Wednesday, September 30

एक घर, एक पीसीआर टेस्टको माग गर्दै गण्डकी प्रदेशमा संकल्प प्रस्ताव

July 7, 2020 131

२३ असार, पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

‘कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले गम्भीर ढंगले लिन सकेन । मुख्य ४ वटा विषय राखेर संकल्प प्रस्ताव पेश गरेका छौं,’ सांसद खड्काले भने ।

गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने मागसहित प्रस्ताव पेश गरिएको छ ।

संकल्प प्रस्तावमा प्रत्येक जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थान तोक्ने प्रस्ताव सांसदहरुले राखेका छन् ।

यसैगरी कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्थान तोक्नुपर्ने विषय संकल्प प्रस्तावमा उल्लेख छ ।

गण्डकी प्रदेशमा अहिले ३ वटा पीसीआर मेसिन छन् । अहिलेसम्म १ हजार १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १६ हजार ७ सय ६१ जनाको नमूना संकलन गरिएकोमा १५ हजार ४ सय ६५ जनाको नतिजा नेगेटिभ आएको छ ।

२ सय १७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् भने संक्रमण देखिएका ४ जनाको मृत्यु भएको छ । कास्की र गोरखामा मृत्यु हुनेको शव व्यवस्थापन गर्ने स्थानमा अवरोध भएको थियो ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्