Thursday, October 29

पूर्वका निजी अस्पतालहरुले स्वास्थ्यकर्मीहरुलाई सेवाबाट हटाउन थाले

July 6, 2020 172

विराटनगर, २२ असार । अन्य क्षेत्रमा जस्तै कोरोना महामारीको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेको छ । लामो लकडाउनका कारण निजी अस्पताल र स्वास्थ्य शिक्षण संस्थाहरु सञ्चालन हुन नसकेको भन्दै सञ्चालकहरुले स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न लगाउने, जागिरबाट निकाल्ने कार्य शुरु भएको छ ।

पूर्वका निजी अस्पताल र स्वास्थ्य शिक्षण संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आधा तलबमा खटाउने र विदामा बस्न बाध्य तुल्याएपछि चिकित्सकहरुको संगठन नेपाल चिकित्सक संघ कोशी शाखा र नर्सहरुको संस्था नेपाल नर्सिङ संघ मोरङ शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । उनीहरुले पत्रकार सम्मेलन आयोजना गरी कोभिड नाईन्टिनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको आर्थिक सुरक्षा गरिदिन सम्बन्धित पक्ष तथा सरकारसंग आग्रह गरेको छ ।

कोरोना महामारीका कारण स्वास्थ्य संस्थाहरु प्रभावित भएको भएपनि स्वास्थ्यकर्मीहरु निकाल्ने कार्य नभएको निजी अस्पताल संचालकहरुले बताएका छन् । कोभिड नाईन्टिनका कारण निजी स्वास्थ्य संस्था संचालनमा कठिनाई भएकाले सरकारसंग सहुलियत माग गरिएको निजी अस्पतालका सञ्चालकहरुले बताएका छन् ।

निजी अस्पताल र शिक्षण संस्थाहरुमा कार्यरत चिकित्सक र नर्सहरु पीडित भईरहेको अवस्थामा सरकारी अस्पतालका स्वास्थ्यकर्मीहरुले तलब सुविधा पाईरहेका छन् । प्रदेश नं. १ मा करिब ३ हजार चिकित्सकहरु रहेकोमा करिब २ सय चिकित्सकहरु मात्र सरकारी अस्पतालहरुमा जागिरे छन् । यसैगरी करिब १० हजार नर्सहरु प्रदेश नं. १ मा कार्यरत छन् ।

निजी क्षेत्रले स्वास्थ्यकर्मीलाई मनपरि निकाल्ने गरेका कारण धेरै स्वास्थ्यकर्मीहरुको मनोबलमा आँच आएको भन्दै उनीहरुलाई निरन्तरता दिनु पर्ने र पहिलेको जतिनै तलव भत्ता सुविधा दिनु पर्ने बताएका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्