Wednesday, September 30

रोचक समाचार लकडाउनबीच ‘खेल मैदान निर्माण’

June 23, 2020 119

बेनी : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण करिब चार महिनादेखि नेपालमा खेलकुद गतिविधि ठप्प छ। यसबीचमा कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका छैनन्। खेलाडीहरूको दैनिकी पनि व्यक्तिगत रूपमा सामान्य शारीरिक व्यायाममा मात्र समेटिएको छ।

तर, यसबीचमा पनि म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेल मैदान निर्माण भने धमाधम भइरहेको छ। युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण सुरु गरेको हो।

यसअघि स्थानीय र नगरपालिकाको लगानीमा गरिँदै आएको पूर्वाधार निर्माणका लागि मन्त्रालयले बजेट विनियोजन गरेपछि यसले तीव्रता पाएको हो। यस वर्ष मन्त्रालयको ५० लाख रुपैयाँको सहयोगमा खेल मैदानको प्यारापिट बनाउन लागिएको जानकारी उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले दिए।

‘हामीले खेल मैदानको निर्माण कार्यलाई तीव्रता दिएका छौं। पाँच खुड्किलो भएको ६० मिटर लम्बाइ र २.७० मिटर चौडाइसहितको प्यारापिट बनाउन लागिएको हो’, बोगटीले भने, ‘प्यारापिटमाथि १० फिट अग्लो तारजाली पनि लगाउने योजना छ।’

धौलागिरि क्षेत्रकै ठूलो क्षेत्रफल भएको खेल मैदान बनाउन पर्याप्त जग्गा भएका कारण यसलाई रंगशालाकै रूपमा अघि बढाउन मन्त्रालयले चासो दिएको उपभोक्ता समितिका अध्यक्ष बोगटीले बताए। ‘पर्याप्त जग्गा भएकाले यसलाई सुविधासम्पन्न रंगशालाकै रूपमा अगाडि बढाउने योजना छ’, उनले भने।

कोरोनाको जोखिम र बन्दाबन्दीका बीच स्थानीय मजदुर परिचालन गरेर निर्माणको काम गरिएको छ। दैनिक २० देखि २५ जनाले काम गरिरहेका छन्। समूह बनाएर फरक फरक ठाउँमा भौतिक दूरी कायम हुने गरी मजदुरलाई काममा लगाइएको जानकारी उपभोक्ता समितिका सदस्य पुनम पुनले दिए।

बन्दाबन्दीका कारण रोजगारी गुमाएका र फुर्सदिला भएका युवाहरूले पनि गाउँमै काम पाउँदा राहत महसुस गरेको पनि उनले बताए। प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले रत्नेचौर खेल मैदानलाई सुविधासम्पन्न बनाउने योजनालाई निरन्तरता दिइने बताए।

हाल एक सय ६० मिटर लम्बाइ र एक सय मिटर चौडाइ भएको खेल मैदानलाई भविष्यमा अझ विस्तार गर्न सकिने पर्याप्त जग्गा छ। उक्त खेल मैदानमा राष्ट्रिय स्तरको फुटबल र एथलेटिक्सका प्रतियोगितासँगै अन्य खेल पनि सञ्चालन गर्न मिल्छ।

बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेल मैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने स्थानीय युवा सुजन थापाले बताए। गत वर्ष २० लाख रुपैयाँको लागतमा खेल मैदान परिसरमा मञ्च निर्माण गरिएको थियो।

त्यसअघि १० लाख रुपैयाँको लागतमा दुई सय मिटर तारजाली लगाउने काम भएको थियो। केही वर्षअघि स्थानीय युवाले आर्थिक संकलन गरेर भिरालो जमिन सम्याएका थिए। त्यसपछि उक्त स्थललाई खेल मैदानका रूपमा अगाडि बढाउने योजना बनेको थियो।

प्रतिकृया दिनुहोस्