Thursday, October 22

कोरोना देखिएपछि आत्महत्या गरेका विकको परिवारलाई बाख्रा वितरण

July 7, 2020 452

सन्धिखर्क : कोरोना देखिएपछि आत्महत्या गरेका देवबहादुर विकको परिवारलाई बाख्रा वितरण गरिएको छ।कोरोनाका कारण भारतबाट फर्किएर सितगंगा नगरपालिका ५ मा रहेको क्वारेन्टाइनमा बसेका बेला कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि उनले आत्महत्या गरेका थिए।

परिवार धान्न भारत गएका विकले आत्महत्या गरेपछि परिवारमा समस्या भएको थियो। मृतकी श्रीमती मनकला विकलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीले ५ वटा बाख्रा प्रदान गरेको छ । यस्तै जनचेतना सरोकार मञ्चले सितगंगा नगरपालिका ५ जुकेनाका नर्मदा न्यौपानेको परिवारलाई पनि ५ वटा बाख्रा सहयोग गरेको छ। नर्मदाका श्रीमान नारायण न्यौपानेको ब्लड क्यान्सरबाट मृत्यु भएपछि उनी विचल्लीमा परेकी थिइन्।

दुवै अति विपन्न परिवारलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीको तर्फबाट बाख्रा खरिद गरि ५/५ वटा अनुदानमा उपलब्ध गराएको युवराज ज्ञवालीले जानकारी दिए । विपन्न एवं साना किसानलाई स्वरोजगारी बनाउन र बाख्रापालन व्यवसायमा आवद्ध गराउन बाख्रा प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफाम नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित भारतमा मौसमी काम गर्ने प्रवासी परिवारको आर्थिक पुनस्थापन शसक्तिकरण परियोजनाअन्तरगत संस्थाको परियोजना क्षेत्रभित्र पर्ने सरोकार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका सदस्यलाई बाख्रा प्रदान गरेको हो ।

सरोकार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा उनीहरु दुवैजनाका श्रीमती सलंग्न रहेका कारण सहकारी संस्थासँग समन्वय गरी सहकारी संस्थाका सञ्चालक समितिका सदस्य दुई परिवारका घरमा गई बाख्रा वितरण गरिएको सहकारी सचिव बसन्ता जिसिले जानकारी दिइन्।

जिल्लामा भारतबाट आएका भुमिकास्थान नगरपालिकाका एकजना र मालारानी गाउँपालिकाका एकजना गरी २ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। १ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्लामा तीन सय २१ जना कोरोना संक्रमित छन्। ५ सय ३ जना क्वारेन्टिनमा बसेका छन् ।
source: Annapurna Post

प्रतिकृया दिनुहोस्