Saturday, December 5

छोराको उपचारका लागि सहयोग माग्दै गोमा कुमारी

July 5, 2020 175

धादिङ : नीलकण्ठ नगरपालिका ८ माथिल्लो हटियाका हितनारायण श्रेष्ठ उमेरले भर्खर २१ वर्षका भए । गाडी चलाउन सिकेर आफै स्वरोजगार भइसकेका श्रेष्ठको सामान्य अवस्था हुँदो त उनी यतिबेला गाडी चलाएर घरखर्च चलाइरहेका हुन्थ्ये । समय सधै एकनासको कहाँ हुदो रहेछ र। हितनारायणको जीवनमा २०७५ सालको नयाँ वर्ष सधैंका लागि कालो दिन बन्न पुग्यो ।

पोखराको डेरी कम्पनीमा गाडी चालकको काम गर्ने हितनारायण वैशाख १ गते राती अबेर कोठा फर्किए । मुलढोकामा गेट लगाइएको र फोन गर्ने पैसा पनि मोबाइलमा नभएपछि उनी घरको छतबाट बरण्डामा झरेर कोठामा जाने योजना बनाए । तर बाहिरबाट छतमा उक्लिदै गर्दा तेस्रो तल्लाको बरण्डाबाट भूँइमा बजारिन पुगे ।

आफन्त र छरछिमेकीले तत्कालै गण्डकी अस्पताल पुर्‍याए। त्यहाँबाट मनिपाल अस्पताल रिफर गरियो । उनलाइ त्यहाँ ८ महिना राखेर उपचार गरियो । हितनारायणका बुवा पदम नारायणले भने, ‘तीन तला माथिबाट खसेर बजारिएपछि छोरोको कम्मर मुनीको भाग चल्दैन, अस्पतलाममा २÷३ पटक अप्रेसन गरियो, पैसा धेरै खर्च भयो तर छोराको अवस्थामा सुधार भएन ।’

लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा हितनाराणको ओच्छ्यानको बास भएको साढे २ वर्ष भयो । कम्मर मुनीका भाग सुक्दै गइरहेको छ । कम्मरमुनी चिमोटे पनि, कुटेपनि केही थाहा नहुने हितनारायण बताउँछन् । ‘कम्मरमुनी केही छैन जस्तो लाग्छ, ज्यान हल्लाउँदा कम्मरसम्म मात्रै थाहा पाउछु, ‘ हितनाराणले भने, ‘खाटमा यताबाट उता पल्टिन पनि सहारा चाहिन्छ ।’

छोराको स्याहार सुसार गदै आमा गोमाकुमारी।तस्बिर : अन्नपूर्ण

हितनारायणको उपचारको लागि परिवारले सक्दो प्रयास गरे । उनको उपचारमा दाइ, दिदी भिनाजु र परिवारले गरेर २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसके तर उनको अवस्थामा सुधार आएको छैन ।

बुवा पदम नारायणले भने, ‘मेरुदण्ड भाँचिएको भएपनि ह्वील चियरमा यता उता त गर्न सक्थ्यो होला नी, यसरी दिशापिसाब नै एकै ठाउँमा हुनेगरी ओच्छ्यानकै बास हुन्न थियो होला, ज्यान सुक्दै जाँदैन थियो होला, मेरुदण्ड नै भाँचिएका अरु बिरामी पनि ह्वीलचियरमा बसेको देखिन्छ ।’

छोराको उपचारमा पाखो बारी बेचेर खर्च गरेको भएपनि ८ महिना अस्पतालमा उपचार गरेर राख्दा यो समस्या भएको भनेर डाक्टरले नभनेको पदमनारायणले बताए । छोरोका अवस्था बुझ्न वडादेखि जिल्लाका नेतासम्म घर आइपुगेको भएपनि कोही कसैले सहयोग नगरेको पदमनाराणले दुःखेसो पोखे ।

‘एक एक घण्टामा कोल्टे फेराइदिरहनुपर्छ, हितनाराणकी आमा गोमा कुमारीले रुँदै भनिन्, ‘छोरोको यो अवस्था भएपछि आफू मेलापात समेत गएकी छैनन् ।’ डाक्टरहरुले २ वर्षसम्म घरमै राखेर १÷१ घण्टामा कोल्टे फेराइदिरहनु पर्ने र २ वर्षपछि फेरी चेकजाँच गरेपछि मात्रै उपचार हुने-नहुने बताएको भएपनि खर्च अभावमा अहिले चेकजाँच गराउन समेत लान नसकिएको गोमा कुमारीले बताइन् ।

‘सास छउन्जेल आस हुँदो रहेछ, अब मरोस भनेर छाडिदिन पनि सकिँदो रहेनछ, गोमाकुमारी भावविह्वल हुँदै भनिन्, ‘आमाको मन किन मान्थ्यो र । रिसाए पनि, झर्को फर्को गरेर भएपनि घण्टा÷घण्टामा दिशापिसाव गराइरहेको छु । कोल्टे फेराइदिरहेको छु ।’
सधै एकै ठाउँमा सुतिरहँदा हितनाराणको घुँडा र तिघ्रामा घाउ भइसकेको छ । दिनहुँ ड्रेसिङ गर्नुपर्छ । औषधि र मलम पट्टि गरेर महिनाको ७÷८ हजार खर्च भइरहेको बुवा पदमनाराणले बताए । ‘आम्दानी केही छैन, पाखोबारीमा खनिखोस्री गरेर जिविका चलाउने हामीलाई यो अवस्था आइलाग्यो, पदमनाराणले भने, ‘जेठो छोरोलाइ यसको उपचार गराउँदा लागेको ऋण को ब्याज तिर्दैमा ठिक्‍क छ, कमाउने अर्को छोरोको यो अवस्था छ, उपचार गरेरै ऋण लागिसक्यो, आम्दानी केही छैन, छर छिमेकी र आफन्तको सहयोगमा औषधि किनेर ख्वाइरहेका छौँ । कतिन्जेल मागेर खुवाउने हो, चिन्ता छ ।’
source:Annapurna Post

प्रतिकृया दिनुहोस्