Friday, September 25

बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना

July 8, 2020 134

बागलुङ : जिल्लामा बुधबार एकै दिन ४२ जनाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेरका छन्।

धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन्।

यसअघि अघिल्लो साता पनि एकै दिन ५३ जनाले कोरोना जितेर घर फर्किएका थिए। विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका उनीहरुको दोस्रो पटकको स्वाब संकलनमा पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका ३५ जनालाई केन्द्र प्रमुख डा. मिलन मल्लले जानकारी दिए।

डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको छ। बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ महिला छन्। यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ पुरुष छन्।

धौलागिरी अस्पतालबाट डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना छन्।

जिल्लामा बुधबारसम्म संक्रमित संख्या २ सय ११ पुगेको छ। जसमध्ये १ सय ५७ संक्रमित निको भइसकेका छन्। अब ५४ जना मात्रै आइसोलेसनमा रहेको धौलागिरी अस्पतालले जनाएको छ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्