Thursday, November 26

लकडाउनमा पनि सांसदले छाेडेनन् सवारी भत्ता

June 18, 2020 196

४ असार । लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो ।

भाडाको ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेरसमेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था गरेको थियो । तर बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ताबापत एक हजार रुपैयाँका दरले अरू बेलाकै जसरी सांसदले भत्ता लिएका छन् ।

लकडाउनका बेला संसद् बैठक चलिरहेकाले सचिवालयले सांसद ओसार्न चारवटा स्कारपियो गाडी व्यवस्था गरेको छ । सचिवालयका उच्च पदस्थ कर्मचारीले पनि बाटोमा पर्ने सांसदलाई संसद् भवनसम्म पुर्‍याउने गरेका छन् । संसद् सचिवालय सिंहरदबारबाट संसद् भवन बानेश्वरसम्म बससमेत सञ्चालन गरिएको छ । धेरैजसो सांसद आफ्नै गाडीमा र गाडी नहुने केही सांसद अरूको गाडीमा चढेरसमेत संसद् भवन पुगिरहेका छन् । तर संसद् सचिवालयले यातायात खर्च दिइरहेको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामा स्रोत व्यवस्थापन गर्न सरकारी कर्मचारीको भत्ता कटौती भइसकेको छ । तर सांसदहरुले चैतमा बैठकसमेत नहुँदा पूरा तलबसँगै र अरू भत्ता पनि लिइसकेका छन् । सांसदले मासिक तलबबापत ६४ हजार रुपैयाँ पाउँछन् । हरेक बैठक (समितिको समेत) मा उपस्थित भएबापत गाडी भाडा र बैठक भत्ता दिइन्छ । सचिवालयका एक कर्मचारीले भने, ‘कारोनाकै कारण कर्मचारीले पाउने भत्ता काटिएको छ । सांसदहरुले भने गाडी नचल्दा पनि गाडी भाडा लिइरहेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ । sourse: news24 nepal

प्रतिकृया दिनुहोस्