Tuesday, September 22

सरकारी अधिकारीको दाबी – ‘नेपालमा कोरोना संक्रमण दोस्रो चरणमै छ’ जनस्वास्थ्यविद् भन्छन्- ‘संक्रमण तेस्रो चरणमा गइसक्यो. सरकारले अहिलेसमेत दोस्रो चरणमै रहेको किन भन्छ, बुझ्न सकिएन,केही समयपछि संक्रमण चौथो चरणमै जान सक्छ ।’

June 29, 2020 129

काठमाडौँ — पछिल्ला साताहरुमा कोरोना संक्रमणको विस्तार तीव्र भएसँगै नेपालमा यसले समुदायस्तरमै महामारीको रुप लिन सक्ने जोखिम बढेको छ । स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनुले जोखिम बढाएको हो ।

संक्रमण यही क्रममा विस्तार हुने तर स्वास्थ्य सतर्कतामा कडाइ नगरिने हो भने समुदायमा फैलिने प्रबल सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । हालसम्म सरकारले कोरोना भाइरस संक्रमण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ । केही विज्ञले भने यो संक्रमण विस्तारै समुदायमा फैलिने अन्तिम चरणमा रहेको बताएका छन् ।

संक्रमण अहिले कुन अवस्थामा छ ?

अहिले संक्रमण कुन चरणमा छ भन्नेमा सरकारी अधिकारी र जनस्वास्थ्य विज्ञहरूबीच नै फरक–फरक धारणा छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना संक्रमण दोस्रो चरणमै रहेको दाबी गर्छन् । ‘हाल ९५ प्रतिशतभन्दा बढी संक्रमित विदेश (मुख्य रूपले भारत) बाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन्,’ उनले भने, ‘छिटपुट रूपमा भारतबाट आएका संक्रमितसँग सम्पर्कमा रहेका व्यक्ति पनि संक्रमित भएको पाइएको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भने संक्रमण तेस्रो चरणमा गइसकेको हुन सक्ने बताउँछन् । ‘सरकारले अहिलेसमेत दोस्रो चरणमै रहेको किन भन्छ, बुझ्न सकिएन,’ उनी भन्छन्, ‘केही समयपछि संक्रमण चौथो चरणमै जान सक्छ ।’ उनका अनुसार चौथो चरण भनेको देशव्यापी महामारीका रूपमा कोरोना फैलिनु हो । ईडीसीडीकै अर्का पूर्वनिर्देशक डा. जीडी ठाकुरले पनि संक्रमण बढ्दो क्रममा रहेको र यो दोस्रोबाट तेस्रो चरणतर्फ (सामुदायिक संक्रमण) पुगेको बताए ।

‘बाहिरबाट कोरोना संक्रमित आएर घरका मान्छेमा सारे, त्यसपछि घरकाबाट छरछिमेकी र समुदायमा संक्रमण देखिन थाल्यो,’ डा. मरासिनीले भने, ‘हाल संक्रमण पकेट क्षेत्रमा गरी विभिन्न ठाउँमा देखिएको छ । उदयपुर, बाँकेमा देखिएको संक्रमण नियन्त्रण भयो । त्यसपछि कपिलवस्तुमा फैलिएको संक्रमणमा अझै समस्या देखिएको छ, दैलेखमा खतरा बढिरहेको छ ।’

लकडाउन खुकुलो भएपछि संक्रमण बढेको हो ?

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण लकडाउन खुकुलो भएपछि बढेको होइन । ‘क्वारेन्टाइनमा रहेकाको परीक्षण भएकाले बढी संक्रमण देखिएको हो,’ प्रवक्ता डा. गौतम भन्छन् । पहिला परीक्षण एकदमै कम र काठमाडौंमा मात्रै हुन्थ्यो । अहिले २३ ठाउँका प्रयोगशालामा परीक्षण भइरहेको छ । परीक्षण बढेकाले पनि संक्रमण धेरै देखिइरहेको डा. मरासिनीले बताए । ‘भारतबाट आएकामा पोजिटिभ देखिएको हो, क्वारेन्टाइनमा अधिकांश भारतबाट आएकाहरू छन्,’ डा. गौतमले भने ।

लकडाउन खुकुलो पारेर नभई विदेशबाट आएकाको सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा संक्रमण बढेको डा. ठाकुरले बताए । हालसम्म क्वारेन्टाइन र बाहिरबाट आएकाको मात्र पीसीआर परीक्षण गरिएको उनले औंल्याए । ‘हामीले समुदायमा संक्रमणको कस्तो अवस्था छ भन्ने परीक्षण त गरेकै छैनौं,’ उनले भने । अहिले मुलुकमा १२,७७२ जना कोरोना संक्रमित देखिए पनि समाजमा लुकेको केससमेत गरी यो एक लाखभन्दा बढी हुन सक्ने आशंकासमेत डा. ठाकुरले व्यक्त गरे । डा. गौतमका अनुसार अहिले दिनहुँ भारतबाट २ हजारदेखि २ हजार ५ सय जनासम्म आइरहेका छन् भने अन्य देशबाट करिब १ हजारदेखि १ हजार ५ सय जना स्वदेश आइरहेका छन् ।

पीसीआर परीक्षण कसले गराउने ?

पीसीआर परीक्षण कसले गराउने र कसले नगराउनेबारे भन्नेबारे सरकारले गाइडलाइन बनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार १४ दिन क्वारेन्टाइन बस्दा लक्षण नदेखिए घर जाने भन्ने नै अहिलेको व्यवस्था हो । ‘लक्षण देखिएका सबैको पीसीआर परीक्षण गर्नुपर्छ भने संक्रमितको निकट सम्पर्कमा रहेकाहरूको लक्षण नदेखिए पनि पीसीआर गर्नुपर्छ’ उनले भनिन् । सरकारले लक्षण नदेखिएका व्यक्तिलाई पीसीआर परीक्षण नगराउने नीति लिएको छ । तर विज्ञहरूले भने जोखिम समूहका र बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिको समेत पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । ‘कोरोना हटस्पट र भीडभाड भएको इलाकामा नमुना लिएर पीसीआर परीक्षण गर्नु आवश्यक छ,’ डा. ठाकुरले भने ।

आरडीटी परीक्षण गर्ने कि नगर्ने ?

आरडीटी परीक्षणको उपयोगिता र औचित्यबारे सुरुदेखि नै विवाद छ । सरकारी अधिकारीहरू अहिले पनि रोग पहिचानका लागि द्रुत परीक्षण किट (आरडीटी) बाट कोरोना जाँच नगरिएको दाबी गर्छन् । ‘आरडीटी जाँचका आधारमा कसैलाई कोरोना भएको भनिएको छैन,’ डा. झा भन्छिन्, ‘आरडीटीले एन्टिबडी परीक्षण गर्ने हो । यो सर्भिलेन्सका लागि हो ।’

तर डा. मरासिनी अझै आरडीटी परीक्षण गरिनुलाई ‘सरकारद्वारा गर्न नहुने काम भइरहेको’ संज्ञा दिन्छन् । नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य मन्त्रालयलाई आरडीटी परीक्षण गर्न रोक्नुपर्ने औंल्याउँदै डा. मरासिनीले भने, ‘आरडीटी टेस्टको कामै छैन । एमएमसीले यो नगर्नुस् भन्न सक्नुपर्थ्यो । टेस्ट गर्दा नेगेटिभ आएर घर जान्छ अनि मृत्यु हुन्छ । पीसीआर गर्दा कोरोना पोजिटिभ देखिन्छ ।’ आरडीटी परीक्षण प्राविधिक रूपमा त्रुटिपूर्ण काम भएको उनले बताए । ‘यसमा कमिसनको खेल पनि हुन सक्छ, यस्तो गर्न पाइँदैन, राष्ट्रिय स्रोतको दुरुपयोग भइरहेको छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम भने कोरोना भाइरसको स्टेजअनुसार कुन परीक्षण गर्ने भन्ने निधो गर्नुपर्ने बताउँछन् । सम्पर्कमा आएको ५–६ दिनपछि पीसीआर र १५–१६ दिन पुगेपछि एन्टिबडी टेस्ट (आरडीटी) गर्नुपर्ने उनको तर्क छ । हाल र्‍यापिड गर्न सक्ने एन्टिजेन टेस्ट आएको जनाउँदै डा. गौतमले मन्त्रालय यस्तो परीक्षण केही किट ल्याएर गर्ने तयारीमा रहेको जानकारी दिए । वैज्ञानिक रूपले समुदायमा संक्रमण फैलिइसकेपछिको अवस्थामा सर्वेक्षणका लागि आरडीटी परीक्षण गरिने जनाउँदै डा. ठाकुरले आरडीटीअन्तर्गत एन्टिजेन परीक्षण भने प्रभावकारी हुन सक्ने औंल्याए ।

क्वारेन्टाइन ठीक कि होम क्वारेन्टाइन ?

कोभिड–१९ को लक्षण नदेखिएका (एसिम्प्टोम्याटिक) वा मधुरो (माइल्ड) लक्षण भएका संक्रमितहरू विशेष सावधानी अपनाउँदै घरमै बसेर पनि स्वास्थ्य लाभ गर्न सक्ने कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी सरकारले जारी गरेको निर्देशिकामा उल्लेख छ । तर घरमा छुट्टै सावधानीसाथ बस्न गाह्रो भएकाहरूले भने सरकारद्वारा तोकिएको हस्पिटल वा आइसोलेसन सेन्टरमै बस्नुपर्छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार सरकारको नीति लक्षण नभएका वा मधुरो भएका कोरोना संक्रमितलाई घर पठाउने र लक्षण भएकाहरूलाई उपचारका लागि अस्पतालमा राख्ने हो । उनका अनुसार मापदण्ड नपुगेका र अव्यवस्थित क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा भन्दा होम क्वारेन्टाइन र आइसोलेसनमै बस्नु राम्रो हो । होम क्वारेन्टाइनका लागि छुट्टै घरलगायतका उपयुक्त संरचना नहुनेका लागि राज्यले क्वारेन्टाइनको व्यवस्था गरेको हो । तर ती क्बारेन्टाइनहरू व्यवस्थित हुन नसक्दा त्यहीबाट संक्रमण फैलिएको गुनासाहरू आइरहेका छन् । त्यसैले स्वास्थ्य सुरक्षाबारे जानकार भएकाहरूका लागि होम क्वारेन्टाइन उपयोगीे हुने भनिएको हो । डा. मरासिनी भन्छन्, ‘युवराज चार्ल्स अस्पताल नगई घरमै बसे । थुप्रै राजनीतिकर्मीले समेत यही गरे । तर यो क्षमता भएकाहरूका लागि मात्र हो ।’

संक्रमण कुन गतिमा बढिरहेको छ ?

नेपालमा हाल संक्रमणको वृद्धिदर ८ प्रतिशत छ । विगत दुई साताको कोरोना परीक्षणमा एक सय नमुना जाँच्दा ८ देखि १० प्रतिशतसम्म पोजिटिभ केस देखिएको छ । कम परीक्षण गर्दा पनि संक्रमणको वृद्धिदर उल्लेख्य रहेकाले यो क्रम अझै बढ्ने चिकित्सकहरू बताउँछन् । ‘यसरी बढ्दै गयो भने साउन अन्त्यसम्म एक लाखभन्दा बढी संक्रमित हुन सक्छन्,’ डा. ठाकुरले भने ।

संक्रमित निको हुने दर के छ ?

मुलुकमा कोरोना निको हुने दर हाल २३ प्रतिशत छ । विज्ञहरूले यो दर कम भएको बताउँदै आएका छन् । ‘हामीकहाँ बिरामीलाई निको बनाउने दर २३.५९ प्रतिशतमात्र छ, जुन धेरै कम हो, यसलाई न्यूनतम ५० प्रतिशतमा पुर्‍याउनुपर्छ,’ डा. ठाकुर भन्छन् । नेपालमा कोरोनाले हुने मृत्युदर ०.२२ प्रतिशत छ । कोरोनाका कारण शनिबारसम्म २८ जनाको मृत्यु भइसकेको छ । वृद्ध, दीर्घरोगी आदिमा कोभिड–१९ संक्रमण नदेखिएकाले मृत्यु दर खासै बढी नदेखिएको विज्ञहरूको तर्क छ । चीनलगायत विश्वका अन्य भागमा कोभिड–१९ बिरामीहरूलाई प्रयोगात्मक आधुनिक, वैकल्पिकलगायतका विभिन्न प्रकारको उपचार प्रक्रिया सुरु गरे पनि नेपालमा भने ज्वरोका लागि सिटामोल र तत्काल देखिएको समस्याको लाक्षणिक उपचारबाहेक अन्य कुनै प्रयास गरिएको छैन ।

जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार हालसम्म कोरोना रोगीमा कुनै प्रकारको एक्सिपेरिमेन्टल उपचार भएको छैन । हालसम्म अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएकाहरू कोभिड–१९ संक्रमित भएकाले उनीहरू सामान्य अस्पताल बसाइपछि निको भएका हुन् । डा. बीसी भन्छन्, ‘हामीले कम्तीमा ५० प्रतिशतसम्म निको हुने दरलाई बढायौं भने भविष्यमा यो रोगबाट हुन सक्ने सम्भावित मृत्युदर कम हुन्छ ।’

अहिले लकडाउन छ कि छैन ?

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि देशभर लकडाउन छ । यसलाई अलि खुकुलो पारिएको मात्र हो । सरकारले हाल अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन भनेको छ । यसमा पनि बूढापाका र कोरोना संक्रमणका जोखिममा रहेकाहरूलाई थप चनाखो हुन भनिएको छ । सार्वजनिक यातायात, स्कुल, कलेज आदि नखुलेकाले अहिले पनि संक्रमण अत्यधिक रूपमा बढ्न पाएको छैन । ‘सार्वजनिक सवारीसाधन बन्द हुनुले धेरै फाइदा पुगेको छ,’ डा. ठाकुर भन्छन्, स्कुल, कलेजहरू न्यूनतम तीन महिनासम्म बन्द नै राख्नुपर्छ ।

अब लकडाउन हट्छ ?

सरकारी अधिकारीहरूका अनुसार अब एकै पटक मुलुकको सबै ठाउँमा लकडाउन हुँदैन । आवश्यकताअनुसार ठाउँ, क्षेत्र विशेषमा भने लकडाउन हुन सक्छ । रोग निमिट्यान्न नभएसम्म मुलुकका विभिन्न भागमा संक्रमणको अवस्थाअनुसार कडा लकडाउन, अलि खुकुलोलगायत हुन सक्छ । आगामी दिनमा विभिन्न जिल्ला, स्थान विशेषका बासिन्दाको व्यवहार, स्वभावले लकडाउनको अवस्था निर्धारण गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुलुकभरि लकडाउनलाई व्यवस्थित गर्न बनेको ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड २०७७’ अनुसार २०० जनाभन्दा बढी सक्रिय (रोग सार्न सक्ने क्षमता भएका) कोरोना संक्रमित भएको जिल्लामा पूर्ण लकडाउन गरिने उल्लेख छ । ५० जनासम्म सक्रिय संक्रमित रहेको जिल्लामा मापदण्डमा भएका सुरक्षा उपाय पालना गरेर पेसा, व्यवसाय सञ्चालन गर्न सकिन्छ । यस्तै ५१ देखि २०० जनासम्म सक्रिय कोरोना संक्रमित रहने जिल्लामा स्वास्थ्य मन्त्रालयको मापदण्डमा उल्लेख भएअनुसारको सुरक्षा उपाय अपनाएर तोकिएको समय र कार्य अवधिभित्र मात्र पेसा सञ्चालन गर्न सकिनेछ ।

अबको उपाय के ?

संक्रमण फैलिन नदिन प्रत्येकले सामाजिक दूरी (६ फिट) कायम गर्ने, घरबाहिर निस्किँदा मास्क लगाउने, साबुनपानीले नियमित हात सफा गर्ने र अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनेजस्ता स्वास्थ्य सुरक्षा अनिवार्य रूपमा अपनाउनुपर्छ । तीन तह भएको कपडाको वा मेडिकल मास्क प्रयोग गर्नुपर्छ । समय–समयमा साबुनपानी वा सेनिटाइजरले हात सफा गर्नुपर्छ । त्यसो नगरिए संक्रमण समुदायमा फैलिने र त्यस अवस्थामा कति जना संक्रमित भए वा कति जनाको मृत्यु भयो भन्नेसमेत लेखाजोखा गर्न नसकिने स्थिति आउने उनले बताए । कोरोना संक्रमण उचाइमा पुग्न बाँकी नै रहेको जनाउँदै डा. ठाकुरले रोकथामको प्रयास नहुँदा संक्रमण चौथो चरणमा जान सक्ने बताए ।

‘चौथो चरणमा संक्रमण गएपछि नियन्त्रणको जतिसुकै प्रयास गरे पनि गाह्रो हुन्छ,’ उनले भने । सार्वजनिक तथा निजी सबै संस्था र स्थानमा सरकारद्वारा निर्धारित जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाइडलाइन पालना गर्नुपर्छ । अनावश्यक आवागमन रोक्नुपर्छ । व्यक्ति–व्यक्तिबीच देखिएको संक्रमणको कडी तोड्नुपर्छ ।

प्रतिकृया दिनुहोस्