Wednesday, October 21

डुम्रेमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण

July 7, 2020 169

दमौली, २३ असार । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपूर गाँउपालिका १ डुम्रेमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने अन्तर्गत निर्माण गरिएको हो |

विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थमा परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानअन्तर्गत सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण गरिएको उहाँले बताउनुभयो । ‘विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रदेश सरकारको सशर्त अनुदानमा चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकता दिईएको हो, उहाँले भन्नुभयो, “बाहिरी जिल्ला बाट गण्डकी प्रदेशमा प्रवेश गर्नेले प्रत्यक्ष लाभ लिने छन् । यस चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ ।”

पछिल्ला दिनमा विद्युतीय सवारी साधनको आर्कषणसमेत बढ्दै गएको छ। विभिन्न निजी क्षेत्रको यातायातले पनि विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिरहेको अवस्था छ। चार्जिङ स्टेशनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ ।स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले भएको छ भने, चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्ने भएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्