Sunday, October 25

‘संक्रमितको सही व्यवस्थापन नभए नेपालमा मृत्युदर बढ्न सक्‍छ’

May 24, 2020 233

‘संक्रमितको सही व्यवस्थापन नभए नेपालमा मृत्युदर बढ्न सक्‍छ’

डा. रामु खरेल यतिबेला जर्जिया राज्यस्थित एटलान्टाको ग्राडी अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कोरोना संक्रमितको उपचारमा खटिएका छन् । पब्लिक हेल्थमा मास्टर्स र इमर्जेन्सी मेडिसिनमा एमडी गरेका उनले अमेरिकाको ब्राउन युनिभर्सिटी र प्रोजेक्ट होपसँग मिलेर विश्वभरीका चिकित्सकलाई कोभिड इमर्जेन्सी भर्चुअल ट्रेनिङ पनि दिइरहेका छन् । नेपालका पनि ४० जना स्वास्थ्यकर्मीलाई उनले ट्रेनिङ दिएका थिए ।

उनीसँग कोरोना उपचारको अनभुव, त्यहाँको अवस्था र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सतर्कताको बारेमा अनलाइनखबरले कुराकानी गरेको छ ।
तपाई कार्यरत अस्पतालमा अहिलेको अवस्था के छ, त्यहाँ संक्रमितलाई क्वारेण्टाइन र आइसोलेसनको व्यवस्था कसरी गरिएको छ ?

हाम्रो अस्पतालमा १५ सय भन्दा बढी मानिसले उपचार गराए । २५ जना भन्दा बढीको उपचारको क्रममा मृत्यु भयो । अहिले हाम्रो अस्पतालमा २ किसिमको आइसोलेसन छ । एउटा लो रिस्क कोभिड वार्ड र अर्को हाइ रिस्क सेपरेट आइसोलेसन वार्ड । अलि कडा लक्षण भएकाहरुलाई हाइ रिस्क वार्डमा राखिन्छ । अलि कम लक्षण भएकालाई लो रिस्क कोभिड वार्डमा । र, कोभिडको कुनै लक्षण नभएका तर संक्रमितलाई नन कोभिड वार्डमा राखिन्छ ।

कतिपयको अवस्था र भाइरस लोड हेरेर घर पनि पठाइन्छ । घरमै बसेर सावधानी अपनाउन अनुरोध गरिन्छ । त्यस्ता बिरामीहरुले घरमै मास्क लगाउँछन् । दुरी कायम गर्छन् । सबै बिरामीलाई अस्पताल ल्याउनै उपचार गराउनैपर्छ भन्ने हुदैन र त्यो सम्भव पनि छैन ।

तपाईको अस्पतालमा कोभिड १९ को उपचारमा के कस्तो उन्नती भएको छ ? नेपालमा अहिले रेम्डिसिभर लगायत अन्य ४ वटा औषधि क्लिनिकल ट्रायल गरिने भनिएको छ, त्यो औषधि अमेरिकामा ट्रायल भएको छ कि छैन ?

आजसम्म कोभिडको कुनै पनि प्रमाणित औषधि बनेको छैन । धेरै औषधिको परीक्षण अझै पनि चलिरहेको छ । हाइड्रोअक्सिक्लोरोक्विन भन्ने मलेरियाको लागि प्रयोग हुने औषधिको परीक्षण दुनियाँभरी चलेको छ ।

तर, अहिलेसम्म त्यसको पनि राम्रो नतिजा आएको छैन । एउटा आशालाग्दो औषधि भनेको रेम्डिसिभर हो । अमेरिकामा भएको परीक्षणमा यो औषधिको कारणले भर्ना भएका बिरामीको अस्पताल बसाइ घटाएको छ । तर, मृत्युदरमा कुनै भरपर्दो नतिजा देखाएको छैन ।

त्यही भएर पुरै प्रमाणित हुनको लागि अरु परीक्षण हुन बाँकी छ । अस्पतालमा भर्ना हुने दिन कम भएकाले अमेरिकी सरकारले रेम्डिसिभरलाई गम्भीर बिरामीहरुको लागि आपतकालीन रुपमा प्रयोग गर्न अनुमोदन गरेको छ ।

यो औषधि एकदम गम्भीर अवस्थामा मात्रै प्रयोग हुन्छ र लक्षण नदेखिएका बिरामीहरुको लागि प्रयोग हुदैन । अरु भाइरस जस्तै यो कोरोना भाइरसको मुख्य उपचार भनेको सपोर्टिभ उपचार नै हो । जसमा लक्षणको उपचार गरिन्छ र धेरै जसो केसहरुमा १४ दिन भित्रमा लक्षणमा सुधार आउँछ ।

ज्वरो र शरीर दुखाई जस्ता लक्षणहरुको उपचार पारासिटामोल र आइबुप्रोफेन जस्ता औषधिहरुले गर्न सकिन्छ । संक्षिप्तमा भन्नुपर्दा अहिले रेम्डिसिभर औषधिको आशालाग्दो परिणाम देखिएको छ तर अझै परीक्षण जरुरी छ ।

कोभिड १९ को संक्रमणको दरको अनुपात त्यहाँ कस्तो छ, बिरामीहरु अस्पतालमा आउने क्रम कस्तो छ ?

कोभिड १९ ले कुनै ठाउँमा शिखर छोइसक्यो भने कुनै ठाउँमा शिखर छुन बाँकी छ । अहिले अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या दिनहुँ बढ्दै छ । अरु देशको तथ्यांक पनि यस्तै भयावह छ । नेपालमा पनि संक्रमण अझै बढ्न सक्ने उच्च सम्भावना छ । हाम्रो छिमेकी देश भारतमा संक्रमणको दर बढिरहेको छ । सोही कारण पनि हामी खतरामा नै छौं ।

कोरोनाको संक्रमण दर एकपटक मात्र नभएर पटक पटक उच्च हुन पनि सक्छ । अमेरिकामा अहिले त्यस्तो हुने सम्भावना छ । किनभने लकडाउन खोलिसकेको छ । सन् १९१८ को स्पेनिस फ्लुको बेलामा पनि मानिसहरु छिटै काममा फर्केकाले स्पेनिस फ्लुको संक्रमण पटक पटक उच्च भएको थियो ।

अर्को जान्नैपर्ने कुरा के हो भने कोरोनाजस्तो भाइरसहरु आफ्नो जिन परिवर्तन गरेर म्युटेड पनि हुन सक्छ। र, बाँच्नको लागि एडप्ट हुन सक्छन् । सोही कारण जुन भाइरस चीनको वुहानमा देखिएको थियो त्यो भाइरस अहिलेसम्म नै त्यही नै प्रकारको हो भन्न सकिन्न । परिवर्तित भाइरसको कारणले संक्रमणको दर उच्च हुन पनि सक्छ । यस्तो विशेषता हामीले वर्षैपिच्छे हुने इन्फ्लुएञ्जा भाइरसमा पनि देखिन्छ ।
अहिले नेपालमा देखिएका अधिकांश संक्रमितमा लक्षण देखिएको छैन्, यस्ता केसहरुले अरुलाई संक्रमण सार्ने सम्भावना कतिको हुन्छ ?

हो, यस्ता केसहरुले पनि संक्रमण सार्न सक्छन् । अहिले विश्वभरि नै ८० प्रतिशत संक्रमित मानिसमा एकदम कम संक्रमण देखिएको छ । संक्रमण देखिएका २० प्रतिशतलाई मात्र गम्भीर समस्या देखिएको छ । अनुसन्धानकर्ताहरुले पनि संक्रमितमध्ये २५ देखि ५० प्रतिशतलाई कुनै लक्षण नै नदेखिएको बताइरहेका छन् ।

लक्षण नभए पनि यो भाइरसले संक्रमित गरेको मानिसको श्वासप्रणालीमा भाइरस बस्न सक्छ र श्वाप्रसवास प्रणालीबाट नै अरुलाई सार्न सक्छ । त्यही भएर संक्रमित मानिससँग कसैको सम्पर्क छ भने धेरै नै सतर्क हुनुपर्छ । त्यही भएर २ मिटरसम्मको भौतिक दुरी कायम गर्नुपर्छ भनेको हो ।

कोभिडले सबैभन्दा बढी मानिस मरेको देशको कोभिड अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कार्यरत हुनुहुन्छ, कस्ता कस्ता बिरामी आउँछन् ?

अहिले अमेरिकाका धेरै मानिसहरु कोभिडको कारणले मरिरहेका छन् । मैले १ सय १ वर्षको कोभिड पोजेटिभ देखिएको बिरामीलाई जाँच्ने मौका पाएको थिएँ । १५ देखि १६ वर्ष उमेरका संक्रमित पनि आएका छन् । अधिकांशलाई कोभिडको गम्भीर लक्षण देखिएको थिएन । धेरै उमेर भएका र दीर्घरोगीहरुलाई भने श्वास नलीमा पाइप राख्नुपरेको छ । भेण्टिलेटरमा राखेकै बेलामा धेरैको मृत्यु पनि भएको छ । जवानहरुलाई पनि कोभिडको कारण स्ट्रोक र मुटुको समस्या भएको मैले देखेको छु ।

कोभिड भएका बिरामीहरु त्यहाँ सञ्चो हुन औसतमा कति समय लागेको छ ?

संक्रमितलाई सामान्य मात्रै लक्षण देखिएको छ भने २ हप्ता जतिमा निको भएको छ । अलि गम्भीर लक्षण देखिएका र श्वासप्रस्वासमा समस्या भएकाहरुलाई निको हुन अलि धेरै समय लागिरहेको छ । अक्सिजनको जरुरत पर्ने भयो या भेण्टिलेटरमा राख्नुपर्ने भयो भने निको समय महिनौं लामो समय पनि लाग्न सक्छ । तर, यस्तो अवस्था एकदम थोरै मानिसलाई मात्र हुन्छ ।

नेपालको कोरोना अस्पतालमा काम गर्ने चिकित्सकहरु संक्रमितहरुलाई हेर्न वार्डमा नगएको भन्ने गुनासा आइरहेको छ, खासमा चिकित्सकहरु नै डराउनुपर्ने कारण चाहिँ कुन अवस्थामा हुन सक्छ ?

स्वास्थ्यकर्मीहरु नै तनाव तनावमा छन् भने उपचार गर्ने बेलामा सही ढंगले उपचार नहुन सक्छ । डाक्टर र नर्सहरुको काम सामान्य दिनहरुमा पनि तनावपूर्ण नै हुन्छ । अहिले कोभिडले झन् तनाव थपेको छ ।

धेरै खटिँदा र बिरामीहरु हेर्दाहेर्दै स्वास्थ्यकर्मीहरुलाई तनाव बढ्न सक्छ । जसको कारण निद्रा नलाग्ने पनि हुन्छ । यो बेला साधारण मानिसले झैं चिकित्सकले पनि आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नु जरुरी छ । बिरामीको उपचार गर्ने चिकित्सकको मानसिक स्वास्थ्य ठीक भएन भने बिरामीको उपचार पनि ठीक तरिकाले गर्न सकिन्न ।

कोभिडको उपचार गराउने डाक्टर तथा नर्सहरुले ट्रेनिङ लिएको छ र राम्रो पीपीई उपलब्ध छ भने संक्रमितसँग डराउनुपर्दैन।

अहिले नेपालका चिकित्सकहरु र एम्बुलेन्स चालकहरु बिरामीको नजिक नपर्नुका कारण राम्रो ट्रेनिङ नपाएर हो कि जस्तो लाग्छ । नत्र अरु कारण के हुन सक्ला र ? राम्रो पीपीई लगाएको छ भने कोरोना सर्दैन भन्ने ज्ञान त चिकित्कसकलाई हुन्छ नै । कि त नेपालको अस्पतालमा उच्च गुणस्तरको पीपीई नभएर पो हो कि ? चिकित्सकहरुलाई संक्रमणको जोखिम कोभिड नहुदाँ पनि थियो अहिले पनि छ । त्यसैले हो पूर्वतयारी र तालिम चाहिने । पूर्वतयारी तालिम नभएकाले उहाँहरु डराउनु भएको हो कि जस्तो लागिरहेको छ ।

नेपालमा तीन जनाको मृत्यु भएको छ भने संक्रमणको दर ह्वात्तै बढिरहेको छ, राज्यले यत्रो तयारी गर्दा गर्दै पनि संक्रमण बढनुका कारण के होला ? संक्रमण घटाउन के गर्न सकिन्थ्यो ?

कोभिड महामारीका कारणले दुनियाँभरिमा भएको अहिलेसम्म मृत्युदर हेर्ने हो भने देशअनुसार फरक फरक छ । इटालीमा १६ प्रतिशतको मृत्यु भयो भने आइसल्याण्डमा १ प्रतिशत भन्दा कम छ। र, दुनियाँभरि औसतमा ६ प्रतिशतको मृत्युदर देखिएको छ ।

टेस्टको दायरा नबढाइकाले नेपालमा अझै कयौं केस देखिएका छैनन् । नेपालमा देखिएको संक्रमण र मृत्युको सङ्ख्या आश्चर्य लाग्दो होइन । तर, मृत्युको प्रकृति हेर्दा बचाउन सकिन्थ्यो कि भन्ने पनि लाग्छ । यो एकदम दुखद हो ।

सरकारसँग पूर्वतयारी गर्ने र संक्रमितलाई व्यवस्थापन गर्ने अझै समय छ । राज्यले संक्रमितको व्यवस्थापन गर्न सक्यो भने संक्रमण र मृत्युदर ह्वात्तै घट्छ । तर, योजना बनाएर काम सुरु गरिहाल्नुपर्छ ।

अझै पनि सरकारले गतिलो तयारी र संक्रमितको व्यवस्थापन गरेन भने अझै धेरै मृत्युको लागि तयार हुनुपर्छ । किनकी, देशभरका क्वारेण्टाइनस्थल र आइसोलेसन स्थल कस्ता छन् भन्ने कुरा सबैलाई थाहा छ । सम्भावित संक्रमितहरु व्यापक हुँदा पनि सामुदायिक स्तरमा परीक्षण गर्न ढिलो भइरहँदा संक्रमण सर्ने डर उस्तै छ ।

भारतबाट नेपाल छिर्ने नागरिकको व्यवस्थापन गर्न नसक्दा आइपरेको समस्या छुट्टै छ । क्वारेण्टाइनस्थलबाट नै संक्रमण सर्ने जोखिम छ । यो सबै व्यवस्थापन गर्न नसक्ने हो भने त संकमण दर र मृत्युदर स्वभाविक रुपले बढ्छ नि ।

योबेला राज्यले मृत्यु किन भयो, कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर विष्लेषण गर्नुपर्छ । सुत्केरी महिलाको केसमा उहाँलाई लक्षण कहिलेदेखि देखिएको थियो, अस्पताल आउजाउ गर्न कस्तो व्यवस्था मिलाएको थियो, जस्ता कुराको अनुसन्धान गर्नुपर्छ । यो अनुसन्धान अरुलाई दोष दिने ढगंले भन्दा पनि भविष्यको तयारी गर्न सहयोग पुग्ने ढंगले गर्नुपर्छ ।

तपाईले उपचार गराइरहेका बिरामीहरुमा डिप्रेशनको लक्षण पनि देखिए ? कस्ता बिरामीलाई यस्तो लक्षण देखिएको छ ?

बिरामीहरुमा अहिले धेरै नै डर तनाव र चिन्ता पाएको छु । यो एकदम स्वभाविक पनि हो । लाखौं संक्रमित र हजारौं मानिसको मृत्यु भएकाले पनि होला यहाँको मानिसमा धेरै नै डर छ । यस्तो महामारीका बेला मानिसलाई आफ्नो र आफ्नो परिवारको चिन्ता हुन्छ । यस्तोबेला मानिसहरुलाई निद्रा पुग्दैन । धेरै मानिसमा पहिला नै मानसिक रोग हुन्छ । यो अवस्थामा संक्रमित हुँदा झन् रोग बढ्न जान्छ ।

अहिले धेरै बिरामीलाई समान रुपमा देखिएको लक्षण भनेको निद्रा नलाग्ने, खान नरुच्ने र कुनै पनि काममा ध्यान नहुने हो । धेरैजसो मानिसको रोजगार गुमेकाले पनि उनीहरुको चिन्ता अर्कै छ । जीवन निर्वाह गर्न गाह्रो भएको छ । अधिकांश बिरामीहरुले उनीहरुले नसोचेको नभोगेको जीवन भोगिरहेका छन् ।

यो बेला मानसिक तनावलाई कम गर्न बिरामीहरुले घरमै के गर्न सक्छन् ?

तनाव कम गर्न घरबाट नै धेरै काम गर्न सकिन्छ । कामबाट ब्रेक लिनु एकदम महत्वपूर्ण हुन्छ । जहिले पनि सोसल मिडिया प्रयोग गरिरहँदा मानसिक तनाव बढ्न सक्छ । यो बेला मानिसले आफ्नो मनको लागि समय दिनु नै मानसिक तनाव कम गर्ने उत्तम उपाय हो । घरमा बस्दा ध्यान या मेडिटेसन गर्‍यो भने पनि मानिसलाई एकाग्र हुन धेरै मद्दत गर्छ ।

शरीर स्वस्थ भयो भने मात्र मन स्वस्थ हुन्छ । शरीरको ख्याल राख्नका लागि स्वस्थ खाना खान जरुरी मात्र हुँदैन, समयमा सुत्ने र समयमा उठ्ने गर्नुपर्छ । र, घरमै बसेर शारीरिक व्यायाम गर्न सकिन्छ।

त्यसैगरी धुमपान र मद्यपान सेवन गरेन भने पनि मानसिक तनाव कम हुन्छ । किताब पढ्नेदेखि लिएर, म्युजिक सुन्दा पनि एकाग्र हुन मद्दत गर्छ । त्यसैगरी फेक न्यूजबाट पनि टाढै रहने हो भने तनाव कम हुन्छ ।

कोभिडको धेरै बिरामीको उपचार गराइरहेको नाताले नेपालमा कोभिडविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई के सुझाव दिनुहुन्छ ?

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुले एकदम सतर्क भएर तालिममा लिएको ज्ञान र सीप प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि अस्पताल र स्वास्थ्य प्रणालीको योजना र पूर्वतयारी हुनु जरुरी छ । जस्तै-बिरामीलाई कसले अस्पतालसम्म पुर्‍याउँछ ? बिरामीलाई कस्तो कोठामा राखिन्छ ? बिरामी हेर्ने चिकित्सकको व्यवस्थापन कसरी गरिन्छ ?

यो सबै तयारी गरिसकेपछि अस्पतालको प्लानको बारेमा नर्स र डाक्टरहरु अरु मेडिकल स्टाफहरुसँग दैनिक कम्युनिकेसन गर्न जरुरी हुन्छ । कोभिडको बिरामीको उपचारमा खटिने डाक्टरहरु तालिमप्राप्त हुनुपर्छ । यो सबै भइसकेपछि मात्रै स्वास्थ्यकर्मी सुरक्षित हुन्छन् र बिरामीको उपचार गर्न सैद्धान्तिक र मानसिक हिसाबले तयार हुन्छन् ।

म स्वास्थ्यकर्मीलाई यही सुझाव दिन्छु कि आफ्नो अस्पतालमा कोभिड विरुद्ध लड्ने सबै पूर्वतयारी गर्नुस् । सबै सुरक्षाको सामग्रीको जोहो गर्नुस् । अस्पताल प्रशासनसँग सुरक्षा सामग्रीको पनि माग गर्नुस् । सरकारले तोकेको प्रोटोकलको अनुशरण गर्नुहोस् । यसो भयो भने तपाईं र बिरामी दुवै पक्ष सुरक्षित हुन्छन्।

तपाईले हात धुने विधिको बारेमा धेरै कुराहरु गर्नुहुन्छ, सरुवा रोगको रोकथाममा हात धुनु नै महत्वपुर्ण हो ?

औसतमा एकजना मानिसले आफ्नो अनुहार १ घण्टामा १५ पटक सम्म छुन्छ, हामीले हाप्सा भन्ने संस्था मार्फत २०१३ देखि नै नेपालमा बच्चाबच्चीहरुलाई हात धुन सिकाउँदै आएका छौं । साबुन र पानीले २० सेकेण्डसम्म धोयो भने लगभग सबै किटाणुहरु हातबाट सफा हुन्छ । हात सफा भएन भने हातले नै विभिन्न ठाउँका किटाणु हाम्रो शरीरमा सार्न सक्छ ।

यदि हामीमा किटाणु छ भने पनि त्यो किटाणु हाम्रो हातबाट अरुमा सजिलै सर्न सक्छ । सोही कारण बारम्बार हात धुन जरुरी हुन्छ । विशेष गरी मुख छुनुभन्दा अगाडि, बाहिरबाट घर छिर्नु अगाडि हात धुनैपर्छ । अहिले हात धुने बानी बसाल्यौं भने पछिसम्म पनि काम लाग्छ ।

सर्जिकल ग्लोब्सबारे के भन्नु हुन्छ, के त्यो सबैले लगाउनुपर्छ ?

यदि तपाई स्वास्थ्यकर्मी हुनुहुन्न, बिरामीको ख्याल गर्दै हुनुहुन्न र स्वास्थ्य संस्थाहरुको सरसफाइ कर्मचारी हुनुहुन्न भने पञ्जा लगाउनुपर्दैन । पञ्जाले सुरक्षाको गलत भावना दिन्छ र मुख पनि धेरैपटक छोइन्छ । किटाणु पञ्जाबाट पनि सर्न सक्छ । त्यसैले पन्जा नलगाई हात साबुन पानीले धोएको नै धेरै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस्