शनिबार १५ फाल्गुण २०७७

नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ। तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्। जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट गर्भपतन गराइन्।

गर्भमा रहेको भ्रुणको परीक्षण गर्दा छोरी रहेको भेटिएपछि बाध्यताबस गर्भपतन गराएकी थिइन् उनले । ‘धेरै पटक एक–दुई महिनाको गर्भ औषधी खाएर फाल्नुपर्यो’, उनले भनिन्, ‘छोरो पाउनुपर्छ भनेर श्रीमान र सासू,ससुराले भिडिओ एक्स–रे गरेरै लिङ्ग पहिचान गर्न लगाए, छोरी रहेको पहिचान भएपछि गर्भपतन गर्न बाध्य बनाए।’

जग्गाजमिन प्रशस्तै हुने तराईको परिवारमा जन्मिएकी बिजमतीले खान लाउन दुःख भोग्नु परेन। गाउँकै स्कुलमा कक्षा ५ सम्म पढेकी उनी अरु छोरी मान्छेले पढाइ छोडेको देखेर स्कुल जान छोडिन्। गाउँकै एक युवक उनलाई प्रेम गर्थे। पछि त्यो प्रेम विवाहमा परिणत भयो। त्यतिखेर उनी १६ वर्षकी थिइन्। श्रीमान भारतमा नोकरी गर्थे। ‘तेरो लागि ज्यानै दिन्छु भन्थ्यो’, उनी विगत सम्झन्छिन्।

उनले १७ वर्षकै उमेरमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन्। ‘छोरी जन्मे लगत्तै परिवारमा कुरा काट्न सुरू भइसकेको थियो’, उनले भनिन्, ‘छोरी भएपछि सासू(ससुरा यसले छोरा जन्माउने भई, यसको जिन्दगी बिग्रियो भन्न थालिसकेका थिए।’ त्यसो त उनले सुन्दै आएकी थिइन् छोरो जन्मायो भने मानसम्मान मिल्छ, छोरी जन्माए मिल्दैन। तर उनको दोस्रो सन्तान पनि छोरी नै जन्मिइन्। बिहे गरेको ५ वर्षपछि दोस्री छोरीको जन्म भएको थियो। त्यसको दुई वर्षपछि फेरि छोरीकै जन्म भयो।

सासू ससुरा सधैं नाति चाहियो भन्थे। श्रीमानले भने अरूको अगाडि छोरा र छोरी बराबर हुन् भनेको पनि उनले सुनेकी थिइन्। तर पछि मात्रै उनलाई थाहा भयो श्रीमानले आफूलाई राम्रो देखाउन त्यसो भनेका रहेछन्। ‘भित्रभित्र छोरो जन्माउन खोज्ने, अर्को बिहे गर्न खोज्ने दाउमा पो उनी रहेछन’, बिजमतीले भनिन्,‘अहिले लाग्छ छोरी भएकोमा सन्तुष्ट मान्ने पुरूष त सयमा एक मात्रै होलान्, सबैलाई छोरो नै चाहिने रहेछ।’ उनको जीवनका केही समय त यस्ता थिए ६ महिना, वर्ष दिनमा गर्भ रहन्थ्यो, अत्तरियाको एक अस्पतालमा भिडिओ एक्स–रे गर्थिन् छोरी देखिएपछि फालिहल्नु पर्दथ्यो।

एक्स–रे गर्न श्रीमान पनि सँगै आउँथे। ‘डाक्टरले गर्भपतन गरे बच्चादानी फाल्नुपर्ने, ज्यान पनि जान सक्छ भनेर सम्झाउँथे’, उनी भन्छिन्, ‘श्रीमानलाई भने मेरो स्वास्थ्यको मतलब नै थिएन। फोनमा अरू महिलासँग गफ गरेर बस्थे।’ उनी कहिले अत्तरिया, धनगढीका अस्पतालमा गर्भपतन गराउँथिन् त कहिले मेडिकलबाट गर्भ फाल्ने औषधी किनेरै खान्थिन्। छोरो जन्माउने आशमा गर्भपतन गराउँदा गराउँदा थाकेकी थिइन् बिजमती। ‘मलाई अब त बच्चा जन्माउन सक्दिनँ जस्तो पनि लाग्थ्यो तर, छोरा भइहाल्छ कि भन्ने आशमा श्रीमानले दबाव दिइरहन्थे’, उनले आँसु झार्दै भनिन्, ‘मेरो स्वास्थ्यप्रति घरपरिवारमा चिन्ता नै थिएन।’

उनलाई खेतीपातीको काम गर्नु पनि छँदै थियो। कमजोरीले शरीर दुख्थ्यो, बिसन्चो भए पनि सहेरै दिन कटाउँथिन्। धान रोप्ने, काट्ने, भित्र्याउनेदेखि भैंसीको लागि घाँस काट्ने दुहुने, दूध बेच्ने, बाख्रा पाल्ने काम पनि उनले गर्नुपथ्र्याे। उता सासू भने छोराको अर्को बिहे गर्ने भनेर केटी खोज्न थालेकी थिइन्। बिजमती भगवान सम्झन्थिन्। माइती देवताले सन्तान पु¥याउँछन् भनेको सुनेकी थिइन्। मन्दिरमा चार दिनसम्म हातमा दीयो राखेर भोकै उभिएर ब्रत बसिन्। लगत्तै पुनः गर्भ बस्यो। यसपटक भने छोराको जन्म हुने आशा बढी लागेको थियो उनलाई। तर गर्भ बसेको केही दिनमा श्रीमान हराए। ‘परिवारले खोजी नै गरेनन्, रक्सी खान्थे केही भयो कि भन्ने लाग्यो’, उनले भनिन्। पछि खोजीनीति गरिन्।

‘भारतमा रहेका आफन्तले सुनाए श्रीमानले त अर्कै बिहे गरेर भारत लगेका रहेछन्, सासूले नै पहाडकी युवतीलाई तराईको सम्पत्तिको लोभ देखाएर बिहे गराइ पठाएकी रहिछन्।’ परिवारलाई छोरा नभई नहुने, आफ्नो गर्भमा छोरीमात्र रहने र डाक्टरले पनि ज्यान नै खतरामा छ भनेपछि उनलाई पहिल्यै लागिसकेको थियो श्रीमानले अर्को बिहे गर्नेछन्। श्रीमानको अर्को बिहेको खबर सुनेपछि बिजमतीले गर्भमा हुर्किरहेको बच्चाको आवश्यकता ठानिनन्।

औषधी खाएर फेरि पनि बच्चा फालिन्। ‘तीन छोरी त यसै पनि मेरै जिम्मामा छन्, अझै फेरि छोरी जन्मे के गर्ने भन्ने भयो’, उनले भनिन्, ‘यस पटक परीक्षण नै नगरी फालिदिएँ।’ दुई वर्षपछि श्रीमान कान्छी श्रीमती र छोरो लिएर भारतबाट घर फर्किए। घरमा खुसीयाली छायो, भोजभतेर भयो। बिजमती र उनका छोरीहरूलाई भने घरभित्रै हेला हुन थाल्यो। झगडा हुने, महिनावारी भएका बेला खाना बनाएर पनि नदिने गर्न थाले। तै पनि परिवारमा मिलेरै बस्नुपर्छ भन्ने सोचेकी थिइन्, तर हेला बढ्न थालेपछि सकिनन्।

अन्ततः उनले श्रीमानसँग सम्बन्ध बिच्छेद गरिन्। तीन जना छोरीहरू लिएर उनी अलग बस्न थालिन् तर श्रीमानले अंश दिएनन्। छोरीहरूको पढाइलेखाइ, कोठाको भाडा तिर्न मजदुरी गर्थिन्। छोरीका लागि भए पनि अंश नलिइ नहुने भएपछि उनले जिल्ला अदालत कैलालीमा मुद्दा हालेर जमिनको हिस्सा प्राप्त गरेकी छन्। बिजमतीकी जेठी छोरीले कक्षा १२ उत्तीर्ण भएर बिहे गरिन्। माइली छोरी पढ्दै छिन्। सेतोपाटीबाट

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया