Thursday, December 3

क्वारेन्टाइनमै कोरोना भाइरस संक्रमण

July 9, 2020 190

दाङ, बैतडी : दाङको घोराही उपमहानगरपालिका–४ को मावि गोग्ली क्वारेन्टाइनमा रहेका १ सय १६ जना मध्ये ६१ जनामा कोरोना संक्रमण देखियो। यो क्वारेन्टाइनमा बसेको संख्याको झन्डै ५२ प्रतिशत बढी हो। संक्रमित सबै भारतबाट आएका हुन्।

घोराही उपमहानगरपालिकाले नै सञ्चालन गरेको वडा नं १ को हर्नोक मावि क्वारेन्टाइनमा ७४ जना बसेका थिए। त्यसमा २९ जनामा कोरोना संक्रमण देखियो। उपमहानगरपालिका वडा नं १७ हरिद्वार प्राविको क्वारेन्टाइनमा बसेका १४ मध्ये ८ जनामा कोरोना पोजेटिभ देखियो।

बंगलाचुली गाँउपालिका– ६ को झुलनेटामा क्वारेन्टाइन बसेका ६५ जनामध्ये ४५ जनामा कोरोना संक्रमण भयो। त्यस्तै, बंगलाचुली–२ को कालिका प्रावि बढीपोखरा र नमुना मावि बढीपोखराको क्वारेन्टाइनमा ७६ जना बसेका मध्ये ४३ जनामा कोरोना संक्रमण देखियो।

जिल्लामा क्वारेन्टाइनको अवस्था र संक्रमणलाई हेर्दा क्वारेन्टाइन नै संक्रमण फैलाउने केन्द्र देखिएका छन्। क्वारेन्टाइन नै संक्रमणको केन्द्र देखिएका छन्। मापदण्डअनुरूप सञ्चालन नहुँदा एकबाट अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको हो। क्वारेन्टाइनको अवस्था अहिले पनि उस्तै छ।

घोराही उपमहानगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विकेश रेग्मीले क्वारेन्टाइन व्यवस्थापनमा कतै समस्या भएको बताए। उनले सही व्यवस्थापन भएको क्षेत्रमा संक्रमण कम देखिएको र अन्य ठाउँमा तुलनागत रूपमा संक्रमण बढी देखिएको बताए। घोराहीमा मात्रै २ सय ५४ जना संक्रमित फेला परेका छन् भने बंगलाचुलीमा १ सय ५९ जना संक्रमित फेला परेका छन्।

भद्रगोल क्वारेन्टाइन

दाङका पालिकामा सञ्चालन भएको क्वारेन्टाइन भद्रगोल रहेका छन्। दंगीशरण गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राति सर्प देखिन थालेपछि ड्युटीमा रहेका प्रहरी रातभर जागाराम भएर सर्प लखेट्नेसम्म काम गरेको पाइएको छ। क्वारेन्टाइनमा बस्नेले दैनिकजसो क्वारेन्टाइन क्षेत्रमा आएका सर्प मार्ने गरेको क्वारेन्टाइनमा बसेका तुलसीपुरका एक युवाले बताए।

स्कुलको क्वारेन्टाइनमा न झ्याल, ढोकाले हावा, पानी छेक्छ, न त किरा फट्याङग्राबाट बच्ने अवस्था छ। केहीले त्रिपाल ओड्नुपर्ने अवस्था छ। जिल्लामा क्वारेन्टाइन संख्या बढेसँगै अस्तव्यस्त र भद्रगोल भएका हुन्। क्वारेन्टाइन भद्रगोल हुनुमा परीक्षणको रिपोर्ट ढिलो आउँदा पनि हो, एक स्वास्थ्यकर्मीले भने, ‘रिपोर्ट आउन २०÷२२ दिन लागेपछि कसरी क्वारेन्टाइन व्यवस्थित गर्न सकिन्छ ? ’

व्यवस्थित नहुँदा कति क्वारेन्टाइनमा आन्दोलनसमेत भयो भने कति क्वारेन्टाइनबाट भागेको अवस्थासमेत रहेको छ। दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थापन हुन नसकेको स्वीकार्छन्। उनले भने, तर स्थानीय तहले भ्याएसम्म प्रयास गरेका छन्।

परीक्षण बिनै गाउँमा

उता बैतडीका १० ओटै स्थानीय तहमा कोरोनाका बिरामी भेटिएका छन्। कोरोना संक्रमण पुष्टि भएका अधिकांश नागरिक गाउँमै छन्। स्वाब संकलन गरेर पठाए पनि ढिलो रिपोर्ट आउँदा उनीहरू परीक्षण बिनै घर पुगेका हुन्। स्वाब संकलन भएको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक घर फर्केका हुन्। घर फर्केपछि उनीहरूमा कोरोना पुष्टि भएकाले गाउँगाउँमा संक्रमित पुगेका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।

बैतडीमा २ सय ९५ जनामा कोरोना पुष्टि भइसकेको छ। तीमध्ये अधिकांश परीक्षण बिनै घरमा पुगेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि दोस्रो पटक उनीहरूको परीक्षण नहुँदा गाउँमा कोरोना त्रास पनि बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार १४ दिनसम्म कुनै लक्षण नभएका बिरामीहरूलाई घर पठाउन सकिनेछ। सोही निर्देशिका अनुसार कोरोना पुष्टि भएका तर क्वारेन्टाइनमा १४ दिन बसी कुनै लक्षण नदेखिएकाहरूलाई घर पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने ‘पछिल्लो समयमा कोरोना पुष्टि भएका कसैको पनि दोस्रोे पटक परीक्षण गरिएको छैन। सुरुसुरुमा कोरोना पुष्टि भएका १४ जनाको मात्रै तीनपटक परीक्षण गरेर घर पठाएका हौं।’ अहिले कोरोना संक्रमण पुष्टि भएका ८७ जना मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका छन्। कोरोना संक्रमण पुष्टि भएकाहरू समेत निर्धक्क गाउँमा घुम्ने भएकाले कोरोना संक्रमणको जोखिम बढ्दै गएको दोगडाकेदार गाउँपालिका— १ का नरेन्द्र बिष्टले बताए। उनले भने, ‘सरकारको फितलो व्यवस्थापनका कारण कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।’

जिल्लाको पञ्चेश्वरमा सबैभन्दा बढी ६० जना संक्रमित रहेको पञ्चेश्वर गाउँपालिकामा ५२ जना आइसोलेसनमा छन्। शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतोले भने, ‘संक्रमण पुष्टि भएकाको कसैको पनि दोस्रो पटक कोरोना परीक्षण गरिएको छैन।’दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए। उनले भने ‘ कोरोना पुष्टि भए पनि भारतबाट फर्किएर एक महिनासम्म पनि क्वारेन्टाइनमा बस्दासमेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने सर्तसहित घरमा पठाइएको हो।’

यस्तै सिगास गाउँपालिकामा ४० जनामा कोरोना पुष्टि भएकोमा २१ जना आइसोलेसनमा रहेका छन् भने १९ जना होम आइसोलेसनमा पठाइएको छ। ३४ जनामा कोरोना देखिएको दशरथ चन्द नगरपालिकामा एक जना मात्रै आइसोलेसनमा रहेका छन् भने अन्य ३३ जना होम आइसोलेसनमा रहेको छन्।

मेलौली नगरपालिकामा २७ जनामा कोरोना पुष्टि भएकोमा २४ जनालाई होम आइसोलेसनमा पठाइएको छ। सुर्नया गाउँपालिकामा १४ जनामा संक्रमण देखिएकोमा सबैलाई घर पठाइएकोे छ। त्यस्तै, पाटन नगरपालिकामा १४ जनामा कोरोना पुष्टि हुँदा २ जना मात्रै आइसोलेसनमा छन्।

यसका साथै पुर्चौडी नगरपालिकामा ८ संक्रमितमध्ये १ जना मात्रै आइसोलेसनमा रहेका छन्। डिलाशैनी गाउँपालिका ७ जनामा कोरोना पुष्टि भएको उनीहरू पनि सबै होम आइसोलेसनमा रहेका छन्।

जिल्लामा संक्रमण पुष्टि भएकामध्ये १४ जना मात्रै कोरोना जितेर डिस्चार्ज भएका हुन्। जसमा पञ्चेश्वरका ८, पाटनका ५ र शिवनाथका १ जना रहेको स्वास्थ्य कार्यालयका कोभिड— १९ सम्पर्क व्यक्ति जोशीले बताए। अन्य सबैलाई कोरोनाका लक्षण नदेखिएको भन्दै १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको हो।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्