Monday, October 26

सुनसान बन्दै पशुपति मन्दिर

July 8, 2020 168

काठमाडौ- चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । “असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको चार÷पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ”, उहाँले भन्नुभयो ।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन । साउन भगवान् शिवकै महिना भएकाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजनको भीड लाग्ने गरेको छ । साउनमा विशेष पूजाबाट कोषलाई करोडौँ आम्दानी हुने गरेको छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा पवित्र तीर्थको जल ल्याई पशुपतिलगायत शिवालयमा चढाउने गरिन्छ । पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले यहाँ साउन महिनामा बोलबम यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे । यस वर्ष कोभिड–१९ को सङ्क्रमणको डरले बोलबम यात्रासमेत प्रभावित हुने भएको छ । गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान छ ।

बोलबम काँवरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमुनिको वाग्मतीबाट स्वच्छ जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन । जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो । उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो । यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन ।

बोलबम यात्रा ठूलो समूहबीच गरिने भएकाले पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा कम्तीमा दुई मिटरको दूरी कायम गरेर एकपटकमा बढीमा २० जनाभन्दा धेरै दर्शनार्थी मूल मन्दिरमा प्रवेश गराउन नसकिने बताउनुहुन्छ । यसरी पठाइएका भक्तजनलाई पनि पहिलेभन्दा टाढाबाट दर्शन गराइने छ ।

“मूल मन्दिरभित्र प्रवेश गर्ने दर्शनार्थीलाई पनि एक स्थानबाट गई अर्को ठाउँबाट फर्कने गरी व्यवस्था मिलाइएको छ, डोरी राखी त्यसभन्दा बाहिर भक्तजन जान नपाउने गरी तयारी गरिएको छ, पशुपति छिर्ने प्रत्येक द्वारमा स्यानिटाइजरको व्यवस्था हुनेछ, थर्मलगनले ज्वरो नापिनेछ, तापक्रम बढी भएकालाई भित्र पठाइने छैन, मास्क नलगाएका दर्शनार्थीलाई पनि प्रवेश गराइने छैन”, उहाँले भन्नुभयो ।

चार महिनाको बन्दाबन्दी अवधिमा पशुपति क्षेत्रलाई रु १० करोडभन्दा बढी आर्थिक घाटा लागे पनि भक्तजनको सुरक्षासँग सम्झौता गर्न नसकिने कोषाध्यक्ष थापा बताउनुहुन्छ । कोषले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाको सङ्क्रमण घट्दै गए जेठ ७ गतेपछि भक्तजनका लागि मूल मन्दिर खोल्न सकिने सङ्केत गर्नुभएको छ । त्यसका लागि ‘एसएमएस’ सूत्र अर्थात् सामाजिक दूरी (सोसल डिस्टेन्स), मास्क र स्यानिटाइजरलाई उपयोग गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । धार्मिक, आर्थिक गतिविधि चलायमान बनाउन स्वास्थ्य सुरक्षामा खतरा आउन दिनु नहुने सरोकार भएका निकायको सुझाव छ ।

बन्दाबन्दीको अवधिमा पनि पशुपतिनाथ मन्दिरमा नित्यरूपमा हुने पूजा आराधनालगायत कर्म भने नियमित भइरहेको कोषले जनाएको छ । साउनको सोमबार सनातन हिन्दू धर्मावलम्बीले व्रत गर्छन् । साउनको सोमबार व्रत गरी देवादिदेव महादेवका पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाङ्क्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्