Saturday, December 5

कोरोना जितेर रमाउँदै घर फर्किए ३ वर्षीय बालकसहित २७ संक्रमित

June 27, 2020 175

रौतहट, १२ असार । रौतहटमा शुक्रबार ३ वर्षीय बालक विकास सहनी कोरोना संक्रमण जितेर घर फर्किएका छन् । उनीसँगै अन्य २७ जनापनि संक्रमण मुक्तभएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोनाको केन्द्रको रुपमा विकास भएको रौतहटमा कोरोना जितेर फर्कनेको संख्यापनि बढिरहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा ७ सय १५ पुगेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ को अस्थायी कोरोना अस्पतालबाट शुक्रबार चारवटा नगरपालिकाका २८ जना निको भएर घर फर्किएका चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट श्यामबाबु साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्ज गरिएका सबैको हेटौडा स्थित प्रयोगशालामा पीसीआर विधिद्धारा गरिएको परीक्षणमा नेगेटिभ आएको हो । यसरी डिस्चार्ज हुनेहरुमा गढीमाइ नगरपालिकाका १९ जना, चन्द्रपुर नगरपालिकाका २ जना, वृन्दावन नगरपालिकाका ३ जना तथा गुजरा नगरपालिकाका ४ जना रहेका छन् ।

करिब एक महिना अगाडि भारतको सुरतबाट आफ्ना बुबा आमा र ८ वर्षीय दाजुसँगै घर फर्किएका थिए । उनका बुबाआमा भारतमामजदुरी काम गर्ने गर्थे । जिल्लाको माधवनारायण नगरपालिकाको मिठुहवाका उनीहरुलाई भारतीय सीमा नाकाबाट उद्धार गरेर चन्द्रपुर–६ मारहेको एन्फा महिला एकेडेमीको क्वारेन्टाइमा राखिएको थियो ।

क्वारेन्टाइनमा उनीहरु चारैजनाको स्वाव संकलन गरेर परीक्षणको लागि पठाउँदा उनी र उनका बुबाको रिर्पोट पोजिटिभ आएको थियो भने आमा र दाजुको नेगेटिभ । रिर्पोट आएपछि आमा र दाजु घर फर्किए भने उनी बाबुसँगै चन्द्रपुर – ६ मा रहेको अस्थायी आइसोलेसनमा बसे ।

चारदिन अघि चन्द्रपुर २ मा रहेको अस्थायी कोरोना अस्पतालमा सरेका उनी शुक्रबार पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका हुन् । उनको बुबाको भने पुनः पीसीआर रिर्पोट पोजेटिभ आएकाले घर जान पाएनन् ।

निको भएर घर फर्किएका उनलाई स्वास्थ्वकर्मीले हातमा फूल दिएर विदाइ गरेका थिए । उनलाई लिन उनकी आमा रामकली देवी सहनी सो अस्पतालमा पुगेकी थिइन् । आमालाई देख्ने बित्तिकै उनी दौडिएर आमातर्फ गएर आफ्नो हातमा रहेको कोरोना भाइरस सचेतनाको पम्पलेट आमालाई दिए ।

कोरोना मुक्तभएको छोरालाई २० दिनपछि देख्न पाउँदाआमा रामकली देविका आँखा हर्षले रसाएका थिए । उनले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने भन्दै भगवान र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी थिइन् । श्रीमान्को रिर्पोट पोजिटिभ आएकोमा निराश भएकी उनी छोरा निको भएर घर फर्किदा निकै हर्षित थिइन् ।

जाँदाजाँदै उनले कोरोनाको कहरले रोजगारी पनि गुमेको र फर्केर भारत जाने अवस्थापनि नरहेकाले छोराहरुलाई कसरी पालनपोषण गर्ने, शिक्षादीक्षा दिने भन्ने चिन्ता व्यक्त गरिन् । रातो हाफगन्जी, कालो हाफ पाइन्ट र खुट्टामा चप्पल अनि मुखमा मास्क लगाएका ३ वर्षका विकास आइसोलेसनमापनि रमाएर खेलिरहेका थिए ।

विकासको स्वभाव र हौसलाले सबैको मन जितेको सञ्चारकर्मी सुब्बा कार्की बताउनुहुन्छ । कोरोनाभाइरस भन्ने बित्तिकै ठूलठूला मानिसहरु समेत डराइरहेको बेला ३ वर्षका विकासले जुन उत्साह र हिम्मतका साथमा कोरोना जितेर फर्किएका छन् त्यो सबैको लागि प्रेरणा हुने कार्कीको भनाइ छ ।

उहाँले कोरोना संक्रमणलाई रमाएरै जितेका विकासको पालपोषण र पढाइको लागि सहयोगी हातहरुले पहल गरिदिए राम्रो हुने धारणापनि राख्नुभयो ।

प्रतिकृया दिनुहोस्