Monday, September 28

डा. किरणराज पाण्डेको विचार : हामीसँग भएका आरडीटी होस् या पीसीआर कुनै पनि टेस्टले संक्रमण भएको वा नभएको ग्यारेन्टी गर्न सक्दैन । त्यसैले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।

May 28, 2020 231

मजदुरीका लागि भारत गएका नेपालीहरु फर्किने क्रम बढेसँगै उनीहरुको व्यवस्थापन र परीक्षण चुनौतीपूर्ण बनेको छ । सीमा नाकामा विना परीक्षण आएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिन गर्ने भनिएको छ ।

तर धेरै क्वारेन्टिनमा मापदण्ड पुगेको छैन भने कतिपयको अवस्था निकै दयनीय छ । एउटै कोठामा १५/२० जना कोचिएर बस्नेदेखि शौचालयसमेत एउटै रहेको पाइएको छ । बाँकेको नरैनापुरमा त संक्रमितको समयमै अस्पताल पुर्‍याउन नसक्दा क्वारेन्टिनमै मृत्यु भएको छ । धेरै क्वारेन्टिनस्थल कोरोना फैलाने अखडा बन्ने खतरा रहेको जनश्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेकाहरुलाई कसरी सुरक्षित रुपमा क्वारेन्टिन गर्न सकिन्छ ? कहिले र कुन विधिबाट परीक्षण गर्नुपर्छ ? यही विषयमा गरिएको कुराकानीका आधारमा जनस्वास्थ्य विज्ञ डा. किरणराज पाण्डेको विचार :

अहिले भारतबाट नेपाल आउनेहरूको व्यवस्थापन, क्वारेन्टिन र टेस्टिङ कसरी गर्ने भन्ने विषयमा बहस चलिरहेको छ । यी कामहरू गर्न जटिल पनि छ र सजिलो पनि छ । अहिले जे जसरी क्वारेन्टिन, टेस्ट र आइसोलसनको काम भएको छ, त्यो गलत भएको छ ।

म के–के गलत भयो भन्दा पनि कसरी सही गर्न सकिन्छ भन्ने कुरा राख्छु । अहिले सबैभन्दा पहिले गर्नुपर्ने महत्वपूर्ण काम भनेको क्वारेन्टिन हो । तर अहिलेको जस्तो होइन, एकदम व्यवस्थित, सामाजिक दुरी कायम गरिएको क्वारेन्टिन । त्यसो हुँदा अहिलेको जस्तो क्वारेन्टिनबाटै संक्रमण सर्दैन । भारतबाट नेपाल छिर्दा १४ दिन व्यवस्थित क्वारेन्टिनमा राख्नैपर्छ ।

हामीसँग भएका आरडीटी होस् या पीसीआर कुनै पनि टेस्टले संक्रमण भएको वा नभएको ग्यारेन्टी गर्न सक्दैन । त्यसैले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।

आरटी–पीसीआरमा के हुन्छ भने मानिस जुन दिन भाइरससँग एक्सपोज हुन्छ, त्यसको पाँचदेखि १० दिनसम्म पोजेटिभ आउने सम्भावना हुन्छ । त्यसो गर्दा पनि कुल पोजेटिभ आउने सम्भावना ६० देखि ७० प्रतिशतभन्दामाथि जाँदैन । संक्रमण भएको ८ औं दिनमा जाँच गर्दा नेगेटिभ हुने सम्भावना कम हुन्छ भनिन्छ । त्यो दिनमा पनि २० प्रतिशत त नेगेटिभ आउने सम्भावना हुन्छ ।

सोही कारण आरटी–पीसीआर नेगेटिभ आएपनि क्वारेन्टिनमा १४ दिन बस्नुपर्छ । १४ दिन नै किन भनिएको हो भने अधिकांश मान्छेहरू, जसमा पाँचदेखि सात दिनमा लक्षण सुरु हुन्छ र १०/११ दिनपछि उनीहरूले संक्रमण सार्ने सम्भावना एकदम कम हुन्छ ।

त्यसैले टेस्ट पोजेटिभ आयो कि नेगेटिभ आयो भन्ने कुरासँग मतलब हुन्न । बरु मानिसले अरूलाई संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने कुराको विशेष महत्व हुन्छ ।

जर्मनीमा भएको एउटा अनुसन्धानले पाँचदेखि १० दिनसम्म आरटी–पीसीआर गर्दा सबैजसोमा पोजेटिभ आएको देखायो । ११ औं दिनपछि पोजेटिभ आउने क्रम ४० प्रतिशत घट्यो । तर, केही मानिसमा ३/४ हप्तासम्म पनि पोजेटिभ आयो । तर, त्यो खासै महत्वपूर्ण भएन । किनकी दुई हप्तापछि पोजेटिभ देखिए पनि ती मानिसहरूमा जीवित भाइरस देखिएन । जीवित भाइरस नदेखिएपछि संक्रमण सर्ने कुरा नै भएन ।

कतिपय व्यक्तिहरूमा १४ दिनपछि पनि लक्षण देखियो र पोजेटिभ देखियो भने उनीहरूमा जीवित भाइरस पनि हुन सक्छ । उनीहरू अपवाद हुन सक्छन् । त्यस्तो अवस्थामा तिनीहरूको थप परीक्षण गर्नुपर्ने अवस्था आउँछ ।

अहिलेको सरकारले बनाएको टेस्टिङ गाइडलाइनले पनि भारतबाट आउनेबित्तिकै आरटी–पीसीआर छिटो–छिटो गर्नुपर्छ भन्छ । किनभने उनीहरूले क्वारेन्टिनमा बसेर एकअर्कालाई संक्रमण सार्न सक्छन् । आरटी–पीसीआर गर्दा जस–जसलाई पोजेटिभ देखिन्छ उनीहरूलाई छुट्टै क्वारेन्टिनमा राख्नुपर्छ । ज–जसलाई नेगेटिभ देखिन्छ उनीहरूलाई पनि छुट्टै क्वारेन्टिनमा राखेर १४ दिनपछि टेस्ट गरेरै छाड्नुपर्छ ।

एउटा उदाहरण दिएर म बुझाउँछु ।

जस्तो कि तपाईं हिजो बोर्डरबाट नेपाल प्रवेश गर्नुभयो । तपाईंलाई हिजो मात्रै भिडभाडमा हुँदा कसैको माध्यमबाट संक्रमण सर्‍यो । तर, तपाईंलाई आउनासाथ आरटी–पीसीआर गरियो भने पक्कै पनि नेगेटिभ रिपोर्ट आउँछ । किनकि, त्यतिबेला तपाईंको शरीरमा भाइरस भए पनि देखाउँदैन । त्यसैले तपाईंलाई आरटी–पीसीआर गरेर नेगेटिभ आयो भन्दै ढुक्क भएर बस्ने अवस्था हुन्न । प्रोटोकलअनुसार जाँच भएन भने रिपोर्ट सही आउँदैन । त्यसैले जाँचमा प्रोटोकल अनिवार्य हुन्छ । त्यसैले रिपोर्ट नेगेटिभ आयो भने पनि १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ ।

आरडीटीको कुरा अर्कै छ ।

सामान्यतया रोग लागेपछि केही हप्तामा आईजीएम बढ्न थाल्ने र केही महिनामा आईजीजी बढ्न थाल्छ । त्यही आधारमा हामीलाई भाइरस पहिले नै सर्‍यो कि भर्खरै सर्‍यो भन्ने थाहा हुन्छ ।

तर, यहाँ त आईजीजी र आईजीएम सँगसँगै बढ्दो रहेछ । कतिपय अवस्थामा त आईजीएमले फल्स पोजेटिभ देखाउन सक्ने सम्भावना धेरै हुँदो रहेछ । कतिपय राम्रो ल्याबले त आईजीएम हेर्दै हेर्दैन, आईजीजी मात्रै रिपोर्टिङ गर्छ । किनकि इनएक्युरेट हुन्छ भन्ने उनीहरूको शंका छ ।

यो आरडीटी टेस्टको रिजल्टको आधारमा पीसीआर गर्दा जोखिम कहाँ हुन्छ भने सुरुको पाँचदेखि १० दिनमा लक्षण पनि देखिन्छ र आरटी–पीसीआर पनि पोजेटिभ आउँछ । त्यसपछि आरटी–पीसीआर पोजेटिभ आउने क्रम घट्दै जान्छ । तर, सम्पूर्ण रुपमा जिरोमा आउँदैन । तर, भाइरस आइसोलेट हुने सम्भावना भने लगभग जिरो हुँदै जान्छ । त्यसपछि पीसीआर पोजेटिभ आएपनि डर हुन्न ।

आरडीटी १०/११ दिनदेखि सुरु भएर विशेषगरी १४ दिनतिर पोजेटिभ देखिन थाल्छ । १९/२० दिनतिर अधिकांश पोजेटिभ देखिन्छ ।

अब कहाँनिर पोजेटिभ देखिन्छ भनेर हामीले थ्रेसहोल्ड बनाउनुपर्ने हुन्छ, त्यसले नै फरक पार्छ ।

त्यही थ्रेसहोल्डले नै नेगेटिभ र पोजेटिभ देखाउने कुरा बदल्छ । अघि हामीले १४ दिनपछि अधिकांश मान्छेले संक्रमण सार्दैन भनिराखेका थियौं । तर, आरडीटीमा त संक्रमण सरेको १४ दिनपछि पोजेटिभ देखाउँछ ।

भनेपछि यसरी पोजेटिभ देखाउँदा पनि समस्या हुन्छ । अन्धाधुन्ध आरडीटी प्रयोग गर्दा के–के समस्या आउँछ भनेर म एउटा उदारणबाट बुझाउँछु ।

मानौं, एउटा एक हजार जनाको समुदाय छ । त्यो समुदायमा एक प्रतिशत मानिसमा संक्रमण छ । भनेपछि एक हजार जनामध्ये १० जनामा संक्रमण हुने भयो ।

त्यस्तै, मानौं तपाईंले प्रयोग गर्ने किटमा ९० प्रतिशत रोग भएको मान्छेलाई पोजेटिभ देखाउने क्षमता र रोग नभएको मान्छेलाई नेगेटिभ देखाउन सक्ने क्षमता पनि ९० प्रतिशत नै छ ।

त्यही किटले जाँच गर्दा १० मध्ये ९ जनालाई मात्रै पोजेटिभ देखाउँछ भने एक जनालाई नेगेटिभ देखाउँछ । उतापट्टि नौ सय ९० जनामा संक्रमण देखाउँदैन् ।

नौ सय ९० जनाको ९० प्रतिशतलाई नेगेटिभ देखाउने भयो । लगभग त्यसको १० प्रतिशतलाई फल्स पोजेटिभ देखाउने भयो । भन्नाले ९९ जनालाई फल्स पोजेटिभ देखाउने भयो ।

हजार जनालाई परीक्षण गर्दा ९९ सय प्लस ९ जोड्दा १०८ जनालाई पोजेटिभ आयो । १०८ जनामा नौ जनामात्रै साँच्चिकै पोजेटिभ हुन् । बाँकी ९९ जना नेगेटिभ हुन् । यसको मतलब उक्त किटले ८ प्रतिशतलाई मात्रै साँच्चिकै पोजेटिभ देखाउने र ९२ प्रतिशतलाई त गलत रुपमा पोजेटिभ देखाउँदो रहेछ ।

अन्धाधुन्ध आरडीटी गर्दा यस्तै समस्या आउँछ ।

यो समस्या समाधान गर्ने तरिका के हो भने पहिले नै टेस्ट पोजेटिभ आउने सम्भावना भएको जनसङख्या खोजी गर्नुपर्छ । मानिसको ट्राभल हिस्ट्रीदेखि लक्षणहरू हेरेर त्यसको निक्यौल गर्नुपर्छ । अन्धाधुन्ध रुपमा जाँच नगरीकन सम्भावित संक्रमितलाई टेस्ट गर्‍यो भने ८ प्रतिशतबाट ४८ प्रतिशतमा पुग्छ । यस्ले धेरै अर्थ राख्छ । यसो गर्दा फल्स पोजेटिभ देखिने सम्भावना कम हुन्छ ।

यस्ता डिसिजनहरू हामी क्लिनिकल मेडिसनमा सधैं गर्छौं । त्यही प्रोटोकल फलो गरेर टेस्ट गर्नुपर्छ ।

अहिले त मेरो गाउँमा यति टेस्ट गर्नुपर्‍यो । मेरो मान्छेलाई टेस्ट गर्नुपर्‍यो भनेर पहुँचको भरमा टेस्ट गर्ने चलन छ, त्यो गलत हो ।

फेरि, काठमाडौं छिर्नलाई आरडीटी गर्नुपर्छ भन्ने निर्णय भएको हरेछ । गर्न खोजेको के हो मैले बुझ्न सकेको छैन । नेगेटिभ रिपोर्ट खोजेको हो कि पोजेटिभ ? तर जे खोजेको भए पनि यसमा समस्या छ ।

नेगेटिभ रिपोर्ट खोजेको हो भने पनि त्यो मानिसलाई पछि संक्रमण हुन सक्छ । पोजेटिज खोजेको हो भने पनि अघिको हाम्रो हिसाबले देखाइहाल्यो । ९२ प्रतिशतलाई त फल्स पोजेटिभ देखाउँदो रहेछ । त्यसैले व्यक्तिगत हिसाबले आरडीटी जाँच गर्नुहुन्न । समुदाय स्तरमा गर्न सकिन्छ, तर त्यहाँ पनि प्रोटोकल फलो गर्नैपर्छ ।

हामीले कोरोना संक्रमणविरुद्ध लड्न पर्याप्त समय पाएका त हौं । तर, सदुपयोग गर्न सकेनौं । अझै पनि धेरै ढिलो भएको छैन ।

प्रतिकृया दिनुहोस्