Wednesday, September 30

बागलुङ नगर खानेपानी संस्थामा भ्रष्टाचार नै भ्रष्टाचार !

July 6, 2020 115

बागलुङ, २२ असार । बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाभित्र भ्रष्टाचार एवं आर्थिक अनियमिता बढ्दै गएको छ । आर्थिक अनियमितता बढ्दै गएपछि जनस्तरबाट आलोचना हुन थालेको छ ।

बागलुङ नगरपालिका भित्रका ५० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आइरहेको संस्थाले वर्षातको समयमा हिलो पानी वितरण गर्छ । केही समय अघि बोक्सेको गैरा र भुँदीखोलामा पहिरोले पाइप बगाएपछि संस्थाले दुई साता बजारमा खानेपानी वितरण गर्न सकेन ।

दुई सातासम्म खानेपानी नआएपछि बजारमा खानेपानीको हाहाकार हुन थालेसँगै मानव अधिकारकर्मीलगायतको टोलीको खानेपानी संस्थामा डेलिगेसन गयो । तर, संस्थाका अध्यक्षले नै अपशब्द प्रयोग गरेर चर्काचर्की सुरु गरेपछि भ्रष्टाचार र अनियमितताका बिषयहरुमा बजारका चोकचोकमा समेत छलफल हुन थालेको छ ।

बागलुङ नगरपालिकाले सञ्चालन गरेको नगर परिषद्मा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्यले यस बिषयमा प्रश्न उठाएपछि नगरपालिकाले खानेपानी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीयबासीबीच अन्तर संवादको आयोजना गरेको थियो ।

सोही अन्तरक्रियामा संस्थामा भएको अनियमितता र भ्रष्टाचारका बिषयमा बढी आवाज उठेका छन् । यस संस्थाले बर्षौंदेखि लाखौँको अनियमितता गरेको संस्थाका पदाधिकारीहरु समेतको आरोप छ ।

बागलुङ नगरपालिकाका एक स्थानीय अशोक गोविन्द राजभण्डारीले अध्यक्षले भन्दा बढी प्रबन्धकले संस्था चलाएको भन्दै प्रबन्धक नै जंगबहादुर बनेको आरोप लगाए । उनले व्यक्ति तथा संस्थाको भवनमा धारा जडान गर्ने विषयमा होस् या अन्य कामका लागि आम नागरिकबाट मनलाग्दी पैसा असुल्ने गरेको आरोप लगाए ।

अघिल्लो समितिले आठ वटा शीर्षकमा खर्च देखाएको तर पछिल्लो समितिले ३५ वटा शीर्षकमा खर्च देखाएको कारण पनि आर्थिक अनियमितता भएको स्पष्ट हुने बताउँदै उनले आक्रोश पोखे ।

त्यस्तै संस्थाको आम्दानी राम्रो भएपनि खर्च एवं ऋण बढी देखाएको स्थानीयले बताएका छन् । संस्थाको निर्देशिका विपरित काम हुदैँ आएको र यसलाई समयमा नै सच्चाउन स्थानीयले माग गरेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका स्थानीय रणसिंह बोहोराले तीन वटा धारा जडान गर्दा ३३ हजार रकम तिरेको भएपनि राम्रोसँग खानेपानी नआउने गुनासो गरे । उनले खानेपानी आएपनि धमिलो एवं हिलो मिसिएको पानी आउने भएकाले अन्यत्रबाटै खानेपानी किनेर खानुपर्ने बाध्यता नगरबासीको रहेको बताए ।

संस्थामा रहेको भ्रष्टाचार बढ्दै गएको देखेपछि संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले गत वर्षको असोज २ गते कोषाध्यक्ष पदबाट राजीनामा दिए । तर, उनको राजीनामा स्वीकृत भएन ।

कोषाध्यक्ष शर्माले संस्था भित्रका हरेक गतिविधिमा भ्रष्टाचार रहेको उल्लेख गरेका छन् । संस्थाले सञ्चालन गरेको कैलाम पोखरीमा रहेको योजनामा गुणस्तरीय काम नभएको भएपनि संस्थाका पदाधिकारी, कर्मचारी तथा ठेकेदारले भुक्तानी गर्न निरन्तर दबाब दिइरहेको बताए ।

गुणस्तरहीन काम हुँदा समेत संस्थाबाट भुक्तानी दिन माग भएकाले यसमा पनि मिलेमत्तो भएको उनी बताउछन् । उनले भने, उनले भने, ‘समितिका पदाधिकारी तथा सदस्यहरु काठमाडौं जाँदा प्लेनको टिकट दियो र संस्थाको गाडीलाई व्यक्तिले प्रयोग दिइएमा माशै खुसी हुन्छन् । र, बैठकको निर्णयमा हासी हासी हस्ताक्षर गर्छन् ।’

अन्तरक्र्रियामा स्थानीयबासी, मानवअधिकारकर्मीदेखि जनप्रतिनिधिहरुसम्मले नगर खानेपानी भित्र भएको अनियमितताका बारेमा प्रश्न गरेका छन् । सबै प्रश्नको उत्तर खानेपानीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले दिए ।

उनले खानेपानी वितरणमा आएको समस्याप्रति आफू गम्भीर रहेको भन्दै आगामी दिनमा थप सुधारका साथ अगाडि बढ्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले संस्थालाई विधि सम्मत चलाउन, जवाफदेहिता र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई गर्न, बर्खाको समयमा पानीको वैकल्पिक व्यवस्थापन गर्न, तत्काल प्राविधिक जनशक्ति नियुक्त गर्न निर्देशन दिएका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्