Friday, September 25

बंगलादेशको एक निजी अस्पतालद्वारा हजारौं नागरिकलाई कोरोनाको नक्कली प्रमाणपत्र वितरण

July 7, 2020 150

एजेन्सी, २३ असार । बंगलादेशको एउटा निजी अस्पतालले हजारौं नागरिकको नक्कली कोरोना परीक्षण गरेको खुलेको छ । यो रहस्य खुलेसंगै बंगलादेशी अधिकारीहरु उक्त अस्पतालविरुद्ध कारबाही गर्न लागिपरेका छन् ।
सोमबार अर्धसैनिक बलले ढाकाको रेजिमेन्ट अस्पतालमा छापा मारेको थियो र आठजनालाई नियन्त्रणमा लिएको बीबीसीमा उल्लेख छ । मार्चमा त्यस अस्पताललाई सरकारको नि शुल्क कोरोना टेष्ट योजनामा सामेल गराएको थियो । नमूनाहरू उक्त अस्पतालमा संकलन गरिएको र कोरोना परीक्षण सरकारी प्रयोगशालामा गरिएको थियो।

अधिकारीहरूका अनुसार त्यसपछि अस्पतालले नै परीक्षण प्रमाणपत्र दिन सुरु गर्न थाल्यो । अस्पतालले हजारौं मानिसहरूलाई कोरोना टेष्टको प्रमाणपत्र वितरण गरेको छ । ती परीक्षणहरू कहिल्यै नभएको जनाइएको छ । सकारात्मक र नकारात्मक दुबै रिपोर्टहरुको प्रमाणपत्र तयार गरेर बंगलादेशी नागरिकहरुलाई दिइएको खुलेको छ ।

यति मात्र होइन, अस्पतालले परीक्षणको नाममा चार हजार व्यक्तिबाट पैसा पनि संकलन गरेको बताइएको छ । यद्यपि अस्पतालका प्रमोटरले आफु कुनै पनि गलत कार्यमा संलग्न नभएको दावी गरेका छन् ।

स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालका प्रमोटरले भनेका छन्, यस ठगीमा संलग्न अस्पतालका कर्मचारीहरू विरुद्ध कारबाही भएको छ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्