Saturday, September 26

गुरुले भने, ‘जुन शिष्यले गुरुको ज्ञानलाई अरु फैलाउँछ, बाड्छ उनै श्रेष्ठ उत्तराधिकारी हुने पात्र हुन् । मूलतः गुरुप्रति यो नै सच्चा दक्षिण हो ।’

July 5, 2020 112

गुरु–दक्षिणबारे अनेकन पौराणिक कथा प्रचलनमा छन् । त्यसमध्ये एकलव्यको कथा बढी चर्चित छन् । एकलव्यले धनुष विद्या सिक्न चाहेका थिए । तर, उनलाई धनुष विद्या सिकाउने गुरु तयार भएनन् । खासगरी गुरु द्रोणाचार्यले उनलाई धनुष विद्या सिकाउन अस्विकार गरे ।

अन्ततः एकलव्यले द्रोणाचार्यको प्रतिमा स्थापना गरे । उनैलाई गुरु मानेर धनुष विद्या सिके । यसमा उनी निपूर्ण पनि भए । पछि गुरु द्रोणाचार्यले उनलाई ‘गुरु–दक्षिण’ स्वरुप बुढी औला मागे । एकलव्यले गुरुलाई दक्षिण स्वरुप बुढी औला काटेर दिए ।

यो पौराणिक कथा आफैमा अर्थपूर्ण छ । यसले एउटा शिष्यप्रतिको लगाव, समर्पण, त्यागको मर्म बुझाउँछ ।

वास्तवमा एउटा गुरुको लागि सही गुरु–दक्षिण के हुनसक्छ ? गुरु दक्षिणाको अर्थ हो गुरुबाट प्राप्त शिक्षा, ज्ञान एवं सीपलाई अरु फैलाउने, सही उपयोग गर्ने र त्यसलाई जनकल्याणमा लगाउने । मूलतः गुरु दक्षिणाको अर्थ शिष्यको परीक्षाको सन्दर्भमा लिने गरिन्छ । गुरु दक्षिणा गुरुप्रति सम्मान वा समर्पणको भाव हो ।

प्राचीनकालका एक गुरु आफ्नो आश्रमलाई लिएर एकदम चिन्तित थिए । गुरु बृद्ध भइसकेका थिए र उनी आफ्नो बाँकी जीवन हिमालयमा गएर बिताउन चाहन्थे । तर, आफु आश्रमबाट हिँडेपछि त्यहाँ अर्को योग्य उत्तराधिकारी राख्नुपर्ने हुन्थ्यो । गुरुको चिन्ता यही विषयमा थियो कि, आफुले आश्रम छाडेपछि योग्य उत्तराधिकारी कसलाई राख्ने ? आश्रमलाई सही ढंगले सञ्चालन कसले गर्न सक्छन् ?

त्यस आश्रममा दुई शिष्य थिए र दुबै गुरुका प्रिय थिए । दुबैलाई गुरुले बोलाए । उनीहरु गुरुको सम्मुखमा उभिए । गुरुले भने, ‘शिष्यहरु म तीर्थमा जाँदैछु । अतः गुरु दक्षिणको रुपमा म तिमीहरुलाई केवल यति कुरा माग्नेछु कि यहाँ दुई मुठी गहुँ छ । एक–एक मुठी तिमीहरु दुबैले सम्हालेर राख । जब म तीर्थबाट फर्किएर आउनेछु तब गहुँ मलाई फिर्ता गर्नुपर्नेछ ।’ दुबै शिष्यले गुरुको कुरा सुनिरहे । गुरुले अन्त्यमा यसो भने, ‘जुन शिष्यले आफ्नो गहुँको सुरक्षित फिर्ता गर्नेछ म उनलाई नै यस गुरुकुलको गुरु नियुक्त गर्नेछु ।’

दुबै शिष्यले गुरुको आज्ञा शिरोधर गरे र गुरुलाई विदा गरे ।

एक शिष्य गुरुलाई भगवान मान्थे । उनले गुरुबाट प्राप्त गहुँ बडो जतनसाथ राखे र दिनहुँ त्यसमा पूजा गर्न थाले । दोस्रो शिष्य, जो गुरुलाई ज्ञानको स्रोत मान्थे उनले एक मुठी गहुँ लिएर गुरुकुलको पछाडिको खेतमा छरिदिए ।

केही महिना वित्यो । गुरु तीर्थबाट फर्किएर आश्रममा आए । गुरुले दुबैलाई आफ्नो गहुँ फिर्ता मागे । पहिलो शिष्यले गुरुलाई गहुँको पोका फिर्ता गरिदिए, जुन उनले निकै जतनसाथ राखेका थिए । गुरुले पोका खोलेर गहुँ हेरे, जुन सड्न लागेका थिए । उक्त गहुँ न खानका लागि उचित थियो, न बिउँको लागि ।

दोस्रो शिष्यलाई गुरुले बोलाए । उनी गुरुकहाँ आउन त आए तर उनको हातमा गहुँ थिएन । तब गुरुले सोधे, ‘खै त मेरो गहुँ ?’

शिष्यले विनम्रतासाथ भने, ‘माफ गर्नुहोला गुरु, तपाईंले मलाई जुन गहुँ दिनुभएको थियो त्यो सग्लो रुपमा म फर्काउन समर्थ छैन ।’

गुरुले सोधे, ‘किन शिष्य ?’

शिष्यले भने, ‘उक्त गहुँ मैले गुरुकुल पछाडिको खेतमा छरिदिएँ ।’ गुरु र शिष्य दुबै खेतमा गए । गहुँ लहलह भइरहेको थिएको । एक मुठी गहुँले खेत नै हराभरा भएको देखेपछि गुरु औधि खुसी भए । गुरुले भने, ‘जुन शिष्यले गुरुको ज्ञानलाई अरु फैलाउँछ, बाड्छ उनै श्रेष्ठ उत्तराधिकारी हुने पात्र हुन् । मूलतः गुरुप्रति यो नै सच्चा दक्षिण हो ।’
source:OnlineKhabar.com

प्रतिकृया दिनुहोस्