द हुने क्रमले स्थानीय भेडापालक तथा अल्लो काढ्ने किसानहरुको समेत पेशा धराशायी हुन थालेकाे छ । पेशा संकटमा परेको सुनाउँदै टेम्केमैयूम गाउँपालिका- १ तिम्माका भेडापालक सन्तोष कठेत भन्छन्, ‘पहिले राडीपाखी बनाउन ऊन लानेको माग पूरा गर्न धौ-धौ पर्थ्याे । तर हिजोआज खेर गैरहेको छ । जसका कारण भेडा व्यवसायबाट सोचेअनुरुपको आम्दानी हुन छाडेको छ ।’

उद्योग वाणिज्य संघ भोजपुरका महासचिव नवीन प्रधानका अनुसार स्थानीय उत्पादनलाई प्रवर्धन गर्नका लागि उद्योग वाणिज्य सघंले कोशेली घरको स्थापना गरेको छ । पछिल्लो समय विभिन्न कम्पनिबाट आयातित कपडाहरु सस्तो, आकर्षक भएकाले स्थानीय उत्पादन लोप हुँदै गएको उनको ठहर छ ।

घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले भने अल्लो तथा राडीपाखी उद्योगलाई सामुहिक उद्योगको रुपमा विकास गर्ने योजना रहेको बताएको छ ।

राडीपाखी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्ने, तालिम दिने योजना बनाईएको समितिका प्रमुख चेतननाथ गौत्तमले बताए । उनका अनुसार षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको अल्लो तथा राडीपाखी व्यवसायीलाई तालिम र आवश्यक औजारहरु वितरण गरिने तयारी भईरहेको छ । यसका साथै सदरमुकाम र विभिन्न जिल्लाका बजारहरुमा कोशेली घरको स्थापना गरी यसको बजारीकरण समेत विस्तार गरेर लैजाने उनले बताए ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्