Thursday, October 29

फिनल्याण्डको शिक्षा प्रणालीबाट नेपालले के सिक्न सक्छ ?

July 6, 2020 162

फिनल्याण्ड युरोपमा अवस्थित लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन व्यवस्था भएको मुलुक हो । आर्थिक सहायता तथा विकास संस्था (OECD) ले प्रत्येक तीन वर्षमा Program for International Student Assessment(PISA) मार्फत विकसित देशहरुका विद्यार्थीहरुको अध्ययन गर्ने क्षमता, विज्ञान तथा गणित विषयको ज्ञान परीक्षण गर्दै आएको छ । PISA को २०१८ को प्रतिवेदन अनुसार फिनल्याण्डको शिक्षालाई विश्वकै उत्कृष्ट मान्न सकिन्छ ।

विश्वभरि नै सरकारी तथा सामुदायिक विद्यालयहरुमा भन्दा नीजि विद्यालयहरुमा आम अभिभावक र विद्यार्थीहरुको आकार्षण बढ्दो क्रममा रहेता पनि फिनल्याण्डमा भने कुनै पनि नीजि विद्यालय नभई सामुदायिक विद्यालयहरुमात्र सञ्चालनमा रहेका छन । फिनल्याण्डको शिक्षा प्रणालीलाई कक्षा १ देखि ९ सम्म, कक्षा १० देखि १२ सम्म र विश्वविद्यालय गरी तीन तहमा विभाजन गरिएको छ ।

कक्षा १ देखि ९ सम्मको अध्ययन गरिने तहलाई उभचगकपयगगि (आधारतभूत तह) पद्धति र कक्षा १० देखि १२ सम्मलाई उच्च माध्यामिक तह भनिन्छ । फिनल्याण्डमा ७ वर्षको उमेर पुगे पश्चात बालबालिकाहरु विद्यालय जाने गर्दछन् । सो भन्दा अगाडी बालबालिकाहरुले किन्डरगार्डेनमा खेल्ने, साथी बनाउने, रमाउने लगायतको कृयाकलापहरु मात्र गर्ने गर्दछन ।

फिनल्याण्डमा सन १९७२ भन्दा पहिले उच्च माध्यमिक तह भन्दा अगावै विद्यार्थीहरुले एकेडेमिक वा भोकेसनल मध्ये कुनै एक विधामा अध्ययन गर्नु पर्ने व्यवस्था थियो, यसले सामाजिक तथा आर्थिक असमानता भएका विद्यार्थीहरुको शिक्षाको पहुँचमा असमान अवसरको सृजना गरेको देखियो । साथै, कुनै विद्यालयहरुमा स्रोत साधानको पर्याप्तता अधिकतम हुने र कुनै विद्यालयमा स्रोत साधनको अभावले गर्दा विद्यार्थीहरुको सिकाइको अवसरमा असमानता रहेको देखियो ।

आधुनिक तथा व्यवहारिक शिक्षाको बढ्दो मागलाई सम्बोधन गर्न फिनल्याण्डले सन १९७२ देखि उभचगकपयगगि शिक्षा प्रणाली लागु गरेको छ। जस अनुसार कक्षा नौसम्म सबै विद्यार्थीहरुले अनिवार्य एकै किसिमको एकेडेमिक शिक्षा लिनु पर्ने व्यवस्था कायम भयो ।

आधारतभूत तह उत्तीर्ण भएका विद्यार्थीहरुले तीन वर्षे माथिल्लो माध्यामिक कक्षामा अध्ययन गर्न पाउनेछन । जसमा दुई तरिकाको शिक्षा हुन्छ । पहिलो एकेडेमिक शिक्षा जसबाट पछि डाक्टर, इन्जिनियर, कानुन, विज्ञान, वाणिज्य, शिक्षा वा अन्य संकायमा अध्ययन गर्न पाउने छन् भने अर्को भोकेसनल (व्यवसायिक) शिक्षा जसबाट अध्ययन सकेपछि काम गर्न पाउनेछन। यदपि यी दुवै शिक्षा सकेपछि पनि पुनः एकअर्कामा स्थानान्तरण गर्न पाउने व्यवस्था पनि रहेको छ। विद्यार्थीहरुले उच्च माध्यामिक विद्यालयको अध्ययन पश्चात विश्वविद्यालयमा अध्ययन गर्न पाउनेछ। फिनल्याण्डको आधुनिक शिक्षा प्रणालीका केही विशेषताहरुको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ।

शिक्षक छनौट पद्धति :

फिनल्याण्डमा शिक्षक बन्नको लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्दछ । शिक्षणलाई सबै भन्दा आकर्षित र उच्च कोटीको पेशाको रुपमा लिइन्छ । माथिल्लो माध्यामिक विद्यालयमा उत्कृष्ट रहेका विद्यार्थीहरुले मात्र शिक्षक बन्नका लागि विश्वविद्यालयमा भर्ना हुन पाउदछन् ।

शिक्षक बन्नका लागि विश्वविद्यालयमा अध्ययन गर्न प्रवेश परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्नु पर्ने, अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट रहेको हुनु पर्ने तथा शिक्षक बन्नुको मुख्य उद्धेश्य पनि विश्वविद्यालयले लिने अन्तरवार्तामा जवाफ दिनु पर्दछ। त्यस्तै गरी प्राथमिक तहमा अध्यापन गराउनु पर्ने शिक्षकहरु संगीत, गायन, खेलकुद, गणित र विज्ञान विषयमा उत्कृष्ट हुनु पर्दछ ।

विश्वविद्यालयमा विशेषगरी अनुसन्धान, प्रयोग तथा अध्यापन अभ्यास गर्नु पर्दछ । प्राथमिक शिक्षकहरुले शिक्षा विषयमा र माध्यामिक शिक्षकले आफ्नो अध्यापन गर्नु पर्ने विषयमा स्नतकोत्तर गरेको हुनु पर्दछ । शिक्षकहरु आफ्नो शिक्षण सिकाईको माध्यम छनौटमा पूर्ण स्वतन्त्र रहन्छन् ।

उत्कृष्ट सिकाइ वातावरण

फिनल्याण्डमा नगरपालिका स्तरीय, जिल्ला स्तरीय वा केन्द्रस्तरीय कुनै पनि परीक्षा हुँदैन ताकी यसबाट विद्यालय वा विद्यार्थीको स्थान निर्धारण नहोस् । विद्यार्थीहरु वा विद्यालयलाई निराशा पैदा नहोस् भन्ने उद्देश्यले विद्यार्थी होस वा विद्यालय कसैको स्थान सार्वजनिक गरिँदैन । उनिहरुको विचारमा विद्यार्थीहरुको स्थान सावर्जनिक गरीएमा आत्मबल गिर्ने र रचनात्मक क्षमतामा ह्रास आउने बताउछन् । त्यसैले त्यहाको विद्यार्थी र विद्यालयमा कुनै खालको प्रतिस्पर्धा कायम रहेको छैन ।

यद्यपि प्रत्येक विद्यार्थीको सिकाईको प्रगति भने मूल्यांकन गरिन्छ । सबै विद्यालयहरुले आफ्ना अनुभव र अभ्यासहरु एक अर्कामा साटासाट गर्ने गर्दछन् । त्यस्तै शिक्षकहरुबीच कक्षा बाहेकका समयमा विद्यमान समस्या, विद्यार्थीहरुको सिकाइको अवस्था, भावी रणनीतिको बारेमा एक अर्काबीच अनुभव साटासाट गर्ने गर्दछ । फिनल्याण्डको शिक्षकहरुले दिनमा धेरै समय अध्यापन गर्नु पर्दैन । फिनल्याण्डमा एउटै प्रकृतिको सरकारी विद्यालयमात्र रहेको छ । सबै विद्यार्थीहरुले समान र निशुल्क शिक्षाको अवसर पाउदछन। शिक्षक तथा विद्यार्थीहरुलाई खानाको व्यवस्था रहेको छ । कुनै विद्यार्थीहरु कुनै विषयमा कमजोर भएको पाइएमा उसलाई विशेष कक्षाको व्यवस्था गरिन्छ ।

निरन्तरत कक्षा स्तरोन्नति

विद्यार्थीहरुलाई सधै उत्प्रेरणा र प्रोत्साहन प्रदान गर्ने हेतुले फिनल्याण्डमा कहिले पनि कक्षा दोहोर्‍याउने गरिदैन वा फेल गरिदैन । शिक्षकहरुका अनुसार विद्यार्थीलाई कक्षा दोहोर्‍याउँदा पहिलो त विद्यार्थीहरुको मनोबल घट्ने तथा विद्यार्थीको सिक्ने क्षमतामा कमी ल्याउने गर्दछ । विद्यार्थीहरु कुनै विषयमा मात्र कमजोर हुने भएकोले उनीहरुलाई समयमा नै विशेष कक्षाको व्यवस्था गरिन्छ । विद्यार्थीहरुको वास्तविक समस्या पहिचान गरि समयमा नै विद्यार्थाीलाई थप सहयोग गरिन्छ । परीक्षा प्रणालीको बारेमा अमेरिकी राष्ट्रपति बाराक औबामाले भनेका छन् कि “All you learning is about how to fill a little bubble on an exam and little tricks that you need to do in order to take a test and that’s not going to make education interesting”.

काउन्सिलिङ कार्यक्रम

विद्यार्थीहरुको अध्ययनलाई थप प्रभावकारी बनाउन काउन्सिलिङ कार्यक्रमहरुको व्यवस्था गरिएको हुन्छ । यसले विशेषतः आधारतभूत तह उत्तीर्ण गरिसकेका तर माथिल्लो माध्यामिक कक्षा सुरु गर्ने विद्यार्थीका लागि भोकेसनल माथिल्लो माध्यामिक शिक्षा वा एकेडेमिक माध्यामिक शिक्षा वा कुनै काम गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई परामर्श दिने काम गरिन्छ ।

पाठ्यक्रमको निर्माण

फिनल्याण्डका विद्यालयमा उपलब्ध स्रोत साधन तथा विद्यार्थीहरुको सिक्ने क्षमताको आधारमा हरेक शिक्षकहरुले आफैले पाठ्यक्रम निर्माण गर्दछ। विद्यालयमा शिक्षकहरुले थोरै समय शिक्षण गर्नुपर्ने तथा धेरैजसो समय पाठ्यक्रम डिजाइन तथा निर्माण गर्दछन। यसबाट विद्यार्थीको वास्तविक आवश्यकता पहिचान गरी विद्यार्थीको स्तर अनुसार अध्यापन गराउन सहज गराउँछ। कमजोर तथा अब्बल विद्यार्थीहरुलाई फरक फरक शिक्षा दिइन्छ।

शिक्षकहरु जिम्मेवार हुनु तथा विश्वास गरिनु

फिनल्याण्डमा शिक्षकहरु आफ्नो पेशा प्रति सदैव पुर्ण जिम्मेवार रहन्छन । शिक्षकलाई जबाफदेहि भन्दा पनि जिम्मेवार बनाइने गरिन्छ। अभिभावकहरु शिक्षक प्रति विश्वास राख्ने र शिक्षकहरु पनि अभिभावक तथा विद्यार्थीहरु प्रति जिम्मेवार हुने गर्दछ । त्यस्तै गरी विद्यालयमा माथिल्लो निकायबाट कुनै पनि प्रकारको निरिक्षण गर्ने, हस्तक्षेप गर्ने कार्यहरु गरिदैन। यदपि शिक्षकहरुले अभिभावक तथा सरकारी निकायहरुमा विद्यार्थीको प्रगतिहरु पठाउनु पर्दछ ।

समताको आधारमा निशुल्क शिक्षा

फिनल्याण्डमा बसोबास गर्ने स्वदेश तथा विदेशी जो कोहीलाई पनि निशुल्क शिक्षा पाउने व्यवस्था रहेको छ। चाहे विद्यालय होस् वा विश्वविद्यालय जुन सुकै संकायमा अध्ययन गर्न कुनै शुल्क तिर्नु पर्दैन। शिक्षा प्राप्तिलाई मानब अधिकारको रुपमा लिइएको हुनाले निशु्ल्क शिक्षाको व्यवस्था गरिएको छ। अभिभावकहरुले आफ्ना बालबालिकाका लागि राम्रा विद्यालयहरुको खोजि गर्नु पर्दैन। किनकि सबै विद्यालयहरु राम्रा नै हुन्छन्। विद्यालयहरुलाई राम्रो नराम्रो भनि कहिले मुल्यांकन गरिँदैन ।

अतिरिक्त कृयाकलापहरुः

विद्यार्थीहरुको चौतर्फी विकासको लागि खेलकुदको प्रशस्त सुविधा तथा व्यवस्था रहेको छ। विद्यार्थीहरुलाई विद्यालयमा समय विताउन र विद्यालयमा नै आउने वानीको विकास गराउन पनि खेलकुदले प्रभावकारी भूमिका निर्वाह गर्दछ। त्यस्तै विद्यार्थीहरुलाई संगीत तथा नृत्य सिक्न, भिडियो गेम तथा कार्टुन हेर्न पाउने अवसर समेत प्राप्त रहेका छन्।

फिनल्याण्डको शिक्षा प्रणालीबाट नेपालले के सिक्न सक्छ ?

नेपालको वर्तमान संविधान अनुसार माध्यामिक तहसम्मको शिक्षाको सञ्चालन एवं व्यवस्थापन सम्वन्धी अधिकार स्थानीय सरकारलाई रहेको छ । स्थानीय तहमा कर्मचारीको अभाव एकातर्फ रहेको छ भने अर्को तर्फ शिक्षा सुधारको लागि जनप्रतिनिधि तथा कर्मचारीको चासो न्युन रहेको देखिएको छ ।

भौगोलिक विकटताले गर्दा पहाडी भूभागमा विद्यालयहरुको सञ्चालन तथा व्यवस्थापन पनि चुनौतिको विषय बनेको छ। त्यस्तै गरी शहर केन्द्रित विद्यालयहरुमा शिक्षकहरुको चाप बढ्दो छ भने ग्रामिण क्षेत्रमा विद्यार्थी तथा शिक्षकको संख्या कम रहेको छ ।

त्यस्तैः शिक्षकहरु अनौपचारिक रुपमा विभिन्न राजनीतिक दलको सदस्यको रुपमा काम गर्दै आएको पनि प्रष्ट देखिन्छ । जसले गर्दा शिक्षकहरु आफ्नो शिक्षण पेशामा पुर्ण रुपमा व्यवसायिक हुन सकिरहेका छैनन् । यद्यपि अनेक समस्याको बाबजुत पनि शिक्षा क्षेत्रका सुधार बाहेक अन्य विकल्प रहेको छैन । अतः नेपालमा शिक्षा क्षेत्रको विकासको लागि चाल्नु पर्ने केही कदमहरुको बारेमा चर्चा गर्न चाहान्छु ।

शिक्षण पेशालाई मर्यादित र आकार्षित बनाउनेः योग्य शिक्षक विना शिक्षा क्षेत्रको सुधार गर्न खोज्नु आकासको तारा झार्नु जस्तै हो । नेपालमा अधिकांस विद्यार्थीहरुको पहिलो रोजाई विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा रहेको छन् । वर्तमान अवस्थामा शिक्षक पेशालाई आकर्षित पेशा बनाउनका लागि विद्यालयमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई मात्र शिक्षा पेशामा आबद्ध गराउनु पर्दछ र सो को लागि शिक्षकहरुको तलबमान अरुको भन्दा बढी हुनु पर्ने देखिन्छ । साथै प्राथमिक तहमा पनि शिक्षकका लागि स्नातकोत्तर उत्तीर्ण गर्नु पर्ने व्यवस्था पनि लागु गर्न सकिन्छ । त्यस्तै हाल कायम रहेको विविध प्रकारका शिक्षकहरु, जस्तै- स्थायी शिक्षक, अस्थायी शिक्षक तथा राहत शिक्षकलाई एकीकृत गरी एकै खालको शिक्षकको व्यवस्था गर्नु पर्दछ । हाल सहरीदेखि ग्रामिण विद्यालय तथा क्याम्पसहरुमा शिक्षा संकायको अध्यापनलाई बन्द गरी शिक्षक पेशामा आवद्ध हुन चाहानेहरुलाई अध्यापन गर्ने विशेष क्याम्पसको स्थापना गर्नु पर्दछ, जसमा अनुसन्धानात्मक र प्रयोगात्मक प्रणालीबाट उत्कृष्ट शिक्षा प्रदान गर्न सकियोस् ।

एकै प्रकारको शिक्षाः

नेपालको शहरी र ग्रामीण भेगमा रहेको विद्यालयमा स्रोत साधनको वितरणलाई समान बनाउनु पर्दछ । सबै विद्यार्थीहरुको शिक्षा आर्जन गर्ने समान अधिकारलाई मध्यनजर गर्दै सबै विद्यालयमा समान स्रोत साधनको पहुँच कायम गर्नु पर्दछ । त्यस्तै गरी सामुदायिक तथा नीजि विद्यालयमा शिक्षाको असमानतालाई मध्ये नजर गर्दै शिक्षामा भएको खाडललाई न्युनीकरण गर्नु पर्दछ ।

व्यवसायिक तथा प्रयोगात्मक शिक्षा प्रणालीमा जोडः वर्तमान समयमा एक स्थानीयत तह एक प्राविधिक विद्यालयको अवधारण लागू भई व्यवसायिक शिक्षा लागु गरिएको छ । कतिपय विद्यालयहरुमा शिक्षकको दरबन्दी न्युन रहेको, शिक्षकहरुको सेवाको सुरक्षा समेत नभएकाले शिक्षकहरुले विद्यालय छाड्ने दर पनि बढी नै रहेको देखिन्छ । यी समस्यालाई हल गर्दै व्यवसायिक शिक्षालाई जोड दिई रोजगारी सृजना गर्न सक्ने वा स्वरोजगार हुन सक्ने अवसर सिर्जना गर्नुपर्ने देखिन्छ ।

पाठ्यक्रम तथा परीक्षा प्रणालीः

नेपालको पाठ्यक्रम तथा शिक्षण पद्धति परीक्षामा उत्तर लेख्नको लागि केन्द्रित रहेको देखिन्छ। कतिपय विद्यालयहरुले परीक्षामा सोधिने प्रश्नहरुको मात्र अध्यापन गराइने गरेको पनि पाइन्छ । यस प्रकारको शिक्षाले विद्यार्थीको सिकाइको दायरा घटाउने र रचनात्मक क्षमता पनि घटाउने गर्दछ । विद्यार्थीहरुले पनि पाठहरु घोकेर उत्तर लेख्ने हुनाले रचानात्मक क्षमता नष्ट पार्ने भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । परीक्षा प्रणालीमा सुधार गर्नको लागि पाठ्यक्रममा पनि सुधार गर्नु पर्ने देखिन्छ । विद्यार्थीहरुले सिक्नु पर्ने र सिक्न सक्ने कुरालाई मात्र पाठ्यक्रममा समावेश गर्नु पर्ने हुन्छ ।

शिक्षकहरुलाई विभिन्न अवसर अवसरः

शिक्षकहरुलाई निश्चित समयपछि पुनरताजकी तालिमहरुको व्यवस्था गर्नु पर्दछ । हरेक स्थानीय तहका उत्कृष्ट शिक्षकहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा राम्रा विद्यालयहरुमा अध्ययन, अवलोकन भ्रमण तथा तालिमको अवसर प्रदान गर्नु पर्दछ । साथै पाठ्यक्रम तथा शिक्षा नीति बनाउँदा शिक्षकहरुलाई समावेश गराउन सके विद्यार्थीहरुको वास्तविक समस्याको पहिचान हुने र समाधानको उपायहरु पनि प्राप्त हुन सक्छ ।

विद्यार्थीलाई खानाको व्यवस्थाः

नेपालको विशेषत ग्रामिण क्षेत्रमा अभिभावकहरु कृषि पेशामा आवद्ध रहेका हुनाले बालबालिकाहरुले विहाने खाना सेवन गरेर विद्यालय जान पाउदैनन् । मध्यान्त समयमा विद्यार्थीहरु खाना खाए पछि विद्यालयमा नफर्किने समस्या पनि रहेको छ । यो समस्यालाई समाधान गर्नको लागि हरेक विद्यालयमा विद्यार्थीहरुलाई खानाको व्यवस्था गर्न सकेको खण्डमा विद्यार्थीहरुले सहजै अध्ययन गर्न सक्दछ ।

दलगत ट्रेड युनियनको अन्त्यः

नेपालमा चाहे निजामति कर्मचारी होस या शिक्षक सबै अनौपचारिक रुपमा कुनै न कुनै दलको भातृ संगठनका रुपमा रहेको ट्रेड युनियनमा आवद्ध छन् । शिक्षकको पेशागत हकहितको ओकालत भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको रुपमा काम गर्ने भएकोले शिक्षकहरुले आफ्नो व्यवसायिकता प्रदर्शन गर्न सकेका छैनन् । त्यसैले शिक्षकहरु दलगत ट्रेडयुनियनमा आवद्ध नभई नितान्त शिक्षण पेशामा आबद्ध गराउने तर्फ नीति बनाउन जरुरी देखिन्छ ।

विश्वविद्यालयमा परीक्षा प्रणाली परिवर्तनः

हाल नेपालभरी सञ्चालनमा रहेका विश्वविद्यालयहरुमा केन्द्रिकृत पाठ्यक्रम निर्माण तथा परीक्षा प्रणाली लागू रहेको छ। त्यस्तै धेरै जसो तह तथा संकायमा बार्षिक लिखित परीक्षा प्रणाली कायम रहेको छ । वर्ष भरी पढेको आधारमा उत्तरपुस्तिकामा लेख्नु पर्ने हुँदा सिकाइ भन्दा पनि परीक्षामा कसरी उत्तीर्ण गर्ने भन्ने बारेमा मात्र विद्यार्थीहरु सिमित रहका छन । अतः हरेक क्याम्पसहरुले आफ्नो अनुकुलको पाठ्यक्रम तयार गर्न पाउने तथा विद्यार्थीहरुको मूल्यांकन गर्न पाउने अवसर दिनु पर्दछ । विद्यार्थीहरुलाई सैद्धान्तिक र घोकेको उत्तर लेख्ने परीक्षा भन्दा पनि मामिलाको अध्ययन, समूहमा छलफल, प्रतिवेदन लेखन, प्रतिवेदन प्रस्तुति तथा अनुसन्धानमूलक अध्ययनमा जोड दिनुपर्ने देखिन्छ । त्यस्तै गरी हरेक तहमा तीन तीन महिनामा विद्यार्थीहरुको मूल्यांकन तथा परीक्षा गर्न सके विद्यार्थीहरुको अध्ययनलाई प्रभावकारी बनाउन पनि सकिन्छ ।

निशुल्क शिक्षाः

नेपालमा माध्यामिक तथा उच्च शिक्षा हासिल गर्नको लागि सर्वसधारण अभिभावक तथा विद्यार्थीहरुको लागि निकै कठिन रहेको छ । अधिकतम अभिभावकहरुको न्यून आयस्रोत रहेकोले उच्च शिक्षाको लागि महंगो शुल्क तिर्नुपर्ने बाध्यताले धेरै जसो विद्यार्थीहरुले वीचैमा अध्ययन छोडेर विदेशिनु पर्ने वाध्यता रहेको छ। विद्यार्थीको चाहना अनुसार निशुल्क अध्ययन गर्न पाउने व्यवस्था भएमा नेपालमा साक्षरता दरमा बृद्धि मात्र नभई सक्षम र क्षमतावान विद्यार्थीहरुको उत्पादन हुनेमा दुई मत नहोला । त्यसैले आजको लगानीले नै भोलिको नेपाल निर्माण सम्भव देखिन्छ ।

आवासीय विद्यालय सञ्चालनः

भौगोलिक विकटताले गर्दा पहाडका अधिकतम बालबालिकाहरु एकातर्फ विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ भने अर्कोतर्फ विद्यालयसम्मको हिँडाइले शिक्षामा रुची कम हुने गरेको पाइन्छ । त्यस्तै गरी पहाडी भेगमा विशेषतः बसोबास निकै पातलो हुने भएकोले सबै ठाउँमा गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउन पनि सरकारलाई निकै कठिन छ । अतः कक्षा ६ देखिका बालबालिकाहरुलाई विद्यालयमा आवासिय सेवा सहितको शिक्षा प्रदान गर्दा विद्यालयको संख्या तथा शिक्षकहरुको संख्या पनि घटाउन सकिन्छ । विद्यार्थीहरुलाई अध्ययनको लागि पर्याप्त समय उपलब्ध हुने हुदा अतिरिक्त कृयाकलापहरु जस्तै संगीत, कम्प्युटर, सिलाई, तरकारी खेती लगायत अन्य कृयाकलापहरु समेत सञ्चालन गर्न सकिन्छ ।

अन्त्यमा, नेपालको शिक्षा प्रणालीमा सुधारका लागि फिनल्याण्डको जस्तै हुबहु लागु गर्न सकिँदैन । फिनल्याण्डको सफलताको पछाडि त्यहाँको सामाजिक, राजनीतिक, आर्थिक सुसंस्कारले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । राजनीतिक दलमा शिक्षाको बढ्दो भोक र चाहनालाई परिपूर्ति गर्न र हरेक अभिभावहरुले आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोटको बाबजुत मात्र सम्भव भएको देखिन्छ । अतः नेपालमा पनि आज नै यस सम्बन्धी बहस र छलफल गरी शिक्षामा पर्याप्त लगानी गर्न सकेमा मात्र आउने सयौं बर्षसम्म शिक्षाको ज्योति पाउने अवसर हाम्रा पुस्ताले पाउनेछन् ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्