Tuesday, September 29

काेराेनाबाट विदेशमा १४३ नेपालीको मृत्यु, २८ हजार ९ सय भन्दा बढी संक्रमित

July 5, 2020 154

काठमाडाैं, २१ असार । कोरोना भाइरस(काेभिड १९) सङ्क्रमणबाट विदेशमा थप १३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्