Wednesday, September 30

गाडीका पार्टपूर्जामा खिया लाग्याे, यातायातकर्मीको अवस्था नाजुक बन्दै

July 9, 2020 123

दाङ, २५ असार । दाङका यातायात व्यवसायीहरूले सवारी साधनमा खिया लाग्दा जीवन धान्न नै गाह्राे हुन थालेकाे बताएका छन् ।

चैत ११ गतेदेखि लागु भएको लकडाउनका कारण सार्वजनिक सवारीसाधन जहाँ पार्किङ गरिएको हो, त्यही खिया लागेकाे उनीहरूले बताएका छन् । ३ महिनाभन्दा बढी नचलाएका सवारीसाधनको ईन्जिन त खिया लागेर बर्बाद भए, ती साधनमा आबद्ध कम्तिमा ५ हजार जना मजदुरका परिवारको अवस्था समेत कमजाेर बन्दै गइरहेको छ ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै बजारलगायत सरकारी कार्यालयहरू खुलेको भए तापनि अझै यातायातका सवारी साधन सञ्चालन भएका छैनन् । दाङका ७ सयबढी सार्वजनिक सवारी साधन विभिन्न प्रालिहरुमा आबद्ध छन् । बन्दाबन्दीको कारणले घरमै थन्किँदा खिया लागेको गुनासो गरिरहेका यातायात व्यवसायीहरुले राज्यले आफूहरुका लागि केही गर्न नसकेको बताए छन् ।

तुलसीपुरका यातायात व्यवसायी युवराज शर्माले लकडाउनले यातायात क्षेत्रमा धेरै प्रभाव पारेको बताउनुभयो । उहाँले गाडीहरु थन्काएर राखेको करिब ४ महिना हुँदा गाडीका पार्ट-पुर्जा कामै नलाग्ने अवस्थामा पुगेको बताउनुभयो । अब ती गाडीहरु सञ्चालन गर्नको लागि करिब २ लाखसम्म खर्च गरेर चलाउनुपर्ने अवस्था भएको समेत उहाँले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरका अध्यक्ष केशव बहादुर भण्डारीले आफूहरुलाई राज्यले नहेरेको बताउनुभयो ।
उहाँले करिब ४ महिनासम्म गाडीहरू सञ्चालन नहुँदा मजदुरहरूको अवस्था दयनीय भएको पनि बताउनुभयो । मजदुरहरु यातायात सञ्चालन नहुँदा रोगभन्दा पनि भोकसँग डराएको उहाँले बताउनुभयो ।

दाङमा करिब ४५ सय यातायात मजदुरहरु रहेको र तीमध्ये ५ सयजति आफ्नो घर गएका छन् । बाँकी सबै कोठा भाडामा बस्ने भएकाले उनीहरुलाई राज्यले नहेरेको उहाँले गुनासो गर्नुभयो ।

यातायातकर्मीहरुको आर्थिक अवस्था जटिल बन्दै गइरहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो । त्यसकारण सरकारले यो वर्गको अवस्थालाई ध्यान दिनुपर्ने हमालकाे माग छ ।

लकडाउनका कारण गाडीहरु सञ्चालन नहुँदा ब्यवसायीहरुले मार खेपिरहेको बेला अहिले बैंकहरुले गाडीको किस्ता तिर्न समेत ताकेता गरिरहेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताउनुभयो । उहाँले व्यवसायीहरुले गुजारा चलाउन धौधाै भएको बेला बैंकले किस्ता तिर्न बारम्बार फोन गर्दा झन समस्यामा परेको गुनासाे गर्नुभयाे ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्