Tuesday, December 1

उपत्यकामा कोरोना जोखिम बढ्दै

July 7, 2020 137

१६ हजार १६८ संक्रमित : सात हजार ४९९ डिस्चार्ज
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।

संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो।

राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झण्डै तीन सय संक्रमित फेला परेका छन।

हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जना मध्ये उपत्यकाका तीन जना छन्। जसामध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी )का निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंमा संक्रमणको धेरै केसहरु देखिएको बताए। ‘उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ’, उनले भने, ‘तर काठमाडौंमा अलि जोखिम देखिएको छ। विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।’

निर्देशक डा. पाण्डेका अनुसार, संक्रमित मध्ये अधिकांश लक्षणबिहिन छन्। लकडाउन अलि खुकुलो भएपछि काठमाडौँमा २६७ जना केसहरु देखिएको छ। त्यसमध्ये १७५ जना काठमाडौं जिल्लाका हुन्। ४३ जना भक्तपुर र ४१ जना ललितपुरका छन्। यी मध्ये ७९ व्यक्तिहरु विदेशबाट आएका हुन्। उनीहरु विभिन्न मुलुकबाट स्वदेश फर्कने क्रममा संक्रमित हुन पुगेको डा. पाण्डेले जानकारी दिए।

संक्रमितको संख्या १६ हजार १६८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतममन्त्रालयका अनुसार मंगलबार देशभर थप २०४ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ। मन्त्रालयका अनुसार ७ हजार ४९९ जनाले कोरोना जितेर घर फर्किएका छन् भने कोरोनाकै कारण ३५ जनाको मृत्यु भइसकेको छ। गत २४ घन्टामा चार सय ९९ जना कोरोनामुक्त भएका छन्।

यस्तै हालसम्म २५ हजार ७२७ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६३४ जना आइसोलेसनमा छन्। गत २४ घन्टामा ६ हजार १३३ पीसीआर नमूना परीक्षण भएका छन्। मन्त्रालका प्रवक्ता डा. गौतमले उपत्यकामा कोरोना जोखिम बढ्दै गएको भन्दै सामाजिक दूरी कायम गर्न, नियमित मास्क लगाउन र कामबिना घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

पछिल्लो समयमा अस्पतालमा उपचार गराइरहेका बिरामी र सेवामा खटिएका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ। संक्रमण देखिएपछि कतिपय अस्पतालले आकस्मिकबाहेका अन्य सेवा अनिश्चकालका लागि बन्द गरेका छन्।

सोमबार काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।बिरामीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ। यस्तै कोरोना संक्रमणमा उडानका कर्मचारी पनि परेका छन्। सोमबार मात्रै नेपाल वायुसेवा निगमका सातजना कर्मचारीमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको थियो।उनीहरु सबै कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारमा खटिएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ। केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको थियो।बालबालिकामा सङ्क्रमण बढ्दै गएपछि मन्त्रालय र चिकित्सकले सचेत रहन अभिभावकलाई आग्रह गरेका छन्।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्